रुकुम पश्चिमको मुसिकोट नगरपालिका–७ मा पर्ने “ठुली दह” पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । घना जंगलको बीचमा फैलिएको हरियाली मैदान, शान्त वातावरण, प्राकृतिक सौन्दर्य र मनमोहक दृश्यले यहाँ पुग्ने जो–कोहीलाई मोहित बनाउने गरेको छ । मध्यपहाडी लोकमार्गबाट करिब एक घण्टाको पैदल यात्रापछि पुगिने ठुली दह विदाको दिन घुम्न जानेहरुको रोजाइमा पर्न थालेको छ । रुकुम पश्चिमका विभिन्न स्थानबाट मात्रै होइन, छिमेकी जिल्ला रुकुम पूर्वबाट समेत मानिसहरु यहाँ पुग्ने गरेका छन् । विशेषगरी युवापुस्ता, विद्यार्थी, प्रकृतिप्रेमी तथा परिवारसहित घुम्न पुग्नेहरुको संख्या पछिल्ला वर्षमा बढ्दो छ ।
-1780312112.jpeg)
चारैतिर अग्ला डाँडाहरुले घेरेको हरियाली मैदानको बीचभागमा रहेको दहले यहाँको प्राकृतिक सुन्दरतालाई झन् आकर्षक बनाएको छ । जंगलको बीचमा खुला मैदान र बीचभागमा पानी जमेर बनेको दहले यहाँ पुग्नेहरुलाई बेग्लै अनुभूति दिने गरेको ठुली दह घुम्न आउनुभएका आन्तरिक पर्यटक यामराज केसीले बताउनुभयो । वर्षातको समयमा ठुली दह पानीले भरिभराउ हुने गर्दछ । पानी भरिएको बेला दहको दृश्य निकै मनमोहक देखिन्छ । आकाशको निलो रंग दहमा प्रतिबिम्बित हुँदा यहाँको सौन्दर्य अझ लोभलाग्दो बन्ने गरेको छ । वर्षायाममा हरियालीले ढाकिएको मैदान र दह वरिपरिका जंगलले यहाँ पुग्ने पर्यटकलाई स्वर्गीय अनुभूति दिलाउने गरेको केसी बताउनुहुन्छ ।
-1780312107.jpeg)
यता, जेठ, महिनाको पहिलो सातादेखि दह क्षेत्रभरि फुल्ने बुकी फूल यहाँको अर्को विशेष आकर्षण हो । हरियाली मैदानमा सेताम्मे बुकी फूल फुलेपछि दह क्षेत्र अझ रमणीय बन्ने गर्दछ । बुकी फूलसँगै फोटो तथा भिडियो खिच्न आउने युवाहरुको संख्या बढ्ने गरेको छ । सामाजिक सञ्जालमा यहाँका दृश्यहरु भाइरल हुन थालेपछि ठुली दहप्रति चासो बढ्दै गएको स्थानीय हुकुमबहादु पाण्डेले बताउनुभयो । ‘‘प्राकृतिक रूपमा अत्यन्तै सुन्दर ठुली दह पुग्न व्यवस्थित बाटो, दह नपुग्दै थकान मार्न विचभागमा प्रतिक्षालय, दह पुगीसकेपछि दह आसपासमा थप प्रतिक्षालयले आन्तरिक पर्यटकलाई थप सहज भएको छ, पछिल्लो समय स्थानीय सरकारले पनि विषेश रुपमा ठुली दहलाई चासो दिएको देखिन्छ स्थानीय पाण्डे भन्नुभयो ।’’
मध्यपहाडी लोकमार्गबाट पैदल यात्रा गर्नुपर्ने भएकाले वृद्धवृद्धा तथा बालबालिकालाई केही कठिन हुने गरेको पर्यटकहरु बताउँछन् । तर, जंगलको बाटो हुँदै पैदल यात्रा गर्दै दहसम्म पुग्दा पाइने रोमाञ्चक अनुभवले यात्राको थकान बिर्साउने गरेको उनीहरुको अनुभव छ । ठुली दह क्षेत्रमा चैत, वैशाख महिनातिर पानीको समस्या हुने गरेको स्थानीय बताउँछन् ।
-1723873148.jpg)
