रुकुम पूर्वको भूमे गाउँपालिकामा वडा नम्बर १ गरबाङ की ६७ वर्षीय कृष्णा घर्तीको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा शुक्रबार बिहान १० बजे रुकुम पूर्वको भूमे गाउँपालिकामा वडा नम्बर १ का ३१ वर्षीय अक्कल भन्ने अर्जुन घर्तीमगरलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले घर्तीमगरलाई कास्की पोखरा महानगरपालिका वडा नम्बर ८ बाट लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर विकले जानकारी दिनुभयो ।
उहाँका अनुसार उनको साथबाट मृतक घर्तीले लगाउने गरेको सुन जस्तो देखिने पहेँलो पदार्थको एक जोर कानबाली समेत बरामत गरिएको छ । कृष्णाको नीलो रङको पटुकाले कसेर हत्या गरिएको अवस्थामा बिहीबार राति ९ बजे आफ्नै घरको कोठामा शव फेला परेको थियो । घटना शंकास्पद देखिए पछि प्रहरीले अनुसन्धान थालेको थियो ।
अनुसन्धानकै क्रममा जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वकाबाट खटिएको ४ जनाको प्रहरी अनुसन्धान टोलीले जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा पोखरा महानगरपालिका ८ बाट घर्तीलाई पक्राउ गरेको हो । हत्यामा संलग्न घर्तीमगरलाई जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वमा ल्याएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





