रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले डिग्रे मेलाको अवसरमा २ दिन सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले आज एक सूचना जारी गर्दै रुकुम पश्चिमको प्रसिद्ध डिग्रे मेलाको अवसरमा कार्तिक १८ गते मङ्गलवार र १९ गते बुधवार २ दिन स्थानीय बिदा दिएको हो । आज नगरपालिकाले एक सूचना जारी गर्दै नगरपालिकामा २ दिन डिग्रेको बिदा दिइएको जानकारी गराएको हो ।
नगरपालिकाको वडा नम्बर ५ स्थित प्रसिद्ध धार्मिक तीर्थस्थल डिग्रे साइकुमारी मन्दिर थर्पुमा लाग्ने जिल्लाकै ठुलो परम्परागत धार्मिक डिग्रे साइकुमारी मेलाको अवसरमा चतुर्दशी र पूर्णिमाका दिन सार्वजनिक बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत यमकान्त पाण्डेयले जारी गरेको सूचनामा उल्लेख छ ।
उल्लेखित २ दिन नगरपालिका अन्तर्गतका सबै कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था तथा विद्यालयहरूमा सार्वजनिक बिदा दिइएको सूचना मार्फत जानकारी गराइएको छ । कार्तिक १९ गतेका लागि भने सङ्घीय सरकारले गुरु नानक जयन्तीको अवसरमा पनि देशभरमा सार्वजनिक बिदा दिएको छ । डिग्रे मेला हिजो हरिबोधिनी एकादशी देखि सुरु भइसकेको छ ।
मुख्य मेला भने कार्तिक १९ गते लाग्ने छ । यसैबिच मन्दिरमा आज देखि बलि दिन सुरु भएको छ । हिजो एकादशी परेकोले पूजापाठ मात्र भएकामा आजबाट १८ गते चतुर्दशीका दिनसम्म बलि दिन मिल्ने मन्दिर व्यवस्थापन समितिले जनाएको छ । १९ गते पूर्णिमाका दिन मेला लाग्ने छ भने मन्दिरमा दर्शन गर्न पाइने छ तर बली भने चढाउन नपाइने समितिको भनाई छ ।
डिग्रे मेला कर्णाली प्रदेशकै ठुलो धार्मिक मेला मध्येको एक हो । यस मन्दिरमा रुकुम पश्चिमसँगै छिमेकी जिल्ला रुकुम पूर्व, जाजरकोट, सल्यान, रोल्पा, दाङ, सुर्खेतसँगै अन्य जिल्लाका भक्तजनहरू पनि मेला भर्न तथा दर्शनका लागि आउने गर्दछन् ।
भारतका विभिन्न ठाउँबाट समेत दर्शनार्थीहरु पुग्ने गरेको मन्दिर व्यवस्थापन समितिको भनाई छ । डिग्रे साइकुमारी मन्दिरमा दर्शन तथा पूजाआजा गर्नाले मनले चिताएको पूरा हुने धार्मिक विश्वास रहेको छ । यो मेला परापूर्व काल देखि नै लाग्दै आएको छ ।।





-1759842583.jpg)