वर्षायाममा प्रशस्त पानी भए पनि गर्मीयाममा दह सुक्खा जस्तो देखिने र खानेपानीको समस्या हुने गरेको छ । यही समस्यालाई समाधान गर्न मुसिकोट नगरपालिका तथा वडा कार्यालय लागि परेको वडा अध्यक्ष एक्कबहादुर पाण्डेले जानकारी दिनुभयो । आन्तरिक पर्यटक तथा स्थानीयलाई पानीको समस्या नहोस भनेर हामिले काम गरिरहेका छौं, पानीको मुहान नजिकै नभएकाले वर्षातको समयमा पानी जम्मा गर्न दह नजिकै पानी जम्मा गर्नको लागि ट्याक्की निर्माण गर्दैछौं वडा अध्यक्ष पाण्डे भन्नुभयो । आन्तरिक पर्यटकको सहजताका लागि चालु आर्थिक वर्षमै सम्पन्न हुनेगरी प्रतिक्षालयको काम समेत भइरेको उहाँको भनाई छ । विषेश गरी आन्तरिक पर्यटकलाई आकर्षित गर्न नगरपालिका र वडा कार्यालय लागि परेको वडा अध्यक्ष पाण्डेले बताउनुभयो । पर्यटकको सुविधाका लागि केही भौतिक संरचना निर्माणसमेत गरिएको छ । नगरपालिकाको पहलमा यहाँ प्रतीक्षालय निर्माण गरिएको छ भने अन्य आवश्यक पूर्वाधार थप गर्ने योजना हामिले बनाएका छौं उहाँले भन्नुभयो ।
-1723873143.jpg?timestamp=1784014640394)
स्थानीय सरकारको ध्यान बढ्दै जाँदा आगामी दिनमा ठुली दह अझ व्यवस्थित पर्यटकीय गन्तव्य बन्ने शिक्षक लक्ष्मण खड्का बताउनुहुन्छ । ‘‘केही वर्षअघिसम्म ठुली दहबारे धेरै मानिसलाई जानकारी थिएन । स्थानीय बासिन्दा र गोठालाहरु बाहेक कमै मानिस यहाँ पुग्ने गर्थे । तर अहिले सामाजिक सञ्जाल, भिडियो सामग्री तथा विभिन्न माध्यमबाट प्रचार हुन थालेपछि यहाँ आउनेको संख्या बढ्न थालेको हो शिक्षक खड्काले भन्नुभयो ।’’ ‘‘प्राकृतिक सौन्दर्यसँगै यहाँको वातावरण निकै शान्त र स्वच्छ रहेको छ । शहरको भीडभाड र कोलाहलबाट टाढा केही समय प्रकृतिसँग बिताउन चाहनेहरुका लागि ठुली दह उपयुक्त गन्तव्य बन्दै गएको छ । जंगलको बीचमा चराचुरुङ्गीको आवाज, हरियाली मैदान र शीतल हावाले यहाँ पुग्ने जो–कोहीलाई आनन्दित बनाउने गर्दछ । पर्यटनको सम्भावना बोकेको यस क्षेत्रलाई व्यवस्थित गर्न सके स्थानीय आर्थिक गतिविधिमा समेत टेवा पुग्ने देखिन्छ शिक्षक खड्काले भन्नुभयो ।’’

यहाँ पर्यटकको संख्या बढेसँगै स्थानीय उत्पादन बिक्री, होटल व्यवसाय तथा रोजगारीका अवसर सिर्जना हुने उहाँको भनाई छ । पछिल्लो समय स्थानीय युवाहरुले पनि दह क्षेत्रलाई प्रचारप्रसार गर्दै पर्यटन प्रवद्र्धनमा चासो देखाउन थालेका छन् । ठुली दह केवल एउटा दह मात्र होइन, यो रुकुम पश्चिमको प्राकृतिक सम्पदा हो । प्रकृतिको अनुपम उपहारका रूपमा रहेको यस क्षेत्रलाई संरक्षण गर्दै पर्यटकीय विकास गर्न सके आगामी दिनमा यो कर्णाली प्रदेशकै प्रमुख आन्तरिक पर्यटन गन्तव्य बन्न सक्ने सम्भावना देखिन्छ । अहिले पनि यहाँ पुग्ने अधिकांश पर्यटक एउटै कुरा भन्छन् । “जंगलको बीचमा यस्तो सुन्दर ठाउँ होला भनेर कल्पना नै गरेका थिएनौं ।” रुकुम पश्चिमको शान्त पहाड, घना जंगल र हरियाली मैदानको बीचमा रहेको ठुली दह अहिले विस्तारै धेरैको मन जित्दै गएको छ । प्राकृतिक सौन्दर्यको खोजीमा रहनेहरुका लागि ठुली दह एकपटक पुग्नैपर्ने गन्तव्य बन्दै गएको छ ।
