Kakhara सबैको खबर सम्पूर्ण खबर
राष्ट्रिय निबन्ध प्रतियोगितामा रुकुम पश्चिमका सुरज पहिलाे (निबन्ध सहित)

रुकुम पश्चिमका सुरज ओली राष्ट्रिय निबन्ध प्रतियोगितामा पहिलो हुनुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आयोजित सुरक्षित वैदेशिक रोजगार विषयक निबन्ध प्रतियोगितामा जिल्लाको चौरजहारी नगरपालिका वडा नम्बर २ मा रहेको शीतल माविमा अध्ययनरत ओली पहिलो हुनुभएको हो । 

देशभरिबाट इमेलमा प्राप्त १ सय ७ वटा निबन्ध मध्ये सानीभेरी १० घर भई चाैरजहारीमा कक्षा १२ मा अध्ययनरत ओलीको निबन्ध पहिलो भएको बताइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत वैदेशिक वैदेशिक रोजगार बोर्ड सचिवालयले राष्ट्रव्यापी निबन्ध प्रतियोगिता आयोजना गरेको थियो । 

सचिवालयका अनुसार उक्त प्रतियोगितामा सुनसरीको विश्व आदर्श माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत ओजस्वी कटवाल द्वितीय र काभ्रेको काभ्रे माध्यमिक विद्यालय बनेपामा कक्षा ९ मा अध्ययनरत आरोग्य पराजुली तेस्रो हुनुभएको छ । स्थान प्राप्त गर्ने प्रतियोगीहरूलाई पुरस्कारको व्यवस्था रहेको बताइएको छ ।

प्रथम स्थान प्राप्त गर्न सफल सुरज ओलीले लेखेको निबन्धः 

विद्यालय स्तरीय राष्ट्रव्यापी निबन्ध प्रतियोगिता
शीर्षक: "सुरक्षित वैदेशिक रोजगार"

