 
                                                            रुकुम पश्चिमको चौरजहारी नगरपालिका १२ का विभिन्न टोलका कृषकहरु अदुवा बिक्रि नभएपछि चिन्तित बनेका छन् । वडाका टुनिगैरा, गर्छेनी र जाटटाकुरा टोलमा यो वर्ष राम्रो अदुवा उत्पादन भएपनि बजार नपाएको कृषकहरुले गुनासो गरेका छन् । पहिलो पटक ठुलो मात्रामा अदुवा खेति गरेका कृषकहरु अदुवाले बजार नपाएपछि चिन्तित बनेका हुन् ।
अहिले गाउँमा करिब दुइ सय क्विन्टल अदुवा रहेको कृषकहरुको भनाई छ । एउटै घरमा कम्तिमा १० क्विन्टल अदुवा बिक्रि हुन बाँकी रहेको चौरजहारी १२ का दलजित ओलीले जानकारी दिनुभयो । ‘मेरो घरमा १५ क्विटल बढी अदुवा थन्किएको छ, उहाँले भन्नुभयो–प्रत्यक घरमा कम्तिमा पनि १० क्विन्टल बढी अदुवा बिक्रि नभएर थन्किएको छ ।’ तीन वटा टोलका कम्तिमा पनि २० घरले ठुलो मात्रामा अदुवा लगाएका थिए ।
राम्रो अदुवा फलेपनि बिक्रि नहुँदा आफुहरु चिन्तित बनेको वडा सदस्य समेत रहेका अर्का कृषक शान्तबहादुर ओलीले बताउनुभयो । ‘पहिलो पटक ठुलो मात्रामा अदुवा खेति गरेका थियौं, राम्रो अदुवा फल्यो यसबाट सबै खुशि थियौं उहाँले भन्नुभयो–तर अहिले बिक्रि गर्ने बेलामा भने झन्झट आइलाग्यो, अव फेरि अदुवा लगाउने कि नलगाउने भन्ने भएको छ ।’ अलि अलि बिक्रि हुने अदुवाले पनि बजार नपाएको कृषकहरुको भनाई छ ।
क्विन्टलमा १५, १६ सय मुल्य पाउँन पनि मुश्किल रहेको बताईएको छ । बोकेर चौरजहारी लैजादा पनि खपत हुने अवस्था नरहेको र मुल्य पनि एक दमै कम रहेको कृषकहरु बताउँछन् । त्यस्तै ट्याक्टरमा राखेर झुल्नेटा बजार लैजादा पनि ट्याक्टर भाडा नै उठ्न मुश्किल रहेको कृषकहरुको गुनासो छ ।
 
 


 
                                                 
                                                 
                                                 
                                                 
                    


-1759842583.jpg)
 
                     
                     
                     
                     
                     
                    