-1723873152.jpg)
फोहोर व्यववस्थापनमा समस्या
केही वर्ष अघिसम्म गुमनाम रहेको ठुली दहमा पछिल्ला वर्षहरूमा भने हजारौँ मानिसहरू पुग्ने गरेका छन् । मानिसको चाप बढेपछि ठुली दहमा प्रदूषण समेत बढ्न थालेको छ । ठुली दह पुग्नेहरूले विभिन्न खानेकुरा लैजाने र खाना खाएर फोहोर जथाभाबी फाल्नाले ठुली दहमा यत्र तत्र फोहोर थुप्रिन थालेको छ । जसले गर्दा प्रदूषण बढेको छ भने स्थानीय चिन्तित बनेका छन् । उक्त ठाउँ चरिचरणका लागि समेत साँखवासीको प्रमुख स्थल भएकोले फोहोरका कारण वातावरण सँगै पशु चौपायामा समेत असर पर्ने स्थानीय बताउँछन् । जिल्ला सदरमुकाम मुसिकोट खलङ्गाबाट नजिकै रहेकोले यो क्षेत्र सबैको गन्तव्य बन्दै गएको छ । ठुली दहसम्म पुग्न मध्यपहाडी लोकमार्गको साँख खण्डको बैरी दहबाट पैदल सहजै पुग्न सकिन्छ । बैरी दहसम्म सवारी मार्फत पुग्न सकिन्छ भने त्यसपछि करिव १ घण्टाको पैदल यात्रामा ठुली दह पुग्न सकिन्छ । ठुली दहसम्म पुग्न राम्रो पैदल मार्ग छ भने खोल्सामा पुल समेत भएका कारण आवागमनमा सहजता छ ।
-1723873143.jpg?timestamp=1784015032456)
आधारभूत सुविधा अभावको गुनोसो
दह आसपासमा पर्यटकका लागि आधारभूत सुविधा अभाव रहेको गुनासोसमेत सुनिने गरेको छ । पर्यटकका लागि जेठमासको समयमा नियमित शुद्ध पीउने पानीको अभाव हुनु, वर्षातको समयमा धेरै आन्तरिक पर्यटकको आगमन हुँदा पानी पर्दा ओत लाग्ने ठाउँको अभाव हुनु लगायतका समस्या समाधान गर्न सके थप पर्यटकलाई सहज हुने यहाँसम्म घुम्न आउने पर्यटकहरुले बतानउने गरेका छन् । यद्यपि मुसिकोट नगरपालिका तथा वडा कार्यालयले पछिल्लो समय यस क्षेत्रको संरक्षण र पर्यटन प्रवद्र्धनमा चासो भने देखाउन थालेका छन् । स्थानीय सरकारको सक्रियतासँगै ठुली दहलाई व्यवस्थित आन्तरिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने योजना अघि सारिएको छ । दुठी दहमा मात्र नभएर अन्य स्थानमा पनि आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन लागि परेको मुसिकोट नगरपालिकाले जनाएको छ ।
-1780312112.jpeg)
पूर्वाधार विकाससँगै प्रचारप्रसारलाई प्रभावकारी बनाउन सके ठुली दह रुकुम पश्चिमको मात्र नभएर कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना रहेको छ । प्राकृतिक रूपमा अत्यन्त सुन्दर र शान्त वातावरण भएको यो क्षेत्र अहिले आन्तरिक पर्यटनको नयाँ केन्द्रका रूपमा विस्तारै स्थापित हुँदै गएको छ ।







-1759842583.jpg)