परिचयः
आफ्नो जन्मभूमिलाई मुटुभरिको माया हुँदा हुँदै पनि बाध्यताले जन्मभूमि चटक्कै छोडी विदेशी भूमिमा पुगी विभिन्न श्रम गर्ने प्रक्रियालाई वैदेशिक रोजगार भनिन्छ । सामान्यतया कामको सिलसिलामा रोजगारीको लागि एक देशको व्यक्ती अर्को देशमा गएर काम गर्नु नै वैदेशिक रोजगार हो। वैदेशिक रोजगारको माध्यमबाट सिर्जना हुने सामाजिक, सांस्कृतिक, आर्थिक सम्बन्धका पद्धतिहरूलाई अवसर भनिन्छ । वैदेशिक रोजगारी नेपालीका लागि महत्त्वपूर्ण अवसरको रूपमा रहेको छ । नेपाल जस्तो विकासोन्मुख देशमा वैदेशिक रोजगार अर्थतन्त्रको आधारशिला हो । नेपालमा रोजगारीको अवसर पर्याप्त नहुँदा नेपालीहरू वैदेशिक रोजगारमा जाने गरेका छन् । नेपाली श्रम बजारमा रोजगारीका अवसरलाई व्यवस्थित गर्न सकेको छैन। हाम्रो जस्तो गरिब मुलुकका निम्ति यो विषय आजको जल्दो बल्दो समस्या बनेको छ । नेपालमा लगभग २३.८ प्रतिशत नेपालीहरू गरिबीको रेखामुनि रहेका छन्। नेपालबाट हरेक दिन करिब १५०० भन्दा बढी नेपालीहरू रोजगारीका लागि बिदेसिनु परेको छ । भारत बाहेक अन्य देशहरूमा करिब २० लाख भन्दा धेरै सङ्ख्यामा नेपालीहरू रोजगारीका निम्ति बिदेसिनु परेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार नेपाली कामदारको लागि नेपाल सरकारले कानुनी रूपमा वैदेशिक रोजगार जाने कामदारको हकमा संस्थागत ११० देशमा खुल्ला गरे पनि सन् २००५ कै यता मलेसिया, कतार, बहराइन, यु.ए.ई., जोर्डन, दक्षिण कोरिया, जापान र इजरायल गरी ८ वटा देशसँग श्रम सम्झौता हस्ताक्षर गरेको छ। देशमा बेरोजगारी आर्थिक समस्या, गरिबी र विपन्नताको कारणले कयौँ युवा युवतीहरूको एक मात्र गन्तव्य वैदेशिक रोजगार बनेको छ। स्वदेशमा रोजगारीको अवसर न्यून हुनु, नयाँ प्रविधि र ज्ञानको खोजी लगायतका कारणले जनशक्ति वैदेशिक रोजगार जान्छन्। आफ्नो योग्यता अनुसारको काम र पारिश्रमिक नपाउनु, व्यापार व्यवसाय सञ्चालन गर्न उपयुक्त वातावरण नहुनु, उद्योगधन्दाको पर्याप्त विकास नहुनु जस्ता कारणले गर्दा नेपाली वैदेशिक रोजगारीमा जान बाध्य छन् । नेपालको बेरोजगारी दर ११.४ प्रतिशत रहेको छ भने महिला र पुरुषको बेरोजगारी दर क्रमशः १०.३ र १३.१ प्रतिशत रहेको छ। नेपालमा रोजगारीमा ३४.२ प्रतिशत जनसङ्ख्या रहेको छ। रोजगारीमा रहेको जनसङ्ख्यालाई प्रदेश अनुसार सबैभन्दा बढी ४३.८ प्रतिशत बागमती प्रदेशमा रहेको छ । नेपाल श्रम शक्ति सर्वेक्षण २०७४ अनुसार ६२.