Kakhara सबैको खबर सम्पूर्ण खबर
दलित तथा बादी समुदायलाई सशक्तीकरण सम्बन्धी अभिमुखीकरण 

रुकुम पश्चिम जिल्लाका दलित तथा बादी समुदायको अधिकार, अवसर र सामाजिक सशक्तीकरणका विषयमा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। सामाजिक विकास कार्यालय रुकुम पश्चिमको आयोजनामा आठबिसकोट नगरपालिका–९ राडीमा बादी समुदाय तथा सानीभेरी गाउँपालिकामा दलित समुदायका लागि छुट्टाछुट्टै एक दिने सशक्तीकरण कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रममा सहभागीहरूले आफूहरू अझै पनि राज्यबाट प्राप्त गर्नुपर्ने विभिन्न सेवा–सुविधाबाट वञ्चित रहेको, विकास तथा रोजगारीका अवसरमा पहुँच कम भएको, सामाजिक विभेद र छुवाछूतका घटनाहरू ग्रामीण क्षेत्रमा अझै कायम रहेको लगायतका गुनासा राखेका थिए ।

उनीहरूले समुदायको आर्थिक अवस्था सुधार गर्न आयआर्जन तथा स्वरोजगार मुखी कार्यक्रम ल्याउनुपर्ने, शिक्षा र सीप विकासमा विशेष प्राथमिकता दिनुपर्ने तथा सरकारी सेवामा पहुँच सहज बनाउनुपर्ने माग समेत गरेका छन् । कार्यक्रमका प्रशिक्षक जिल्ला समन्वय समिति रुकुम पश्चिमका उपप्रमुख देवबहादुर विक ले अधिकार प्राप्तिका लागि समुदाय स्वयं पनि सचेत र सशक्त हुन आवश्यक रहेको बताउनुभयो ।

उहाँले आफ्नो अधिकारका लागि आवाज उठाउन, कानुनी तथा संवैधानिक व्यवस्थाबारे जानकारी राख्न र राज्यबाट प्राप्त हुने सेवा–सुविधाबारे जानकार भई त्यसको उपयोग गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले संविधानले सबै नागरिकलाई समान अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै दलित तथा बादी समुदायले शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा लगायतका क्षेत्रमा उपलब्ध अवसरको अधिकतम उपयोग गर्नुपर्ने धारणा राख्नुभयो ।

साथै समुदायको एकता, आत्मविश्वास र सक्रिय सहभागिताले मात्र सामाजिक विभेद अन्त्य गर्न सकिने बताउनुभयो । कार्यक्रममा सहभागीहरूबिच अधिकार, सामाजिक न्याय, विभेद अन्त्य, स्थानीय तहसँगको समन्वय, आर्थिक सशक्तीकरण तथा नेतृत्व विकासका विषयमा अन्तरक्रिया समेत गरिएको थियो । सहभागीहरूले यस्ता कार्यक्रमले आफ्नो हक अधिकारबारे जानकारी प्राप्त गर्न तथा आत्मविश्वास बढाउन सहयोग पुगेको बताएका छन् ।

अभिमुखीकरण कार्यक्रममा अन्य दलित अधिकारकर्मीहरूले पनि दलितले भोग्नु परेका समस्या, दलितको लागि सरकारले गर्नुपर्ने काम लगायतका विषयमा आफ्नो भनाई पनि राखेका थिए । सामाजिक विकास कार्यालय रुकुम पश्चिमले दलित तथा बादी समुदायको सामाजिक, आर्थिक र शैक्षिक सशक्तीकरणका लागि आगामी दिनमा पनि यस्ता सचेतनामूलक तथा क्षमता विकास कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असार १४, २०८३  १८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update