गोर्खबहादुर केसी
आज भन्दा ठिक १ महिना पहिलाको त्यो रात ; वियोग र विनाशका कहाली लाग्दा कथाहरू सृजना गरेर गएको थियो । मान्छेहरूको मन, मस्तिष्क, घर बास र धर्तीमा चिरा नै चिरा परेका थिए । यो १ महिना तिनै धाँजा धाँजा भएका तन-मन र डाँडाकाँडामा उकाली- ओराली गर्दै र सान्त्वना भर्दै , सकेको मलमपट्टी लगाउँदै बित्यो । मानिसका मनहरू जोड्ने, गाँस र बासहरू जोड्ने, सहयोगहरू जोड्ने , सहयोगीहरू जोड्ने , पार्टीहरू जोड्ने र यसरी फाटेका सब चिज जोड्दै १ महिना बित्यो ।
त्यो कालो रात-
निरन्तर सबै तर्फ सम्पर्कमा रह्यौँ । आपत् पर्दा हाम्रो लागि सबभन्दा पहिला सम्झने नाम हुँदो रहेछ जनार्दन शर्मा (ऐया बाबै, ए भगवान् बचाइदेऊ भने जस्तै ), उहाँ सँग सम्पर्क स्थापित भए पछि रात भरि नै प्रत्येक वार्ड, टोल र टोलका सबै छर छिमेकको समेत अवस्था यकिन गर्न सम्भव सबै सम्पर्क स्थापित गर्यौँ । बाटोहरू अवरुद्ध भएको जानकारी पाउने बित्तिकै बाटोहरू खोल्न सबै साधनहरू परिचालन गर्यौँ । घाइतेहरू बोक्न बाइक, गाडी, बस, टिपर, ट्रक, अटो रिक्सा जहाँ जे छ त्यो परिचालन गर्ने निर्णय गर्यौँ । आठबिसकोट न.पा. ले बजारमा रहेका जिपहरूमा तेल भर्दै गाऊ तिर पठायो । जिल्ला बाहिर रहेका सानीभेरी गा.पा.का अध्यक्ष लगायत राति १२ बजे नै सुर्खेतबाट फर्किनु भयो । बिहान ४ बजे सम्म मृतकको सङ्ख्या यकिन भयो र ७ बजे सम्म जिल्ला भरिका सबै घाइते अस्पतालमा पुग्ने कुरा निश्चित गरियो । राति नै क.प्रभाकरले प्रधानमन्त्री, स्वास्थ्य सचिव, आर्मी र प्रहरीको चिफ सँग सम्पर्क गरी बिहानै स्वास्थ्य कर्मी र आवश्यक औषधी सहित उद्धारमा जाने योजना बन्यो ।
ती निर्मम दिनहरू:-
आठबिसकोट नगर अस्पतालको आँगनमा ४४ वटा शवहरू राखेर डाक्टरहरू पोस्टमार्टम रिपोर्ट बनाई रहेका छन् । मेरो बच्चाको पेट नचिर ! चिरेको शव म बुझ्दिन्न भन्दै आमाहरू अबोध बच्चाको लास छेउमा अलाप विलाप गरी रहेका छन् । सेतो कपडाको हाते पर्दा भित्र पोस्टमार्टम भई रहेको छ । आफन्तहरू कोही लास बुझ्छन् कोही गाडीको प्रबन्ध गर्छन् र लास गाडीको छतमा राख्छन् र लैजान्छन् । जताततै रुवाबासी छ , मानिसहरूको अथाह भिड र कोलाहल छ , प्रधानमन्त्री र नेताहरू आएर लासहरूलाई श्रद्धाञ्जली दिनुहुन्छ , आफन्तहरूलाई भरोसा दिन खोज्नु हुन्छ तर त्यो मृत्युको पर्वमा त्यो कालो दिनमा ती शवका आफन्तहरू रोएरै आफ्नो मन भर्न, आँत भर्न खोज्छन् । मानिसहरूको जीवनमा रोएरै मन भर्न खोज्ने समय आउने रहेछ ।
भेरी किनारा रिम्ना देखि २० कि.मि भित्र माथि- तल भूकम्पले सर्वाधिक क्षति गर्यो । दोस्रो दिन एकै गाउँबाट एउटै मलाममा ७ वटा सम्म लास हरू लस्करै बोकेर गाउँलेहरू नदी किनारामा झरी रहेछन् । एउटै घाटमा १०/१२ शवहरू जलाई रहेछन् । सारा दुनियाँ घाटमा जम्मा भएका छन् आफन्तको अन्तिम बिदाइ मा रुवाबासी र कोलाहल छ ।
केही नेताहरू हेलिकोप्टरमा संवेदना दिन आई रहेछन् सबै तिर एक प्रकारको दौड पनि छ मलाम र संवेदनाको ।