२ प्रतिशत व्यक्तिहरू अनौपचारिक तथा असङ्गठित क्षेत्रमा दैनिक ज्यालादारी मजदुर तथा श्रमिकको रूपमा कामकाज गरी जीवन निर्वाह गर्ने गरेको देखिन्छ । नेपालको सन्दर्भमा रोजगारीका लागि प्रमुख गन्तव्य नै वैदेशिक रोजगार भएको छ। हाल करिब ४० लाख युवा जनशक्ति रोजगारीका लागि विदेश रहेका छन् तसर्थ, यो आर्थिक विकासको महत्त्वपूर्ण पक्ष रहेको छ । सन् १८१६मा सुगौली सन्धि पश्चात् वैदेशिक रोजगारीको सुरुवात नेपालमा भारतबाट भएको मानिन्छ । नेपालमा वि.सं.२०६५ साल कार्तिक १५ गते वैदेशिक रोजगार विभागको स्थापना भयो । नेपालको कूल गार्हस्थ्य  उत्पादनको ठुलो हिस्सा ओगटेको वैदेशिक रोजगारको क्षेत्र सँग प्रत्येक नेपाली नागरिकको सम्बन्ध र सरोकार बनेको छ । प्रत्यक्ष वा अप्रत्यक्ष हामी सबैलाई प्रभावित बनाउने र हाम्रो चासो गाँसिएको वैदेशिक रोजगारीलाई सक्दो उत्पादनमूलक सुरक्षित र मर्यादित बनाउने देश कै एउटा आधिकारिक निकाय वैदेशिक रोजगार बोर्ड हो। नेपालमा वैदेशिक रोजगारको अवस्था: बर्सेनि करिब ६ लाख भन्दा बढी सङ्ख्यामा नयाँ श्रम शक्ति रोजगारीका लागि बिदेसिने गरेको पाइन्छ । दैनिक करिब २००० युवा श्रम स्वीकृति लिई बिदेसिने गरेको पाइन्छ । ४० लाख श्रमिकहरू मध्ये १२ प्रतिशत महिलाहरू रहेका छन् । करिब ५६ प्रतिशत घरपरिवारले विप्रेषण आय प्राप्त गरिरहेका छन् । मुलुकको विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत विप्रेषण रहेको छ । आर्थिक वर्ष २०७८/०७९ को तुलनामा करिब १ हजार ७ अर्ब ३१ करोड रुपैयाँ बराबरको विप्रेषण भित्रिएको छ । यो कुल गार्हस्थ्य उत्पादनको तुलनामा २०.८ प्रतिशत हुन आउँछ । प्राप्त विप्रेषणको ७८.९ प्रतिशत उपभोगमा ७.१ प्रतिशत ऋण तिर्नमा ४.५ प्रतिशत शिक्षामा, ४.५ प्रतिशत घरजग्गा खरिदमा, २.४ प्रतिशत पुजी निर्माणमा र २.६ प्रतिशत स्वास्थ्य तथा अन्य क्षेत्रमा उपयोग गर्ने गरेको पाइन्छ। यहाँ दैनिक औसत ३ वटा शवहरू आउने गरेका छन् । (मृत्युको कारण: हृदयाघात, सडक दुर्घटना, आत्महत्या र कार्यस्थल दुर्घटना आदि रहेको पाइन्छ।) वैदेशिक रोजगारमा गएका श्रमिक विदेशमा विभिन्न समस्यामा परेको देखिन्छ । सचेतनाको कमी, जोखिमपूर्ण काम, ठगीमा पर्ने, असुरक्षा, न्यून बेतलबमा काम गर्नुपर्ने बाध्यता, मानव तस्करी, बेचबिखन, गैर कानुनी रूपमा विदेशमा बस्ने चलन, रोजगारदाता मुलुकबारे पर्याप्त जानकारी नहुनु र हिंसामा पर्नु जस्ता समस्या वैदेशिक रोजगारका समस्याहरू हुन् । 

