Kakhara सबैको खबर सम्पूर्ण खबर
जेठको तुलनामा असारमा नयाँ नागरिकता र राहदानी सेवा लिनेको संख्या घट्यो, प्रतिलिपि नागरिकतामा वृद्धि

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमबाट जेठ र असार महिनामा प्रदान गरिएको सेवा प्रवाहको तथ्यांक सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको तथ्यांक अनुसार जेठ महिनाको तुलनामा असारमा नयाँ नागरिकता र राहदानी लिनेको संख्या घटेको छ । जेठ र असार महिनामा ५ हजार बढी सेवाग्राहीलाई सेवा प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार नयाँ नागरिकता, प्रतिलिपि नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र गरी जेठमा २७ सय ७४ र असारमा केही संख्यामा घटेर २४ सय ८७ गरी कुल ५ हजार २ सय ६१ जनाले सेवा लिएका छन् । अन्यमा सेवाग्राहीको संख्या घटेपनि प्रतिलिपि नागरिकता लिनेको संख्या भने बढेको छ ।सार्वजनिक गरिएको तथ्यांकअनुसार जेठ महिनामा ७३८ जनाले नयाँ नागरिकता लिएका थिए भने असारमा यो संख्या ५५५ मा सीमित भएको छ । अर्थात् १८३ जनाले (२४.८ प्रतिशत) कमी आएको छ ।

त्यस्तै प्रतिलिपि नागरिकता सेवामा भने वृद्धि देखिएको छ । जेठमा ३३५ जनाले सेवा लिएकोमा असारमा ३७० जना पुगेका छन्, जुन ३५ जनाले (१०.४ प्रतिशत) वृद्धि हो ।  राहदानी सेवा लिने सेवाग्राहीको संख्या भने घटेको छ । जेठमा २९३ जनाले राहदानी सेवा लिएकोमा असारमा १८२ जनाले मात्र सेवा लिएका छन् ।  यो १११ जनाले (३७.९ प्रतिशत) कमी हो । त्यस्तैगरी राष्ट्रिय परिचयपत्र दर्ता सेवामा भने खासै ठूलो अन्तर देखिएको छैन । जेठमा १४ सय ८ र असारमा १३ सय ८० जनाले  राष्ट्रिय परिचयपत्र दर्ता गराएको प्रजिअ गौतमले जानकारी दिनुभयो ।

नागरिकलाई सहज, छिटोछरितो र प्रभावकारी सेवा प्रदान गर्न जिल्ला प्रशासन कार्यालय निरन्तर सक्रिय रहेको बताउँदै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रयास जारी रहने जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, साउन १, २०८३  १२:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update