यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एएइई) २०८२ मा रुकुम पश्चिमका दुई विद्यार्थीले उत्कृष्ट सफलता हासिल गर्दै ४ जीपीए ल्याएका छन् । राष्ट्रिय परीक्षा बोर्डले हिजो साँझ सार्वजनिक गरेको नतिजा अनुसार जिल्लाका सौजन खड्का र सुचित यादवले ४ जीपीए प्राप्त गर्दै जिल्लामै उत्कृष्ट नतिजा ल्याएका हुन् ।
मुसिकोट नगरपालिका नगरपालिका वडा नम्बर १ खलंगास्थित त्रिभुवन जनता माध्यमिक विद्यालयका विद्यार्थी सौजन खड्काले ४ जीपीए ल्याएर विद्यालय तथा जिल्लाको नाम उच्च बनाएका प्रधानाध्यापक गोपिराम केसीले जानकारी दिनुभयो । खड्का सानैदेखि अनुशासित र लगनशिल विद्यार्थी भएको उहाँको भनाई छ । त्यसैगरी शितल माध्यमिक विद्यालय चौरजहारीका विद्यार्थी सुचित यादवले पनि ४ जीपीए प्राप्त गर्दै जिल्लाको उत्कृष्ट सूचीमा स्थान बनाउन सफल भएका छन् ।
जिल्लामा सार्वजनिक नतिजाप्रति अभिभावक, शिक्षक तथा विद्यार्थीहरू उत्साहित बनेका छन् । ग्रामीण क्षेत्रका विद्यालयबाट समेत उत्कृष्ट नतिजा आउनुले जिल्लाको शैक्षिक स्तरमा सकारात्मक सन्देश दिएको शिक्षा क्षेत्रका जानकारहरू बताउँछन् । शिक्षा विकास तथा समन्वय इकाइ रुकुम पश्चिमका इकाई प्रमुख तारा प्रकाश पुनले जिल्लामा यस वर्षको नतिजा सन्तोशजनक रहेको बताउनुभयो । उहाँका अनुसार जिल्लाभरबाट साधारणतर्फ ७९.९० प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् भने प्राविधिकतर्फ ५७.७३ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् ।
यस वर्षको नतिजाले रुकुम पश्चिममा मेहनत र लगनशीलताबाट सरकारी विद्यालयका विद्यार्थीले पनि उत्कृष्ट उपलब्धि हासिल गर्न सक्ने सन्देश दिएको उहाँको भनाई छ ।





-1759842583.jpg)