रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर ६ झुल्खेतमा रहेको बालकल्याण माविमा कक्षा ५ सम्म अध्यनरत वालवालिका हरेक शुक्रबार करेसाबारीमा भेटिन्छन् । कसैले बारीमा भएका झार उखेलिरहेका हुन्छन् भने कोही कुटा, कोदालाले बारी खनिरहेका हुन्छन् । कसैले विरुवा रोप्छन् । उमेर अनुसार बिद्यार्थीहरुले आफुले सक्ने काम गर्छन् । विद्यालयमा करेसाबारी छ । करिब ३ सय वर्गमिटर क्षेत्रफलमा विभिन्न तरकारी फलेका छन् । बारीमा भिण्डि र सिमी लटरम्म छन् । अहिले विद्यार्थीहरु विशेष गरी सिमी र भिण्डिको गोडमेलमा व्यस्त छन् । यसअघि लगाईएका बन्दागोवी पनि केही बाँकी छन् । बिद्यार्थीहरु आफ्ना लागि आँफैले तरकारी उत्पादन गरिरहेका छन् ।
यसको नेतृत्व गरिरहनुएको छ शिक्षक खडानन्द शर्माले । उहाँकै नेतृत्वमा बारीमा सिजन अनुसारका तरकारी उत्पादनमा जोडिएका छन् विद्यार्थीहरु । विद्यार्थीहरुले सिजन अनुसारका तरकारी उत्पादन गर्छन् । यसबाट दिवा खाजा कार्यक्रमलाई सहयोग पुगेको छ । हाल वालविकास देखि कक्षा ५ सम्मका विद्यार्थीका लागि दिवा खाजा कार्यक्रम अन्तरगत प्रति विद्यार्थी १५ रुपैंयाका दरले खाद्यान्न प्राप्त हुने गरेको छ । चामल, दाल लगायतका खाद्यान्न प्राप्त हुने गरेकामा त्यसमा थप गर्नका लागि तरकारी विद्यालयमै उत्पादन गरिरहेको शिक्षक शर्माले बताउनुभयो ।
‘दाल, भात मात्र खुवाउनु भन्दा विद्यार्थीहरुलाई थप पोषण तत्व पुगोस भनेर विद्यालयमै करेसाबारी बनाएका छौं, उहाँले भन्नुभयो–विद्यार्थीहरुले नै आफ्ना लागि पोषिला खानेकुरा उत्पादन गरिहेका छन् ।’ यसबाट पुगेको अर्को फाईदा हो विद्यार्थीहरुलाई श्रममा जोड्नु । बच्चैबाट काम गर्नुपर्छ भन्ने सोँचको विकास गर्न र बालबालिकाहरुलाई श्रममा जोडि व्यवहारिक ज्ञान दिनसक्नु यसको महत्वपूर्ण उदे्श्य हो शिक्षक शर्माले भन्नुभयो । अहिले बालबालिकामा श्रमको वाणि नै वस्न नसकेको अवस्थामा विद्यालयको यो सानो प्रयासबाट विद्यार्थीहरु श्रममा बाणि पर्दै गएको शिक्षक शर्मा बताउनुहुन्छ ।
उहाँका अनुसार विद्यार्थीहरुले खुव मन लगाएर करेसाबारीमा काम गर्ने गरेका छन् । खेतिपातीप्रतिको माया पनि बालबालिकामा बढ्दै गएको उहाँको भनाई छ । यसलाई विस्तारै बढाउँदै लैजाने विद्यालयको तयारी छ । अहिले विद्यालयको थोरै जग्गा रहेको र भोलीका दिनमा अरु जग्गा भाडामा लिएर पनि विद्यार्थीहरुलाई श्रममा जोड्ने गरी तयारी गरिएको विद्यालयको भनाई छ । शिक्षक शर्माले पढ्दै कमाउदै भन्ने कार्यक्रमलाई सरकारले अगाडी बढाएको अवस्थामा अहिले पढ्दै खाँदैको अवस्थामा रहेको र भोलीका दिनमा पढ्दै कमाउँदै कार्यक्रमलाई व्यवहारमा लागु गर्ने गरी सोँच रहेको जानकारी गराउनुभयो ।
यो विद्यालयमा वालविकास देखि कक्षा ५ सम्म झण्डै १ सय जना विद्यार्थी अध्यनरत छन् । यो विद्यालयमा माध्यमिक तहसम्मको पढाई हुन्छ ।