
महिला हिंसाका विरुद्ध सबै एक हुनुपर्नेमा रुकुम पश्चिमका सरोकारवालाहरुले जोड दिएका छन् । महिला मानव अधिकार रक्षक दिवसको अवसरमा मुसीकोटमा आयोजित महिला मानव अधिकार रक्षकहरुको समस्या र चुनौति विषयक कार्यक्रममा सहभागि सरोकारवालाहरुले महिला हिंसा बिरुद्ध सबै एक ठाउँमा उभिनुपर्नेमा जोड दिएका हुन् ।
विभिन्न कारणले महिला हिंसा हुने गरेको र यसमा स्वयं महिला समेत जोडिने गरेको भन्दै सहभागिहरुले हिंसा न्युनिकरणमा समाजका हरेक क्षेत्रको सहभागिता हुनुपर्नेमा जोड दिएका थिए । कुनै एक क्षेत्रले प्रयास गर्दैमा वा चाहदैमा मात्र हिंसा अन्त्य हुन नसक्नेमा सहभागिहरुको जोड थियो ।
कार्यक्रममा बोल्दै मुसीकोट नगरपालिकाका उप–प्रमुख प्रेमकुमारी सुनारले साझा संकल्पले मात्र महिला हिंसाका विरुद्धमा सफलता हात लाग्ने बताउनुभयो । सरकारले यसमा नेतृत्वदायि भुमिका निर्भाह गरिरहेको र बाहिरबाट संघ, संस्था, नागरिक समाज लगायत आम नागरिकले सघाउन आवश्यक रहेको उहाँको भनाई छ ।
जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ध्रुबकुमार श्रेष्ठले महिलामाथि हुने घटना संवेदनशिल हुने भएकाले सोही अनुसार हेर्नुपर्ने बताउनुभयो । केही घटनामा निर्दोष व्यक्तिहरु पनि फस्ने गरेको भन्दै उहाँले यसतर्फ पनि सबैको ध्यान जान जरुरी रहेको उहाँको भनाई छ । महिला हिंसाका घटना सिधै प्रहरीको आउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।
त्यस्तै कार्यक्रममा बोल्दै नेपाल बार एशोसियसन रुकुम पश्चिमका अध्यक्ष गणेश हमालले महिलाहरुलाई आत्मनिर्भर बनाउने गरी कार्यक्रम बन्नुपर्ने बताउनुभयो । महिलाहरु आत्मनिर्भर नहुँदा नै बढी हिंसाकाे शिकार हुनुपर्ने अवस्था हाल रहेको उहाँले बताउनुभयो । विशेष गरी स्थानीय सरकारहरुले यसतर्फ ध्यान दिनुपर्ने उहाँले सुझाव दिनुभयो ।
कार्यक्रममा आरेक नेपालले आर्थिक सहयोग गरेको थियो भने महिला मानव अधिकार रक्षक सञ्जाल रुकुम पश्चिमले कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा ओरेक नेपालकी जिल्ला संयोजक दिपा धितालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । महिला मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष कल्याणी खड्काको अध्यक्षतामा भएको कार्यक्रममा चीना बिकले स्वागत मन्तव्य राख्नुभएको थियो भने संचालन महिला मानव अधिकार रक्षक सञ्जालका सचिव व्युझना पुनले गर्नुभएको थियो ।