वैदेशिक रोजगारीका चुनौती र अवसरहरू: 
राज्यमा बेरोजगारीको समस्या हल गर्ने एउटा ठुलो अवसर वैदेशिक रोजगार बनेको छ । वैदेशिक रोजगारबाट नेपाली श्रम र सिपले विश्व बजारमा स्थान पाएको छ । परिवार तथा देशको आर्थिक अवस्थामा सुधार आएको छ। विभिन्न देशहरूमा सम्बन्ध सुधार हुनुका साथै नेपाली कला, कौशल र संस्कृतिले उत्तिकै विश्वव्यापीकरण हुने मौका पाएको छ । विप्रेषणका साथै विदेशमा सिकिएका प्रविधि, ज्ञान र सीपहरू स्वदेशमा भित्रिएका छन् । नेपाली समुदायले विश्व जगत् सँग परिचित हुने मौका साथै सोच्ने शैलीमा परिवर्तन आएको छ। विदेशमा कमाइएका मुद्रा, सिप र प्रविधिको उपयोग गरेर राष्ट्रको तीव्र गतिमा विकास निर्माण गर्न सकिने सम्भावनाहरू तय भएका छन् तर यति धेरै अवसरहरू हुँदा हुँदै पनि राष्ट्रका दक्ष जनशक्ति लर्कन लागेर बाहिर जाँदा गाउँहरू भने रित्तिँदै गएका छन् । गाउँमा अशक्त बुढापाका काम गर्न नसक्ने बालबालिकाहरू मात्र छन् । वैदेशिक रोजगारीको कारणले सामाजिक संरचना खलबलिएको छ। सांस्कृतिक सम्बन्धहरू बिग्रिएका छन्, कतिपयका घरबारहरू टुटेका छन्, गाउँमा जमिन बाँझा छन्, सबल जोस जाँगर भएका युवा सबै बाहिरिने प्रवृत्तिले देशको उर्वर भूमि बाँझो रहने, उत्पादन घट्ने, खाद्यान्न आपूर्ति कम भएर आयातमा निर्भर हुँदै जानुपर्ने अवस्था सिर्जना भइरहेको छ। जनशक्तिको अभावमा कृषि कार्य हुन छाडेका छन् । कृषि प्रति आकर्षण घट्दै गएको देखिन्छ । होनहार युवा प्रतिभाहरू खाडी मुलुकमा खटी रहेका छन्। वैदेशिक रोजगारीले अवसरका ढोकाहरू त खोलेको छ। सामाजिक सांस्कृतिक पक्षको सुधार गर्नु पर्ने, राष्ट्रमा रोजगारी सिर्जना गर्नुपर्ने, जनशक्ति देश मै रोक्नु पर्ने, आर्थिक समृद्धि गर्नु पर्ने, जस्ता विभिन्न चुनौतीहरू पनि खडा गरेको छ । वैदेशिक रोजगारको क्रमसँगै नेपालीहरू परनिर्भर भएका छन् । आफ्नो देशमा केही हुँदैन तर देशबाट प्राप्त कमाइबाट मात्र केही गर्न सकिन्छ भन्ने सोचको बीजारोपण भएको छ । विदेशमा लोग्नेले रगत र पसिनाको खोलो बगाएको पैसा कतिपय नेपाली दिदीबहिनीहरूले मोज मस्तीमा उडाएका छोराछोरीको पढाउने बहानामा महँगो सहरमा बसेर जीवन बिताउने अनि घरबार बिगार्ने जस्ता कुरीतिहरू निकै बढेर गएका छन् । नेपाली दाजुभाइहरूले कहिले मेसिनमा पेलिएर, कहिले अग्ला भवनहरू देखि लडेर, कहिले त्यहाँका मालिकहरूबाट मारिएर काठको बाकसमा फर्किनु परेको तिता उदाहरण धेरै छन्। विदेशमा एउटा कामका लागि भनेर अर्कै काममा लगाउने, सम्झौता अनुसार परिश्रमिक नदिने जस्ता विभिन्न समस्याहरू हाम्रा नेपाली दाजुभाइहरूले भोगिरहेका छन् । विविध कारणले आत्महत्या गर्नेहरूको सङ्ख्या पनि बढ्दो क्रममा रहेको छ। कार्यक्षेत्रमा हुने जोखिम, दुर्व्यवहार, पारिवारिक मनमुटाब, ऋणको बोझ आदि थुप्रै चुनौतीहरू थपिएका छन् । ग्रामीण भेगका युवाहरू अशिक्षित हुनुभएकाले विदेशमा जाँदा ठगिने समस्या अझै पनि रहेको छ । देश मै पनि वैदेशिक रोजगारमा पठाउने दलालबाट ठगिनु परेको छ । वैदेशिक रोजगारमा जाने गरिब नेपालीले आफ्नो घर खेत बेच्नुपर्ने बाध्यता छ। नेपाली कामदारहरू अदक्ष वा अर्धदक्ष हुनाले पनि वैदेशिक रोजगारको सिलसिलामा दुख कष्ट भोग्नु परेको देखिन्छ । यस्तै भाषागत समस्याहरू पनि भोगिरहेका छन् । विदेशमा उनीहरूको चुनौती थपिएको छ । वैदेशिक रोजगार जस्तो अवसरलाई उपयोग गर्न नेपाल सरकारले गम्भीरतापूर्वक लाग्नु पर्ने अवस्था खडा भएको छ । वैदेशिक रोजगारीका चुनौती मात्र होइनन् यसका अवसरहरू पनि धेरै छन् । राज्यले प्राविधिक शिक्षा र व्यावसायिक तालिमलाई प्राथमिकता दिनु, श्रम तथा रोजगार सम्बन्धी कानुन जारी हुनु, वैदेशिक रोजगारका अवसरका रूपमा लिनु पर्दछ । निःशुल्क टिकट र भिसा कार्यान्वयनमा आउनु विभिन्न देशसँग द्विपक्षीय श्रम सम्झौता हुनुका साथै विभिन्न देश सँग सुमधुर सम्बन्ध कायम रहने थप अवसर हुन् ।

