
रुकुम पश्चिमको आठबीसकोट नगरपालिका वडा नम्बर १० घारीखोलामा बाढीले मोटरेवल पुलमा क्षति पुर्याएपछि आवतजावतका लागि काठेपुल निर्माण गरिएको छ । केही दिन अगाडी आएको बाढीले स्थानीयका घर र घट्ट बगाउनुका साथै घारीखोलामा रहेको मोटरेवल पुलमा क्षति पुर्याएको थियो ।
पुलमा क्षति पुगेपछि स्थानीयलाई वारपार गर्न समस्या भएको थियो । सोही समस्यालाई मध्यनजर गर्दै तत्कालका लागि काठेपुल निर्माण गरिएको वडा अध्यक्ष गणेश शाहले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिका, वडा र स्थानीयको पहलमा खोला वारपार गर्न काठे पुल निर्माण गरिएको हो ।
बाढीले स्थानीय शिवबहादुर खत्री, बमबहादुर ओली र बिरबहादुर खत्रीको २ तलाका १÷१ वटा घर र स्थानीयका २ वटा पानी घट्ट बगाएको थियो । बाढी प्रभावित क्षेत्रमा नगर प्रमुख रवि केसी सहित नगरपालिकाको टोली पुगि अनुगमन गरेर पीडित परिवारलाई राहत समेत वितरण गरेको थियो ।
वडाको तर्फबाट पनि बाढी पिडित परिवारलाई जति राहत वितरण गर्ने वडा अध्यक्ष शाहले बताउनुभयो ।