Kakhara सबैको खबर सम्पूर्ण खबर
अखिल क्रान्तिकारी रुकुम पूर्वद्वारा माओवादी केन्द्रका नेताहरूसँग छलफल 
अखिल क्रान्तिकारी र पार्टीका विचमा भएकाे छलफल ।

अखिल क्रान्तिकारी रुकुम पूर्वले नेकपा माओवादी केन्द्रका नेताहरू सहित जन वर्गीय सङ्गठनसँग छलफल गरेको छ । छिमेकी जिल्ला जाजरकोट र रुकुम पश्चिममा विनाशकारी भूकम्पबाट प्रभावितहरूको अवस्थालाई प्राथमिकतामा राखी छलफल चलाइएको अखिल क्रान्तिकारीका जिल्ला संयोजक चन्द्र रसाइलीले जानकारी दिनुभयो । 

सदरमुकाम रुकुमकोटमा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री कमला रोका (क्रान्ति), केन्द्रीय सदस्य एवं पूर्व मन्त्री दलजित श्रीपाली (प्रशान्त), जिल्ला संयोजक कुमारी बराल गौतम (बिपना) लगायत अन्य जन वर्गीय सङ्गठनका प्रमुख तथा प्रतिनिधिहरू सँग छलफल गरिएको हो । 

विनाशकारी भूकम्पबाट प्रभावितका लागि राहत स्वरूप अखिल क्रान्तिकारीले ३० हजार रुपैयाँ माओवादी केन्द्र रुकुम पूर्वको पार्टी कार्यालयमा बुझाएको र पार्टी मातहतबाट सङ्कलित रकम एक द्वार प्रणाली मार्फत वितरण गरिने बताइएको छ । त्यस्तै मङ्सिर ३ गते माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वको मैकोटमा आउने कार्यक्रमलाई सफल पार्ने विषयमा पनि छलफल भएको छ । 

उक्त कार्यक्रमलाई भव्य बनाउनका लागि जिल्लास्थित सबै जन वर्गीय सङ्गठनहरू परिचालन गर्न पूर्व मन्त्री तथा नेतृ कमला रोकाले निर्देशन दिनुभएको छ । नेतृ रोकाकाले मैकोटमा न्यूनतम ५ हजार जनमास परिचालन गर्ने तथा कार्यकर्ता र जवस मोर्चालाई २ गते नै मैकोट जान निर्देशन दिनुभयो । साथै समर्थन शुभचिन्तक तथा आम जनतालाई हुकामतिर केन्द्रित गर्न पनि निर्देशन दिनुभएको छ । पार्टीको तीन महिने कार्यक्रमका लागि प्रचण्ड मैकोट आउन लाग्नुभएको हो । 

प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०  २२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update