वैदेशिक रोजगारको महत्व:
वैदेशिक रोजगारको महत्त्व र वैदेशिक रोजगारीले नेपालको आर्थिक विकासमा पुर्‍याएको योगदान बारे यस प्रकार उल्लेख गरिएको छ ।

• नागरिकको जीवनस्तर सुधार र अभिवृद्धि सँग रोजगारीका अवसर प्राप्त छन् । विप्रेषणले गरिबी निवारणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ। अझ विशेष गरी ग्रामीण क्षेत्रहरूमा,

• लगानी बढाउन र दुर्गामी विकासको प्रवर्धन गर्न मद्दत पुर्‍याएको छ । वैदेशिक मुद्राको प्रमुख स्रोतका रूपमा रहेको छ । अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा सहयोग सँगै नागरिकको क्षमता, सचेतना, दक्षता अभिवृद्धि भएको छ। आर्थिक असमानता न्यूनीकरण गरेको छ ।

• नागरिकमा उद्यमशील सोच र क्षमता बढेको छ । आगामी पुस्ताको सशक्तीकरणमा योगदान पुगेको छ। वित्तीय साक्षरता अभिवृद्धिमा सहयोग गरेको छ ।

नेपालको संविधानमा वैदेशिक रोजगार
रोजगारी सम्बन्धी कानुनी व्यवस्था: नेपालको संविधान २०७२ को धारा ३३ ले प्रत्येक नागरिकलाई रोजगारीको हक, रोजगार छनौट गर्न पाउने हक, धारा ३४ ले प्रत्येक व्यक्तिलाई उचित श्रम अभ्यास गर्न पाउने हक र धारा ४३ ले सामाजिक सुरक्षाको हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको छ ।

• संवैधानिक व्यवस्था (धारा ५१झ)- वैदेशिक रोजगारीलाई शोषणमुक्त, सुरक्षित र व्यवस्थित गर्न तथा श्रमको रोजगारी र अधिकारको प्रत्याभूति गर्न यस क्षेत्रको नियमन र व्यवस्थापन गर्ने वैदेशिक रोजगारबाट आर्जन भएको पुँजी र अनुभवलाई स्वदेशका उत्पादन क्षेत्रमा प्रोत्साहन गर्ने नीति अङ्गीकार गरेको छ । वैदेशिक रोजगार ऐन २०७५ रोजगारीमूलक सिप विकास तालिम सञ्चालन कार्यविधि २०७५ मौसमी कामदार व्यवस्थापन निर्देशिका २०७९, वैदेशिक रोजगारमा घरेलु कामदारलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका २०७३, वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली सञ्चालन कार्यविधि २०७६ जस्ता नीतिहरू कानुनी रूपमा व्यवस्था गरेको छ ।

• नीतिगत व्यवस्था: वैदेशिक रोजगार नीति २०६८ श्रम आप्रवासबाट मौद्रिक विप्रेषण मात्र नभई सामाजिक आर्थिक विकासमा उपयोग गर्ने विषयमा जोड दिने व्यवस्था गरेको छ । संस्थागत कार्यक्रम तथा अन्य व्यवस्था: श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय, राजदूतावास, महावाणिज्य दूतावास, राहदानी विभाग, कन्सुलर विभाग, गृह मन्त्रालय, अध्यागमन विभाग, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार प्रवर्धन बोर्ड सचिवालय, वैदेशिक रोजगार सचेतना कार्यक्रमहरूको व्यवस्था गरेको छ ।

