
नेकपा माओवादी केन्द्रको विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी रुकुम पश्चिमको २७ औँ जिल्ला सम्मेलन सदरमुकाम मुसिकोटमा सुरु भएको हो । वडा नम्बर ५ मा अवस्थित सहिद प्रतिष्ठानको सभा हलमा पार्टीका पोलिटव्यरो सदस्य तथा कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले सम्मेलनको उद्घाटन गर्नुभयो ।
सम्मेलन नयाँ नेतृत्व चयन गर्दै आजै सकिने सङ्गठनका जिल्ला अध्यक्ष नारायण केसीले जानकारी दिनुभयो । सम्मेलनमा जिल्लाभरबाट प्रतिनिधि र पर्यवेक्षक गरी ३ सय ५१ सहभागी छन् । अध्यक्ष केसीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा पोलिटव्यरो सदस्य शर्माको प्रमुख आतिथ्यता र सङ्गठनका केन्द्रीय उपाध्यक्ष अमरजङ्ग शाहीको विशेष आतिथ्यता रहेको थियो ।
त्यस्तै पार्टीका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सभा सदस्य महेन्द्र केसी, पार्टीका जिल्ला संयोजक गोविन्द रोका सचिन, सङ्गठन तथा पार्टीका प्रदेश तथा केन्द्रीय स्तरका नेता, पार्टी निकट विभिन्न सङ्घ सङ्गठनका प्रमुख तथा प्रतिनिधि लगायतको आतिथ्यता रहेको थियो । उद्घाटन समारोहको सञ्चालन सङ्गठनका सचिव खुमराज ओलीले गर्नुभएको थियो । सम्मेलन अन्तर्गत अहिले बन्द सत्र चलिरहेको छ । बन्द सत्रबाट नयाँ नेतृत्व चयन गरिने सङ्गठनले जनाएको छ ।
