एक सय ५४ जनाको ज्यान जाने गरेर २०८० कात्तिक १७ गते मध्ये राति गएको जाजरकोट भूकम्पको आज ठिक दुई वर्ष पूरा भएको छ । तर भूकम्पबाट घरबारविहीन भएका पीडितहरू हालसम्म टिनको छानामै बस्न बाध्य भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार जाजरकोट र रुकुम पश्चिमका २६ हजार ५५७ घर पूर्ण र ३५ हजार ४५५ घर आंशिक क्षति भएका छन् । ३६४ घाइते घाइते भएका थिए ।
भूकम्प गएको २ वर्ष पूरा हुँदा पनि पुनर्निर्माण सुरु हुन सकेको छैन । सरकारको प्राथमिकतामा नपरेको हुँदा पुनर्निर्माण अलपत्र परेको भूकम्प प्रभावितहरूको गुनासो छ । भूकम्पले घर गुमाउँदा पालमा बसेको भूकम्प प्रभावित अहिले अस्थायी टहरामा सरेका छन् । तर घरमा कहिले सर्ने हुन त्यसको टुङ्गो छैन ।
भूकम्प प्रभावित अझै पनि पुनर्निर्माणको पर्खाइमा छन् । सरकारले पैसा देला र घर बनाउँला भनेर भूकम्प प्रभावित कुरेर बसिरहेका छन् । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ४ खालबोटकी पार्वती चन्द मल्लले भूकम्पले भत्काएको घर निर्माणका लागि सरकारबाट केही पाउन नसकेको बताउनुभयो ।
भूकम्प गएको लामो समय भइसक्दा पनि सरकारले घर निर्माणका लागि कुनै सहयोग नगरेको र गर्छ की भन्ने आस त रहेको तर अब आस मर्दै गएको समेत उहाँले बताउनुभयो । जिल्लाका सबै पालिका भूकम्पबाट प्रभावित बनेका थिए । जिल्लाभरकै भूकम्प प्रभावितहरूको भनाई पार्वतीको भन्दा फरक छैन ।
जिल्लाभर ३२ हजार ९९६ घरधुरी लाभग्राही रहेको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमको तथ्याङ्क छ । जिल्लामा भूकम्प गएको २ वर्षसम्म पनि सबै प्रभावितले पहिलो किस्ताकै रकम पाइसकेका छैनन् ।
प्रशासनका अनुसार जिल्लामा २ हजार २ जनाले अझै पनि अस्थायी आवास निर्माणको लागि पहिलो किस्ताकै रकम नपाएका हुन् । यसबारेमा प्राधिकरणमा लेखि पठाएको प्रशासनको भनाई छ । तर उनीहरूले अस्थायी आवासकै रकम पाउने वा नपाउने अन्योल छ ।
भूकम्पको केन्द्रविन्दु जाजरकोटमा पनि रुकुम पश्चिमको भन्दा फरक अवस्था छैन । भेरी नगरपालिका १ का वडाध्यक्ष दीपक रानाले हिउँदको जाडो, टिनको छानामुनिबाट चुहिने शीत थापाले निथ्रुक्क भिजेका कपडाहरू दैनिक निचोरेर प्रयोग गर्नुपर्ने अवस्था रहेको गुनासो गर्नुभयो ।
विद्यालय भवन, स्वास्थ्य संस्था, सरकारी कार्यालय भवनहरूको पुनर्निर्माण नहुँदा पठनपाठन, उपचार सेवा र सार्वजनिक सेवा प्रवाह समेत प्रभावित भएको छ । जिल्ला प्रशासन कार्यालय जाजरकोटका अनुसार दुई सय ८९ विद्यालय पूर्ण र पाँच सय ९८ विद्यालयमा आंशिक क्षति भएका थिए ।
त्यस्तै ९२ सरकारी कार्यालयमा पूर्ण क्षति र ६० सरकारी कार्यालयमा आंशिक क्षति भएको छ । सरकारको ढिलासुस्ती र उदासीनताले भूकम्पपीडितको अवस्था दिनप्रति दिन कष्टकर बन्दै गइरहेको छ । चिसो थेग्न नसक्दा गत वर्ष जाजरकोट र रुकुम पश्चिममा त्रिपालमै ४३ जनाको ज्यान गएको थियो ।
सयौँ बालबालिका, वृद्ध वृद्धा, सुत्केरी, गर्भवती र दीर्घ रोगी बिरामी परेका थिए । बर्सादका बेला टहरामा पहिरो खस्दा जाजरकोटमा सात र रुकुम पश्चिममा तीन जनाले ज्यान समेत गुमाउनु परेको थियो ।
टिनका अस्थायी आवासमा सकसपूर्ण दिन गुजारी रहेका पीडितहरू सरकार प्रति आक्रोशित बनेका छन् । भेरी नगरपालिका १ कोल्चौरका उदयराम कामी आफ्नो भत्केको घर पुनर्निर्माण हुनेमा विश्वस्त हुन सक्नु भएको छैन । एकै घरमा आफ्नो परिवारका ६ जना सदस्य भूकम्पबाट गुमाउन पुगेका उदय पनि सकरकारले स्थायी आवास बनाइदिने प्रतीक्षामा आस मर्दै गइरहेको बताउनुभयो ।
जाजरकोटका सात वटा स्थानीय तहले अस्थायी आवासको लागि ४८ हजार पाँच सय १६ जना लाभग्राही कायम गरेका थिए ।





-1759842583.jpg)