रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका १ सय २ जना बिद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको छ । गाउँपालिकामा स्थापना गरिएको आमा–बाबु स्मृति प्रतिष्ठान छात्रवृत्ति अक्षय कोषबाट गाउँपालिकाका सबै विद्यालयमा अध्यनरत १ सय २ जना बिद्यार्थीहरुले छात्रवृत्ति पाएका हुन् । कक्षा १ देखि १० सम्म अध्यनरत गरिब, विपन्न, जेहेनदार, अपांग, सहिद परिवार, टुहुरा बालबालिकाहरुलाई आज ३ लाख ५० हजार बराबरका झाेला, कापी कलम, पोषाक, टिफिन बक्स, ज्यामिति बक्स जस्ता सामग्री प्रदान गरिएको हो । वडा नं. ४ को बिरेन्द्र माविमा एक कार्यक्रमको आयोजना गरी आमा–बाबु प्रतिष्ठान छात्रवृत्ति अक्षय कोष संचालक समितिले छात्रवृत्ति वितरण गरेको छ ।
कक्षा १–५ सम्मका ६९ जना बिद्यार्थीले छात्रवृत्ति पाएका छन् । प्रतिबिद्यार्थी २० रुपैंयाका ३ दर्जन र ३० रुपैंयाका १ दर्जन गरी कुल ४८ वटा कापी, २० वटा कलम, छात्रालाई कुर्ता सुरुवाल, छात्रलाई पाइन्ट सर्ट, झाेला र टिफिन बक्स प्रदान गरिएको आमा–बाबु प्रतिष्ठान छात्रवृत्ति अक्षय कोष संचालक समितिका अध्यक्ष तथा बाँफिकोट गाउँपालिका ३ नम्बर वडाध्यक्ष चन्द्रवहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार ६ देखि ८ कक्षाका बिद्यार्थीले ३० रुपैंयाका ३ दर्जन र ४० रुपैंयाका ३ दर्जन गरी ७२ वटा कापी, ४० वटा कलम, छात्रालाई कुर्ता सुरुवाल, छात्रलाई पाइन्ट सर्ट, झाेला र ज्यामिति बक्स पाएका छन् । ६–८ का १७ जना बिद्यार्थीले छात्रबृत्ति पाएका हुन् ।
त्यस्तै छात्रवृत्ति पाउनेमा कक्षा ९ र १० का १६ जना बिद्यार्थी रहेका छन् । उनिहरुले ४० रुपैंयाका ४ दर्जन र ५० रुपैंयाका ३ दर्जन गरी ८४ वटा कापी, छात्रालाई कुर्ता सुरुवाल, छात्रलाई पाइन्ट सर्ट, झाेला र ज्यामिति बक्स वितरण गरिएको अध्यक्ष केसीले बताउनुभयो । वर्षभरीलाई पुग्ने गरी शैक्षिक सामग्री उपलब्ध गराईएको उहाँले बताउनुभयो । वडाध्यक्ष केसीको नेतृत्वमा १ वर्ष अगाडि आमा–बाबु प्रतिष्ठान छात्रवृत्ति अक्षय कोष स्थापना गरिएको थियो । कोषमा अध्यक्ष स्वयंले २ लाख रुपैया राख्नुभएको छ । अहिले कोषमा देश विदेशबाट गरेर साढे २७ लाख रुपैंया जम्मा भएको छ । कोषमा ३० लाख रुपैंया जम्मा हुने गरी प्रतिबद्धता आएपनि प्रतिबद्धता स्वरुपको केहि रकम भने आउन बाँकी रहेको बताईएको छ ।
गाउँपालिकामा रहेका कुनैपनि बालबालिका आर्थिक अभावमा पढाईबाट बञ्चित हुन नपरोस भनेर कोष खडा गरिएको र उक्त कोषमा जम्मा भएको रकमको लाभांसबाट हरेक वर्ष छात्रवृत्ति वितरण गर्ने कार्यक्रम अनुसार पहिलो पटक सबै बिद्यालयमा अध्यनरत बालबालिकालाई छात्रवृत्ति वितरण गरिएको अध्यक्ष केसीले बताउनुभयो । हरेक वर्ष गरिब, विपन्न, जेहेनदार, अपांग, सहिद परिवार, टुहुरा बालबालिकाहरुलाई छात्रवृत्ति प्रदान गर्ने र यसले पठन पाठनमा सहजता ल्याउने विश्वास गरिएको छ ।