
नेकपा माओवादी केन्द्र रुकुम पूर्व भूमे गाउँ समितिले तीन महिने अभियानको समीक्षा गरेको छ । आज मङ्गलवार भूमे २ खाबाङ बगरमा माओवादी केन्द्र भूमे गाउँ समितिको तीन महिने अभियान कार्यक्रमको समीक्षा भएको हो । पार्टीले लिएको जनतासँग माओवादी रूपान्तरण अभियानमा पार्टी सदस्य इमानदारिता साथ लाग्न नेता कार्यकर्तालाई केन्द्रीय सदस्य मेघबहादुर श्रेष्ठले निर्देशन दिनुभयो ।
माओवादीका नेता कार्यकर्ता उदाहरणीय काम देखाउँदै जनताका हितका निम्ति लाग्न पर्ने श्रेष्ठको भनाइ छ । सामूहिक उत्पादनको पेसामा लाग्न पार्टी नेता कार्यकर्ताहरूलाई केन्द्रीय सदस्य रामसुर बुढामगरले आग्रह गर्नुभयो । सामूहिक कृषि उत्पादनको सुरुवात पार्टीका जिम्मेवारी नेता कार्यकर्ताबाट गर्नुपर्ने बुढामगरले बताउनुभयो । अब पार्टीको नीति सामूहिक उत्पादनमा लागि समाजवादको यात्रामा लाग्नु पर्ने केन्द्रीय सदस्य बुढा मगरको भनाइ छ ।
पार्टी र गाउँपालिका बिच अन्तरक्रिया मार्फत जनताका काममा लाग्नु पर्ने प्रदेश सचिवालय सदस्य तथा भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठले बताउनुभयो । त्यसअनुसार गाउँपालिकाले सर्वपक्षीय, सर्वदलीय छलफलबाट काम सञ्चालन गरिरहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । तीन महिने अभियान सञ्चालन भइरहेको समयमा विभिन्न जिल्लाहरूमा जनताको लहर माओवादीमै रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । हाल सरकारले गरिराखेको काम प्रति जनता सन्तुष्ट हुँदै माओवादी प्रति आकर्षित भइरहेको उहाँको भनाइ थियो ।
पार्टीले अन्तर्विरोधलाई हल गर्दै युवा विदेश पलायन रोक्ने योजना, विपन्न घर परिवारका स्तर उकास्ने योजना बनाइ लाग्नु पर्ने प्रदेश सदस्य लालबहादुर विष्टले बताउनुभयो । पार्टी भित्रको अन्तर्विरोधको कारणले अन्य पार्टीले अवसर पाइराखेको विष्टले बताउनुभयो । अभियान तथा पार्टीका कामकाजमा गम्भीर योजना बनाइ लाग्नु पर्ने उहाँको सुझाव छ । कार्यक्रममा तीन महिने अभियानका बारेमा नेताहरूले वडागत रूपमा रिपोर्टिङ राखेका थिए ।
माओवादी केन्द्र भूमे गाउँ समितिका अध्यक्ष रुपधन कामीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य मेघबहादुर श्रेष्ठ रहनुभएको थियो भने केन्द्रीय सदस्य रामसुर बुढा मगरको विशेष आतिथ्यता रहेको थियो । त्यस्तै प्रदेश सचिवालय सदस्य होमप्रकाश श्रेष्ठ, प्रदेश सचिवालय सदस्य जिताराम कामी, प्रदेश सदस्य लालबहादुर विष्ट, प्रदेश सल्लाहकार सदस्य देवबहादुर बुढाको लगायतकाले आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन गाउँ समितिका सह सचिव ओमकुमारी रानाले गर्नु भएको थियो ।