Kakhara सबैको खबर सम्पूर्ण खबर
तीन महिने अभियान: माओवादी केन्द्र रुकुम पश्चिम ३२ हजार जनताकोमा पुग्यो 
पत्रकार सम्मेलन ।

जनतासँग माओवादी विशेष रूपान्तरण अभियान लिएर नेकपा माओवादी केन्द्र रुकुम पश्चिम १ महिनाको बिचमा ३२ हजार जनताकोमा पुगेको छ । अभियानको एक महिने अवस्थाका बारेमा पत्रकार सम्मेलन मार्फत जानकारी गराउँदै माओवादी केन्द्र रुकुम पश्चिमले एक महिनामा अभियान लिएर जिल्लाका ३२ हजार जनताकोमा पुगेको जानकारी गराएको हो ।

गत भदौ १६ गतेबाट देशभरमा एक साथ सुरु भएको अभियान जिल्लामा पनि जोडतोडका साथ सञ्चालन भइरहेको र लक्षको करिब ८० प्रतिशत उपलब्धि हासिल भएको पार्टीका जिल्ला संयोजक गोविन्द रोका सचिनले जानकारी दिनुभयो । ‘१ महिनाको अवधिमा जिल्लाका ९ हजार घरधुरीमा पुगेर ३२ हजार जनतासँग भेटघाट तथा अन्तरक्रिया गरेका छौँ, उहाँले भन्नुभयो–हामीले तीन महिनामा लिएको लक्षको ८० प्रतिशत प्रगति १ महिनामै हासिल गरेका छौँ, जिम्मेवारी पाएका करिब ७० प्रतिशत नेता अभियान लिएर गाउँ पुगेका छन् ।’

अभियान अन्तर्गत एक महिनाको अवधिमा पार्टीका २ सय ९५ वटा टोल कमिटी र ४ सय ५० वटा सेल कमिटीका बैठक बसेको र ६ सय ३८ जना नयाँ पार्टी सदस्य थपिएको जिल्ला संयोजक रोकाले बताउनुभयो । त्यस्तै उहाँका अनुसार अभियानका क्रममा विभिन्न जनश्रमदानका अभियान पनि सञ्चालन भएका छन् । यो अवधिमा ३४ वटा श्रमदानका कार्यक्रम सम्पन्न भएको जानकारी पत्रकार सम्मेलन मार्फत गराइएको छ ।  

जस क्रममा आठविसकोट नगरपालिका ४ मा रिता कुमारी बिक र सुनिता सुनारको हावा हुरीले छाना उडाइदिएको घर मर्मत गरिएको, आठविसकोट–३ मा घोरेटो बाटो मर्मत गरिएको, बाँफिकोटको छिनखेत, मुसिकोटको सेरिगाऊँ लगायतका ठाउँमा सरसफाइ गरिएको, सानीभेरी गाउँपालिका–५ मा साढे ३ किलोमिटर सडक मर्मत गरिएको, सानीभेरी–११ मा खानेपानी र सडक मर्मत गरिएको उल्लेख छ । 

त्यस्तै चौरजहारी–६ मा वडा कार्यालय जोड्ने सडकमा खसेको पहिरो हटाई यातायात सुचारु गरिएको, चौरजहारी–६ मा शान्तिबजार–घर्तीकाँडा गोरेटो बाटो मर्मत गरिएको, चौरजहारी–८ मा ५ सय मिटर पाइपलाइन खनेर पाइप गाडिएको, बाँफिकोट–१ लागिममा घोरेटो बाटो मर्मत गरिएको र बिरे दमाईको भत्केको घर मर्मत गरिएको तथा बाँफिकोट–६ मा ४ वटा गोरेटो बाटा मर्मत गरिएको जिल्ला संयोजक रोकाले बताउनुभयो । 

यो अभियानले समर्थक जनता र कार्यकर्ता पङ्क्तिमा उत्साह जगाएको माओवादी केन्द्र रुकुम पश्चिमको निष्कर्ष छ । साथै अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने सुझाव प्राप्त पार्टीले जनाएको छ । अभियानका क्रममा जनताबाट विभिन्न सुझावहरू पनि आएको पार्टीको भनाई छ । उक्त सुझावलाई पार्टी पङ्क्तिमा छलफल गरी गम्भीर समीक्षाको चरणमा रहेको बताइएको छ । 

पत्रकार सम्मेलनमा बोल्दै पार्टीका केन्द्रीय सदस्य तथा अभियानका लागि रुकुम पश्चिम इन्चार्ज गगन खड्का जीवनले माओवादी पार्टी यथास्थितिमा नरहने र यथास्थितिबाट माथि उठ्न नसक्ने हो भने माओवादी पार्टी नरहने निष्कर्षमा आफूहरू पुगेको बताउनुभयो । माओवादी अन्य पार्टी जस्तो होइन तर अन्य पार्टीजस्तै भयो भन्न पर्न गएको छ, यसलाई तोड्नका लागि यो अभियान सञ्चालन भएको हो उहाँले भन्नुभयो । यो अभियान माओवादी सुधारमा महत्त्वपूर्ण कडी साबित हुने उहाँले बताउनुभयो ।

मुसिकाेट ५ सेरिगाउँमा रहेकाे पार्टी कार्यालयमा आयाेजित पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य तथा मुसिकोट नगर इन्चार्ज जीवन बुढा, जिल्ला संयोजक गोविन्द रोका सचिन, प्रदेश सदस्य भास्कर मल्ल, आइसिटी फोरमका जिल्ला संयोजक डम्बर विष्ट लगायतका नेताहरूको पनि उपस्थिति रहेको थियो । पत्रकार सम्मेलनको सञ्चालन पार्टीका प्रकाशन तथा प्रसारण विभाग प्रमुख ध्रुवविक्रम बुढाथोकीले गर्नुभएको थियो ।

382994891_231601316569174_377085366948155847_n1696418900.jpg

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update