रुकुम पश्चिममा गत आर्थिक वर्ष २०८२÷०८३ मा मात्र ४ लाख ३ सय ४ जनाले स्वास्थ्य सेवा लिएका छन् । स्वास्थ्य सेवा कार्यालय रुकुम सहित पालिकामा रहेका पालिका अस्पतालबाट उक्त संख्यामा सेवाग्राहीले सेवा लिएका हुन् । स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमले सार्वजनिक गरेको तीन वर्षको तथ्यांकअनुसार जिल्लामा स्वास्थ्य सेवा लिनेको संख्या पछिल्लो वर्ष केही घटेको देखाएको छ ।
आर्थिक वर्ष २०८०/०८१ मा ४ लाख ३९ हजार २५८ जनाले स्वास्थ्य सेवा लिएकोमा आर्थिक वर्ष २०८१/०८२ मा बढेर ४ लाख ४३ हजार ५९८ पुगेको थियो । तर गत आर्थिक वर्ष २०८२÷/८३ मा भने उक्त संख्या घटेर ४ लाख ३ सय ४ मा झरेको स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत हरिबहादुर पुनले जानकारी दिनुभयो । उहाँका अनुसार गत आर्थिक वर्षमा चौरजहारी नगरपालिकामा सबैभन्दा बढी १ लाख २१ हजार ४९४ जनाले स्वास्थ्य सेवा लिएका छन् भने मुसिकोट नगरपालिकामा १ लाख ४ हजार ५९० जनाले सेवा लिएका छन् ।
त्यस्तैै आठबिसकोट नगरपालिकामा ७२ हजार ३७०, सानीभेरी गाउँपालिकामा ३५ हजार ५६२, बाँफिकोट गाउँपालिकामा ३३ हजार २०३ र त्रिवेणी गाउँपालिकामा सवैभन्दा कम ३३ हजार ८५ जनाले स्वास्थ्य सेवा लिएको जनस्वास्थ्य अधिकृत पुनले जानकारी दिनुभयो । तीन वर्षको तुलनात्मक तथ्यांकमा आर्थिक वर्ष २०८१/०८२ मा सबैभन्दा बढी नागरिकले स्वास्थ्य सेवा लिएका थिए । तीन आर्थिक वर्षकै अवधिमा स्वास्थ्य सेवा कार्यालय र स्थानीय तहबाट संचालनमा रहेका अस्पतालबाट १२ लाख ८३ हजार १६० जनाले सेवा लिएका छन् ।
स्वास्थ्य सेवा कार्यालयको तथ्यांक अनुसार जिल्लामा स्वास्थ्य सेवा उपयोगको अवस्था स्थानीय तहअनुसार फरक फरक रहेको छ । सवै स्थानीय तहमा प्रविधि र विशेषज्ञको अभावमा सेवा सेवा प्रवाह नहुँदा समस्या हुने गरेको स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमले जनाएको छ,।।





