नेपाली काँग्रेसका नेता तथा पूर्व राज्य मन्त्री गोपालजी जङ्ग शाहले प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री जनार्दन शर्मा प्रभाकरले राहत सामग्री ‘कब्जा’ गरेको भन्ने खबरमा सत्यता नभएको बताउनुभएको छ । आज सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै शाहले जनार्दन जस्तो नेताले यस्तो हर्कत गर्नुहोला भनेर विश्वास गर्न नसकिने बताउनुभयो ।
यसमा राजनीतिकरण भएको आफूलाई लागेको उहाँले पत्रकार समक्ष प्रतिक्रिया दिनुभयो । यो घटनामा कुनै सत्यता नभएको उहाँको भनाई थियो । समाचारमा भनिए अनुसार रुकुम पश्चिममा सोलार नआएको समेत उहाँले स्पष्ट पार्नुभयो । बरु रुकुम पश्चिमका लागि आएका केही सामग्री सल्लाह सीतै जाजरकोट पठाइएको उहाँले बताउनुभयो ।
‘रुकुम प्रवेश गर्ने धेरै बाटाहरू छन्, रुकुमका लागि भनिएका केही सामग्री जाजरकोट लगिएका छन्, जाजरकोट पठाइएका केही सामग्री रुकुममा राखिएका छन्, तर कब्जा गरेर होइन सल्लाह गरेरै सहजताका लागि त्यस्तो गरिएको छ, उहाँले भन्नुभयो ।’ भूकम्प पीडितका लागि सरकारले राम्रो काम गरिरहेको समेत उहाँले बताउनुभयो ।
जाजरकोटका लागि पठाइएको राहत जनार्दन शर्माको निर्देशनमा सल्यानको सल्लिबजारबाट ‘कब्जा’ गरी रुकुम पश्चिम लगी आठबिसकोटमा वितरण गरेको भन्दै कान्तिपुर दैनिकले समाचार प्रकाशन गरेको थियो । शर्माले यो समाचारको कडा शब्दमा खण्डन गर्दै प्रमाणित गर्न चुनौती दिइसक्नुभएको छ ।