
रुकुम पश्चिम बाँफिकोट गाउँपालिका वडा नम्बर ९ झुला पुराना गाउँका क्यान्सर पीडित लोकेन्द्र केसीको उपचारका लागि परिवारजनले सहयोगको याचना गरेका छन् । ३० वर्षिय लोकेन्द्र खुट्टाको क्यान्सरबाट पीडित हुनुहुन्छ । उहाँको नेशनल ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ । लोकेन्द्र १२ वर्षको उमेर देखि अपांग रहेको उहाँका भिनाजु मनबहादुर खत्रीले बताउनुभयो ।
१२ बर्षको उमेरमा चिउरीको रुखबाट लडेर लोकेन्द्रको खुट्टा भाँचिएको थियोे । तर साउन २२ गते लोकेन्द्रको खुट्टामा क्यान्सर भएको पुष्टि भएको भिनाजु खत्रीले बताउनुभयो । उहाँका अनुसार लोकेन्द्रको उपचारका लागि अहिलेसम्म १५ लाख खर्च भइसकेको छ ।
घरको अवस्था कमजोर रहेको छ । अहिलेसम्म लोकेन्द्रले आफैले कमाउदै उपचार गर्दै आउनुभएको थियो । तर क्यान्सरले थला पारेपछि भने परिवारका सदस्यले सहयोग जुटाएर उपचार गरिरहेका छन् । हालसम्मको उपचारमा घरमा भएको पैसा सकिएको र ठूलो ऋण समेत लिएको भिनाजु खत्रीले बताउनुभयो ।
उपचारमा सहयोग गरिदिन उहाँले सबैमा आग्रह गर्नुभएको छ । सानो सहयोग गरेर जीवन जोगाइदिन उहाँले देश तथा विदेशमा रहेका सम्पुर्णमा अपिल गर्नुभएको छ । यद्धपी सहयोग भने जुटिरहेको छ । अहिलेसम्म करिब ३ लाख सहयोग जुटेको बताइएको छ । यतिले नपुग्ने भएपछि अझै सहयोगको लागि आग्रह गर्नुपरेको डिलारामले बताउनुभयो । अहिले लोकेन्द्रको उपचारका लागि अमेरिकामा पनि सहयोग संकलन भइरहेको छ ।