राप्ती राजमार्ग अन्तर्गत रुकुम पश्चिमको मुसिकोट नगरपालिका ११ र १२ को बिचमा पर्ने पितिवाङ खोलामा पुल नहुँदा वर्षौँ देखि नागरिकले सास्ती भाेग्न बाध्य छन् । हिउँदको समयमा सवारी साधन तथा पैदल यात्रीहरूलाई त्यति धेरै समस्या नपरे पनि जब वर्षा याम सुरु हुन्छ त्यसपछि सुरु हुन्छन् दुःखका दिन । राप्ती राजमार्ग हुँदै जिल्लाबाट देशका विभिन्न सहरमा जाने तथा आउने यात्रुहरूलाई निकै सास्ती हुने गर्छ । खोलामा पुल निर्माण नहुँदा वर्षा याममा खोलाको बहाव धेरै हुने भएकाले यातायातका साधनलाई वारपार गर्न समस्या हुने गर्छ । खोलामा सवारी साधन वारपार गर्न ह्युम पाइप राखेर वारपारमा केही सहज बनाई पनि वर्खा याममा भने त्यसले पनि सहज बनाउन सकेको छैन ।
गत भदौ ३१ गते खोलाको बहाव धेरै हुँदा ह्युम पाइप बगाएको थियो । जसका कारण सवारी साधन एक दिनसम्म अलपत्र परेका थिए । गएको वर्षातमा मात्रै हैन पुल नबन्दासम्म यहाँका नागरिकले सधैँ यस्ता समस्या भोग्नु पर्ने अवस्था छ । राप्ती राजमार्गको पितिवाङ खोलामा वर्षौँसम्म पक्की पुन नबन्दा जोखिम मोलेरै यात्रा गर्नुपर्ने अवस्था रहेको बस चालक रिमबहादुर पुनले बताउनुभयो । ‘मलै यो सडक खण्डमा बस चलाउन थालेको लामो समय भइसक्यो पुल निर्माण हुन्छ भन्ने मात्रै सुनिन्छ, अझसम्म बनेको छैन, राप्ती राजमार्ग रुकुमकै मुख्य सडक खण्ड भएकाले पुल निर्माण हुनुपर्ने हो । यो सडक खण्डबाट सवारी आवतजावत धेरै हुन्छ । पुल निर्माण भएपछि हामीलाई पनि ढुक्कले बस चलाउन हुन्थ्यो’ पुनले भन्नुभयो ।
वर्षातको समयमा खोला बढ्ने भएकाले पितिवाङमा पुल नबन्दासम्म यात्रा गर्न जोखिमपूर्ण रहेको उहाँले बताउनुभयो । मोटरसाइकल चालक त्रिवेणी गाउँपालिकाका भिमबहादुर ओलीले पनि पितिवाङ खोलामा सास्ती खेप्नु परेको सुनाउनुभयो । ‘पहिले पहिले त वर्षातको सयमा एक पटक खोला क्रस बनाएको पाँच सय देखि एक हजार रुपैयाँसम्म तिर्नुपर्थ्यो । निकै समस्या हुने गर्थ्यो । तर अहिले ह्युम पाइप हालेर खोला वारपार गर्न केही सहज भए पनि वर्षातको समयमा खोलाको बहाव धेरै हुँदा समस्या हुने गरेको छ’ ओलीले भन्नुभयो ।
चुनाव जितेर गएका नेताहरूले पनि पुल निर्माणमा चासो नदेखाएको नागरिकको गुनासो छ । वर्षौँ देखि यही पुलका कारण सङ्घ तथा प्रदेश सांसदहरूको चर्को आलोचना हुने गरेको छ । सांसद तथा नेताहरूले यो पुलका बारेमा चासो दिनुका साथै संसदमा आवाज नउठाउने गरेका भने हाेइनन । गत वर्ष प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री जनार्दन शर्माले पुल निर्माणमा दबाब दिन पुल निर्माण स्थलमा पत्रकार सम्मेलन समेत गर्नुभयो । केही समय अघि कर्णाली प्रदेश सभा सदस्य महेन्द्र केसीले पनि पुल निर्माणमा भइरहेको ढिलासुस्ती बारे आवाज उठाउनुभएको थियो । अन्य सांसद तथा नेताहरूले पनि बेला बेला आवाज उठाउने गरेका छन् । तर पुल निर्माणको काम अलपत्र अवस्थामा रहेको छ ।
दुई वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता, ६ वर्षसम्म निर्माणको काम अलपत्र
पितिवाङ खोलामा पुल निर्माण गर्न २०७४ असार ८ गते सम्झौता भएको थियो । दुई वर्ष भित्र सम्पन्न गरिसक्ने गरी सम्झौता भएको ६ वर्ष पुग्दा पनि पुल निर्माणकाे काम सकिएको छैन । पुलको एकातर्फ जग बसाल्नु बाहेक निर्माणको बाँकी काम हुन सकेको छैन । लामो समय देखि पुल निर्माण कार्य अलपत्र परेको छ । पुल निर्माण गर्न संरक्षण निर्माण सेवा चितवनले पाँच करोड २८ लाखमा जिम्मा लिएको छ ।
पटक पटक समय थप गर्दा पनि पुल निर्माण नहुँदा जिल्लावासीहरू आजित भइसकेका छन् । पहिलो पटक २०७४ साल असार ८ गते दुई वर्ष भित्र निर्माण सम्पन्न गर्ने सम्झौता भएकोमा २०७६ सालमा निर्माणको काम सम्पन्न हुन सकेन । पछिल्लो पटक म्याद थप गरिएकोमा २०७८ वैशाख ८ मा सक्नुपर्ने थियो । यसमा पनि काम हुन सकेन । खोलामा वर्षौँ देखि एकातर्फको मात्र बेस निर्माण गरिएको छ । संरक्षण निर्माण सेवाका मुख्य ठेकेदार चितवनका केशव लामिछाने हुन् । ठेकेदारको चरम लापरबाहीका कारण पुल निर्माण हुन सकेको छैन ।