भेरी नदीको किनारमा यो स्तरको शोक र वेदनाको बाढी
अघि कहिल्यै थिएन होला र भविष्यमा पनि कहिल्यै नहोस् । प्रकृतिसँग मानिसले हारेको त्यो समय, त्यो लासको पर्व, आमाको अँगालो भित्र बच्चाहरूको धड्कनहरू क्रमशः बन्द भएको त्यो प्रकोपको निर्मम प्रहार अनि एक साथ हजारौँ सपनाहरू ध्वस्त बनाउने त्यो प्रकारको निर्दयी समय फेरि नआओस्,.. कामना गरौँ, प्रयास गरौँ ।
राहत र उद्धार:-
लासहरूको व्यवस्थापन गरी गाउँहरूमा जाँदा सारा मानिसहरू खेतबारीमा खुल्ला आकाश मुनि बसिरहेछन् । जाडो बढ्दै छ । बिहान शीतले ओडेको कपडा लछप्पै भिजेको हुन्छ , यस्तोमा मानिसहरूलाई त्रिपाल मुनि राख्नु पहिलो काम हुन्थ्यो ।
क. प्रभाकर पहिलो दिन काठमाडौँ फर्केर करिब १० हजार थान त्रिपालको व्यवस्था गरी गाडीमा लोड गराएर रुकुम आउनु भयो । अन्य सबै सहयोगी संस्थाहरूलाई पनि त्रिपाल कम्मलको निम्ति आह्वान भयो । त्रिपालको ट्रकहरू बिस्तारै हिँड्न थाले र समयमा ट्रक नआई पुग्ने देखिए पछि तुलसीपुरमा ट्रकबाट त्रिपाल हेलिकोप्टरमा राखेर सल्ले ल्याइयो र त्यहाँबाट टिप्परहरुमा प्रभावित क्षेत्रमा पठायौ । वार्ड अध्यक्ष र सर्व दलीय संयन्त्रले रात भरी त्रिपाल पीडित सम्म पुर्याउने कार्य गरे , यसरी छैटौँ सातौँ दिन सम्म लगातारको प्रयासले सबैलाई त्रिपाल मुनि राखियो ।
यस बिच कम्बल, चामल, अन्य दैनिक प्रयोगका सामाग्रीको आपूर्ति , विद्यालयका अस्थायी टहरा निर्माण , टेन्टका स्वास्थ्य संस्था आदि निर्माण गरी कामहरू सुचारु गरियो । मृतकहरूको परिवारलाई राहात वितरण भयो । घाइतेको उपचार भइरहेको छ ।
विभिन्न सङ्घ संस्थाहरूको सहभागिता जारी छ । केन्द्र सरकारले अस्थायी आवासको लागि प्रति टहरा ५००००/- स्थानीय तह सम्म पठाई संभवत आज बाट पीडितको खातामा रकम जाँदै छ । अस्थायी आवास निर्माणको काम युद्ध स्तरमा जारी छ ।
सबै काम सम्भव भए सम्म छिटो छरितो जारी रहेको छ । यस क्रममा सबै कार्यको नेतृत्व र मार्ग दर्शन गरेको मा क. प्रभाकर प्रति आभारी छौँ ।कामको संयोजन गर्ने पालिका सरकारहरू , निरन्तर जनताका घरदैलोमा काम गर्ने , गाली खाने, सबै दुःख बेहोर्ने विभिन्न पार्टीका स्थानीय कार्यकर्ताहरू, सहयोगी संस्थाहरूको भूमिका निकै राम्रो रह्यो ।
यो भूकम्पमा बिर्सन नहुने एक अर्को नाम हो यति बिल्डर्स । आफ्ना ५ जना स्टाफ र २ जना कामदारको मृत्युको बाबजुद भूकम्पको कम्पनसँग ब्युँझेर निरन्तर उद्धारमा खट्यो, सबै साधन र जनशक्ति परिचालन गर्यो र मानिसहरूमा बिर्सन नसकिने गुण लगायो । यस प्रति पनि कृतज्ञ छौ ।
नव निर्माण-
भूगोलको एक भागले अब नयाँ निर्माणको चुनौती सामना गर्दै छ । यो भागमा हामी सबै मिलौँ, दुःखहरू क्रमशः भुलौँ र पूरा उत्साह र जोसका साथ नव निर्माणमा सहभागी बनौँ । हामी यी गाउँहरूमा फेरि खुसी र सुखहरूको प्रवाह गरी छोड्ने छौँ ।
केसी आठबिसकाेट नगरपालिकाका पूर्व नगर प्रमुख तथा माओवादी केन्द्रका नेता हुनुहुन्छ ।