Kakhara सबैको खबर सम्पूर्ण खबर
स्थानीय तहमा शिक्षकहरुको धर्ना 
नेपाल शिक्षक महासंघ मुसिकाेटले मुसिकाेट नगरपालिकामा दिएकाे धर्ना ।

रुकुम पश्चिमका स्थानीय तहमा शिक्षकहरुले धर्ना दिइरहेका छन् । शिक्षा ऐन मार्फत आम शिक्षक कर्मचारीका माग सम्बोधनको माग गर्दै नेपाल शिक्षक महासंघको अगुवाईमा जिल्लाका ६ वटै स्थानीय तहमा धर्ना दिइएको हो । बिहान ११ बजे देखि सुरु भएको धर्ना दिउँशो २ बजेसम्म जारी रहने नेपाल शिक्षक महासंघ मुसिकोट नगरपालिकाका सह अध्यक्ष टिकाराम बिष्टले जानकारी दिनुभयो । देशभरका ७ सय ५३ वटै स्थानीय तहमा धर्ना दिने केन्द्रीय कार्यक्रम अनुसार मुसिकोट नगरपालिकामा पनि धर्ना दिएको उहाँको भनाई छ ।

केन्द्रीय कार्यक्रम अनुसार जिल्लाका तीन नगरपालिका र तीन गाउँपालिकामा धर्ना दिएको नेपाल शिक्षक महासंघ रुकुम पश्चिमले जनाएको छ । धर्नामा शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघ र शिक्षकका पेशागत संघ संगठनका प्रमुख तथा प्रधिनिधिहरुको सहभागिता रहेको बताइएको छ । राहत र साविक उमावि शिक्षकहरु अझै अस्थायी नै रहेको अवस्थामा परीक्षामा सहभागी भई उत्तिर्ण नहुने शिक्षकलाई अस्थायी शिक्षकले पाए सरहको गोल्डेन हेण्डसेक सुविधा, सामाजिक सुरक्षा कोषको प्रवन्ध र सबै दरबन्दीलाई स्वीकृत दरबन्दिमा परिणत गरी सामान्य प्रक्रियाद्धारा शिक्षक सेवा आयोग मार्फत स्थायी गर्नुपर्ने माग नेपाल शिक्षक महासंघले गरिरहेको छ ।

त्यस्तै प्रारम्भिक बाल शिक्षामा काम गर्ने शिक्षकहरुको तलब बृद्धि, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, स्थायी शिक्षकका लागि आवधिक बढुवाको व्यवस्था, ग्रेड र तलब विभेद मिलान, शिक्षक सेवा आयोगबाट सोझै विद्यालयको प्रध्यानाध्यापक तोक्न र पद समायोजन लगायतका माग सहित नेपाल शिक्षक महासंघले देशव्यापी संघर्षका कार्यक्रम गरिहेको छ ।
 

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १२:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update