राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको ९ औँ राष्ट्रिय महाधिवेशन–२०८३ बाट रुकुम पश्चिमका मौलिक लोक गायक तिलक परियार प्रशासनिक सह–सचिव पदमा निर्विरोध निर्वाचित हुनुभएको छ ।
देशभरका लोक तथा दोहोरी गीत क्षेत्रका कलाकारहरू आबद्ध रहेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको ९ औँ राष्ट्रिय महाधिवेशन यही असोज २२, २३ र २४ गते महोत्तरीको बर्दिबासमा सम्पन्न भएको हो ।
महाधिवेशनबाट प्रशासनिक सह–सचिव पदमा परियार निर्विरोध निर्वाचित हुनुभएको हो । मौलिक लोकगीतको संरक्षण, प्रवर्द्धन र नेपाली लोकसंस्कृतिको जगेर्नामा सक्रिय रहँदै आउनुभएका परियारको निर्विरोध निर्वाचित हुनुले लोक सङ्गीत क्षेत्रप्रतिको उहाँको आबद्धता र संस्थागत यात्रामा नयाँ जिम्मेवारी थपिएको छ ।
उहाँले अब आफू लोक तथा दोहोरी गीतमा देखिएका विकृतिहरूलाई न्यूनीकरण गर्न लागि पर्ने प्रतिबद्धता जनाउनुभएको छ । आफू निर्विरोध निर्वाचित हुनु आफूले लोक दोहोरी क्षेत्रमा पुर्याएको योगदानको कदर भएको रूपमा बुझेको उहाँले बताउनुभएको छ ।
परियारका सुनको भमरा, रिम्ना दोभान, सगालैका बारीमा लगायतका स्थानीय भाकामा बनेका गीतहरू चर्चित छन् । महाधिवेशनबाट पशुपति शर्मा अध्यक्षमा निर्वाचित हुनुभएको छ ।।





