५२ प्रतिशत क्षेति
यो वर्ष जिल्लावासीले खाद्य संकटको सामना गर्नुपर्ने
१६ सय मेट्रिकटन खाद्यान्न अपुग हुने ।
केही दिन अघिको हावाहुरीले रुकुम पश्चिममा कुल लगाइएको मकैमध्ये आधाभन्दा बढीमा क्षेति पुगेको छ । हावाहुरीले जिल्लाभरमा करोडौंको क्षेति गरेको छ । कृषि विकास कार्यालय रुकुम पश्चिमका अनुसार हावाहुरीले मकैमा झण्डै साढे १० करोड बराबरको क्षेति गरेको छ । निमित्त कार्यालय प्रमुख मिनबहादुर केसीले हावाहुरीले जिल्ला भरमा १० करोड २९ लाख ३९ हजार ३ सय ७५ रुपैयाँ बराबरको क्षेति गरेको जानकारी दिनुभयो ।
यसैसाताको हावाहुरी सहितको वर्षाले जिल्लाका सबै स्थानीय तहमा क्षेति गरेको उहाँको भनाई छ । उहाँका अनुसार जिल्लामा यो वर्ष कुल ३ हजार ३ सय २५ हेक्टर क्षेत्रफलमा मकै खेती गरिएको छ । यो क्षेत्रफलमा गतवर्ष ८ हजार ३ सय १३ दशमलव ४ मेट्रिकटन मकै उत्पादन भएको थियो । कुल खेती गरिएको मकैमध्ये ५२ प्रतिशतमा क्षेति पुगेको निमित्त कार्यालय प्रमुख केसीले बताउनुभयो ।
गतवर्षको उत्पादनका आधारमा ५२ प्रतिशत क्षेति हुनु भनेको ४ हजार १ सय १७ दशमलव ६ मेट्रिकटन क्षेति हुनु रहेको उहाँले बताउनुभयो ।
कुन स्थानीय तहमा कति क्षेति ?
कृषि विकास कार्यालयका अनुसार सबैभन्दा बढी आठबीसकोट नगरपालिकामा पौने ४ करोड बरारको क्षेति भएको छ । आठबीसकोटमा ३ करोड ७३ लाख ४७ हजार ३ सय ७५ रुपैयाँ बराबरको क्षेति भएको छ ।
चौरजहारी नगरपालिकामा २ करोड ४ लाख २८ हजार ७ सय ५० रुपैयाँ, त्रिवेणी गाउँपालिकामा १ करोड ७२ लाख ६७ हजार ९ सय ६ रुपैयाँ २५ पैसा, मुसिकोट नगरपालिकामा १ करोड ६४ लाख १७ हजार ८ सय १२ रुपैयाँ ५ पैसा, बाँफिकोट गाउँपालिकामा ६४ लाख १२ हजार ५ सय र सानीभेरी गाउँपालिकामा ५० लाख ६५ हजार ३१ रुपैयाँ २५ पैसा बराबरको क्षेति भएको कृषि विकास कार्यालयले संकलन गरेको क्षेतिको विवरणमा उल्लेख छ ।
खाद्य संकट निम्तिने
यो वर्ष खाद्य संकटको अवस्था सृजना हुने कृषि विकास कार्यालयका निमित्त प्रमुख केसीले बताउनुभयो । गतवर्ष २५ सय १५ मेट्रिकटन खाद्यान्न बचत भएकामा यो वर्ष १६ सय ५ मेट्रिकटन खाद्यान्न अपुग हुने उहाँको भनाई छ । जिल्ला खाद्यान्नमा आत्मनिर्भर भएपनि यो वर्षभने हावाहुरीले मकैमा आधाभन्दा बढी क्षेति गरेपछि खाद्य अपुग हुने उहाँले बताउनुभयो । स्थानीय सहित तीनै तहकार सरकारले खाद्य संकटलाई रोक्न राहत लगायतका कार्यक्रम ल्याउनुपर्ने उहाँले बताउनुभयो । सरोकारवालाले ध्यान नदिने हो भने गम्भिर अवस्था आउन सक्ने केसीको चिन्ता छ ।