के भन्छ सडक डिभिजन ?
पितिवाङ खोलाको पुल निर्माणलाई पहिलो प्राथमिकतामा राखिएको सडक डिभिजन कार्यालय चौरजहारीले जनाएको छ । अलपत्र अवस्थामा रहेको पुल निर्माणको काम एक हप्ता भित्र सञ्चालन हुने सडक डिभिजन दाबी गर्छ । चौरजहारी सडक डिभिजन प्रमुख तेजस्वी शर्मा पुल निर्माणको जिम्मा लिएको संरक्षण निर्माण सेवासँग ठेक्का तोड्दा ढिला हुने भएकाले उक्त निर्माण सेवासँगै समन्वय गरी अनफ कन्स्ट्रक्सनले निर्माणको काम गर्ने गरी प्रक्रिया अगाडी बढेको बताउनुहुन्छ ।
अनफ कन्स्ट्रक्सनलाई तत्काल काम सुरु गर्न भनेका छौँ, पुल निर्माण गर्न लाग्ने आवश्यक निर्माणका सामग्री ल्याउन सुरु भइसकेको छ । 'म कार्यालयमा सरुवा भएर आएको दुई महिना भयो, पहिलो प्राथमिकता यही पुल निर्माणलाई दिएको छु । अबको एक हप्ता भित्र पुल निर्माणको काम सुरु हुन्छ,’ उहाँले भन्नुभयो । अब निर्माणको काम द्रुत गतिमा अगाडि बढ्ने र यही वर्षको चैत मसान्तसम्म पुल निर्माणको काम सम्पन्न हुने दाबी उहाँको छ । वैशाख देखि पुलमा गाडी गुडाउने योजना रहेको प्रमुख शर्माले दाबी गर्नुभयो ।


-1788004022.jpeg)


-1759842583.jpg)