प्रतिनिधि सभा सदस्य तथा पूर्व अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले रुकुम पश्चिमको मुसिकोट नगरपालिकाको पितिवाङ खोलामा निर्माणाधिन पुल निर्माणको काम तत्काल सक्न निर्देशन दिनुभएको छ । आज निर्माणाधिन पुलको अनुगमन गर्दै उहाँले तत्काल पुल निर्माणको काम सक्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको हो । पुल निर्माणको काम तत्कालै नसकिए राम्रो नहुने चेतावनी समेत उहाँले दिनुभयो ।
पत्रकार सहित पुल निर्माण स्थलमा पुग्नुभएका शर्माले पुल निर्माणमा ढिलाई हुनुका बारेमा चासो व्यक्त गर्नुका साथै अहिले कामको अवस्था के छ भनेर निर्माण कम्पनीका प्रतिनिधि तथा सडक डिभिजन कार्यालय चौरजहारीका प्रतिनिधिबाट जानकारी लिनुभएको थियो । निर्माण कम्पनी संरक्षण निर्माण सेवाका प्रतिनिधि लेकविर घर्तीले पुलको एक तर्फको वेस निर्माणको काम भइसकेको र अव अर्को तिरको सुरु भएको जानकारी गराउनुभयो ।
कोभिड–१९ लगायतका कारणले पुल निर्माणमा ढिलाई भएको भन्दै घर्तीले बर्खा अघि नै पुलको बाँकी रहेको पिलर उठाउने काम सकिने बतानुभयो । त्यसपछि खोलालाई दुई तिर तर्काएर वर्खामा पनि पुल निर्माणको काम गर्न सकिने उहाँको दाबी छ । अव निर्माण कार्य नरोकिने प्रतिवद्धता उहाँले जनाउनुभयो ।
सडक डिभिजन कार्यालय चौरजहारीका इन्जिनियर अविनाश अर्यालले अहिलेसम्म १५ प्रतिशत रकम भुक्तानी भएको जानकारी दिनुभयो । निरन्तर ताकेता गर्दा पनि निर्माण कम्पनीले वास्ता नगर्दा निर्धारित समयभन्दा धेरै लामो समयसम्म पनि पुल निर्माण सम्पन्न हुन नसकेको उहाँको भनाई छ ।
अव एक साइटको वेस निर्माणको काम भएमा बाँकी काम गर्न धेरै समस्या नहुने इन्जिनियर अर्यालले बताउनुभयो । कार्यालयबाट निरन्तर ताकेता भइरहेको र अवका दिनमा पनि त्यसलाई निरन्तरता दिने उहाँको प्रतिवद्धता छ । यो पुल २०७८ को वैशाख ८ मा सक्नुपर्ने थियो । जसका लागि ५ करोड २८ लाखमा २०७४ को असार ८ मा संरक्षण निर्माण सेवासंग सम्झौता भएको थियो ।
अनुगमनपछि बोल्दै नेकपा माओवादी केन्द्रका संगठन विभाग प्रमुख तथा उप महासचिव समेत रहनुभएका पूर्व मन्त्री शर्माले यो पुलका लागि आफुले हप्तामा एक पटक ठेकेदारलाई फोन गरेर ताकेता गर्ने गर्ने गरेको बताउनुभयो । ‘यो पुलको ठेकेदार केशव लामिछाने हुनुहुन्छ, उहाँ चितवन कांग्रेसको नेता पनि हो, उहाँले भन्नुभयो–मैले प्रत्येक हप्ता उहाँलाई फोन गरेर तुरुन्त पुल निर्माण गर्नुहोस भनिरहेको छु, उहाँले हुन्छ दाइ म गरिहाल्छु, मान्छे पठाइहाल्नु भन्नुहुन्छ, तर यहाँ कामै भइरहेको छैन् ।’
नेताले गरेनन् भनेर जनताले गाली गर्नु स्वभाविक भएको पनि उहाँले बताउनुभयो । तर बजेट विनियोजन भई ठेक्का लागिसकेको अवस्थामा नेताले अनुगमन गर्ने, ताकेता गर्ने, कमजोरी भएको ठाउँमा खवरदारी गर्ने, समस्या भएको ठाउँमा सहजिकरण गर्ने बाहेक धेरै गर्न नसक्ने अवस्था रहेको उहाँले स्पस्ट पार्नुभयो ।
साथै उहाँले देश विकास नहुनुमा तोकिएको समयमा निर्माणका काम नहुनु पनि प्रमुख कारण रहेको बताउनुभयो । ‘देश विकास नहुनुमा तोकिएको बेलामा निर्माण नसकिनु पनि प्रमुख कारण हो, हाम्रै रुकुममा रणनैतिक महत्वका धेरै योजनाहरु अलपत्र परेका छन्, म निरन्तर लागिरहेको छु, ठेकेदारले कामै गर्दैनन्, उहाँले भन्नुभयो ।’
मध्यपहाडी लोकमार्ग, भेरी करिडोरका पुल, सानीभेरी मेघाको पुल, गाराघाटको पल, जलिगाडको पुल लगायतका धेरै आयोजनाहरु ठेकेदारका कारण अलपत्र परेको उहाँको भनाई छ । राप्ती लोकमार्गका लागि पनि प्रर्याप्त बजेटको व्यवस्था आफुले गरेपनि सडक डिभिजनले ठेक्का नखोल्दा समस्या भएको उहाँले बताउनुभयो । शर्माले केही दिन देखि निर्माणाधिन आयोजनाको अनुगमन गर्दै निर्माण कार्य तत्काल सक्न निर्देशन दिइरहनुभएको छ ।


                                                
                                                
                                                
                                                
                    


-1759842583.jpg)