रुकुम पूर्वमा सञ्चालित ७ परियोजनाको वार्षिक समिक्षा गरिएको छ । यूनाइटेड मिशन टू रुकुम पूर्व क्लष्टरको आर्थिक सहयोग तथा दुई स्थानीय गैरसकारी संस्था मार्फत सञ्चालित परियोजनाको वार्षिक समिक्षा गरिएको हो । पुथाउत्तरगंगा गाउँपालिका, भूमे गाउँपालिका र सिस्ने गाउँपालिकामा आर्थिक वर्ष २०७७/०७८ मा सञ्चालित परियोजनाको वार्षिक समिक्षा गरिएको हो ।
यूएमएनले समिक्षाको आयोजना गरेको हो । नेपाल मगर समाज सेवा तथा सूचना केन्द्र मिक नेपालको सहजिकरणमा सञ्चालित ३ र नेपाल जनजागरण मञ्चको सहजिकरणमा सञ्चालित ४ परियोजनाको वार्षिक समिक्षा गरिएको हो । रुकुमकोट स्थित महिला भवनमा कार्यक्रम सम्पन्न भएको हो ।
मिक नेपालको तर्फबाट कार्यकारी निर्देशक अविनाश बुढाले बालबालिका तथा किशोर किशोरीहरुको लागि उत्तम जीवन प्राप्ती परियोजना, दिगो वातावरण तथा आर्थिक विकास परियोजना र मातृ भाषामा आधारीत बहु भाषा शिक्षा परियोजनाले आर्थिक वर्ष २०७७/०७८ मा गरेका कार्यक्रमको बारेमा विस्तृत जानकारी गराउनुभएको थियो ।
यसैगरी नेपाल जनजागरण मञ्चका कार्यक्रम निर्देशक अपांग पुनस्थापना कार्यक्रम, खोप तयारी/भ्याक्सिनेसन रेदिनेश कार्यक्रम,प्रकोप तथा जोखिम व्यवस्थापन कार्यक्रम र सामुदायिक रुपान्तरण परियोजना प्रो–एक्टको बारेमा विस्तृत विवरण जानकारी गराउनुभएको थियो । परियोजनाको बजेट, गरेका गतिविधि, चुनौती र सिकाइका बारेमा सरोकारवालालाई जानकारी गराइएको थियो ।
यूएमनको तर्फबाट टिम लिडर रमेश थिङले कार्यक्रमका बारेमा विस्तृत जानकारी गराउनु भएको थियो । स्वास्थ्य, शिक्षा, जलविद्युत, सामुदायिक विकासका क्षेत्रमा यूएमनले काम गर्दै आएको उहाँले बताउनुभयो । यूएमएनले रुकुम पूर्वमा २०७७ सालदेखि काम गरिरहेको छ । जिल्लाका तीन स्थानीय तहमा ९ वटा परियोजना भइरहेको टिम लिडर थिङले बताउनुभयो ।
समिक्षामा बोल्दै भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले यूएमनले रुकुम पूर्वमा विशेष कार्यक्रम बनाएर गतिविधि गरिरहेको बताउनुभयो । यसले सबैभन्दा पछि परेका क्षेत्रलाई माथि उठाउने प्रयास गरिरहेको भन्दै उहाँले यो सह्रानिय विषय भएको उल्लेख गर्नुभयो । भइहरेका गतिविधिले केही न केही उपलब्धि अवश्य आउने उहाँले विश्वास व्यक्त गर्नुभयो । सरकारको सहयोगी हातको रुपमा गैरसकारी संघसंस्था रहेको भन्दै उहाँले ति संघ, संस्था मार्फत स्थानीय सरकारका असिमित आवश्यक्ता परिपूर्ति गर्न सहयोग पुग्ने बताउनुभयो ।
पुथाउत्तरगंगा गाउँपालिकाका अध्यक्ष ओमप्रकाश घर्ती मगरले असजिलो भूगोल रहेको क्षेत्रमा कार्यक्रम गर्नुपर्ने र त्यो क्षेत्रलाई अघि बढाउन सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो । सकेसम्म माथिल्लो क्षेत्रमा काम गर्न नमान्ने परिपाटी कायमै रहेको भनाई उहाँको छ । सबै निकायमा पुथाउत्तरगंगाको क्षेत्रमा जान नचाहेको गुनासो गर्नुभयो । पुथाउत्तरगंगामै हुनुपर्ने कार्यक्रम रुकुमकोटमै गर्ने प्रवृत्ति अँझै नहटेकोप्रति उहाँले आक्रोश पोख्नुभयो ।
जिल्ला समन्वय समिति प्रमुख गजेन्द्रबहादुर ओलीले संघीयताको मर्म अनुसार योजना, अनुगमन र मूल्याकंन गर्नुपर्ने बताउनुभयो । जिल्ला स्थित सम्पूर्णले सम्बन्धित वडा, गाउँपालिकासित समन्वय गरेर कार्य गर्दा त्यो जनताको र दिगो हुने भनाई समन्वय प्रमुख ओलीले बताउनुभयो ।