सशस्त्र प्रहरीको ४७ नम्बर गुल्म हेड क्वाटर रुकुम पश्चिमले आफ्नो नवौँ वार्षिकोत्सव मनाएको छ । मुसिकोट नगरपालिका वडा नम्बर १ मठमा रहेको गुल्ममा एक कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाइएको हो ।
कार्यक्रममा वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न प्रतियोगिताका विजेता, उत्कृष्ट कार्य सम्पादन गर्ने सशस्त्र प्रहरी कर्मचारी, सेवा निवृत्त सशस्त्र प्रहरी कर्मचारी, गुल्मलाई सहयोग गर्ने सहयोगी दाताहरूलाई सम्मान गरिएको थियो ।
त्यस्तै सशस्त्र प्रहरी कर्मचारीहरूले विभिन्न सांस्कृतिक प्रस्तुतिहरू समेत राखेका थिए । वार्षिकोत्सवको अवसरमा केक काटेर खुसीयाली मनाइएको थियो भने वार्षिकोत्सवको शुभकामना आदान प्रदान समेत गरिएको थियो ।
-1792152533.jpeg)
कार्यक्रममा प्रमुख अतिथिका रूपमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ६ महेश्वरी वाहिनी मुख्यालय सुर्खेतका बाहिनी पति सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्णराज पाठक उपस्थिति हुनुहुन्थ्यो । कार्यक्रममा बोल्दै उहाँले कर्तव्यनिष्ठ भएर देशको सेवामा समर्पित हुन गुल्ममा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।
आपत् विपद्, शान्ति सुरक्षा तथा अमन चयन कायम, विपद् व्यवस्थापन, उद्धार, राहत जस्ता कार्यमा सशस्त्र प्रहरीले अहम् भूमिका खेलिरहेको स्मरण गर्दै आगामी दिनमा समेत यसमा अब्बल हुन उहाँले निर्देशन दिनुभएको छ । उच्च मनोबलका साथ आफ्नो कर्तव्यमा अडिग भएर राष्ट्र सेवामा योगदान गर्न उहाँको आग्रह छ ।
कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, प्रमुख जिल्ला अधिकारी निशानराज गौतम, चण्डी दल गण सल्लेका गणपति प्रमुख सेनानी विनिश श्रेष्ठ, जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेल, प्रमुख अनुसन्धान अधिकृत नेवबहादुर राना लगायतको आतिथ्यता रहेको थियो ।
-1792152532.jpeg)
सशस्त्र प्रहरी बल ४७ नम्बर गुल्म हेड क्वाटर रुकुम पश्चिमका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक सुवेनबाबु कँडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सशस्त्र प्रहरी नायब निरीक्षक मधु गौतमले गर्नुभएको थियो ।
साबिकमा जिल्ला सुरक्षा बेस रहेकोमा नयाँ सङ्गठन संरचना अनुसार २०७४ साल असोज ३० गतेबाट सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४७ गुल्म हेड क्वाटर स्थापना भई रुकुम पश्चिममा कार्य सञ्चालन गर्दै आएको छ ।
यस बलले जिल्लाका ६ वटै पालिकामा शान्ति, सुरक्षा, विपद् उद्धार तथा अन्य सामाजिक क्रियाकलापहरूमा तदारुकताका साथ नियमित परिचालन भई नेपाल सरकारबाट प्राप्त कार्यादेश बमोजिम दैनिक कार्य सम्पादन गरिरहेको गुल्म पति कँडेलले जानकारी गराउनुभएको छ ।
-1792152526.jpeg)
-1792152530.jpeg)