वैदेशिक श्रम नीति:
वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित सुरक्षित भरपर्दो बनाउने उद्देश्यले वैदेशिक रोजगारी ऐन वैदेशिक रोजगार नियमावली २०६४ जारी भएको छ । हाल वैदेशिक रोजगार नीति २०७८ कार्यान्वयनमा आएको छ । नेपालको संविधान भाग ४ मा वैदेशिक श्रम तथा रोजगार सम्बन्धी नीतिको व्यवस्था गरिएको छ । वैदेशिक रोजगार नीति अन्तर्गत थुप्रै रणनीतिहरू पनि छन् । अन्तर्राष्ट्रिय श्रम बजारमा रोजगारीका अवसरको पहिचान गर्ने सम्बन्धमा तयार भएको रणनीति सिपयुक्त जनशक्ति उत्पादन गरी वैदेशिक लाभ लिने सम्बन्धमा, वैदेशिक रोजगारको श्रम बजारमा महिला कामदारको विषयमा तयार गरिएको, वैदेशिक रोजगार व्यवस्थापन सुशासन सम्बन्धी, विप्रेषणलाई उपयोग गर्ने विषय, वैदेशिक रोजगार ३ चरणका सम्बन्धमा रणनीति तयार भएका छन् ।

श्रम रोजगार तथा सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार बोर्डबाट विभिन्न सेवा लिन सकिन्छ । श्रम स्वीकृति व्यक्तिगत र संस्थागत गरी २ किसिमका छन् । श्रम रोजगार तथा सुरक्षा मन्त्रालयबाट श्रम स्वीकृति सेवा लिन सकिन्छ । वैदेशिक रोजगार बोर्डबाट श्रमिकको समस्या सम्बोधन गर्ने लक्ष्यका साथ श्रम मन्त्रालयमा कल सेन्टरको स्थापना गरेको छ। विदेशमा रहेका नेपालीलाई स्वास्थ्य परामर्श सेवा दिँदै आएको छ । वैदेशिक रोजगार बोर्डमा विदेशबाट आएका डिमान्डहरू सार्वजनिक गरी श्रमिकलाई सहजीकरण गर्दै आएको छ। सुरक्षित वैदेशिक रोजगारका लागि अभिमुखीकरण तालिम प्रदान गर्दै आएको छ । नेपालको ७५३ वटै स्थानीय तहमा रोजगार संयोजकको माध्यमबाट कोही विदेशमा मृत्यु भएको खण्डमा शव ठाउँ ठाउँमा पुर्‍याउने व्यवस्था गरेको छ। विदेशमा मृत्यु भएकालाई ७ लाख र घाइते अपाङ्ग भएकालाई नगद २० लाख दिने गरेको पाइन्छ । वैदेशिक रोजगारबाट फर्किएकालाई ८१ वटा स्थानीय तहमा पूर्ण एकीकरण हुने गरी रोजगारी सिर्जना गरेको छ । 

वैदेशिक रोजगारमा जानु पूर्व सुरक्षित रहन अपनाउनु पर्ने सावधानीहरुः 
नेपालीको लागि पहिलो प्राथमिकता विदेश जानु त होइन तर बाध्यता परेको छ । अर्काको देशमा गएर कति नेपाली दाजुभाइहरू अलपत्र, ठगी, अपहरण जस्ता आपराधिक समस्याहरू भोग्नु परेको छ । त्यस कारण विदेश जानु पूर्व यस्ता सावधानीहरू अपनाउनु पर्दछ अनि मात्र विदेशमा सुरक्षित हुन सकिन्छ । रोजगारीमा जानु अघि कामदारको दक्षता विकास गर्नु पर्दछ । प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिका लागि तालिम र सिप विकास गर्नु पर्दछ । तालिम सीपहरू सिकाउनु पर्ने त्यस्तै सम्बन्धित निकायको बिचमा समन्वय हुनु पर्ने आप्रवासन लागत न्यून गर्नु पर्ने, कूटनीतिक नियोगलाई सक्षम गराउनु पर्ने साथै मुख्य गन्तव्य मुलुकहरूमा नियोगको स्थापना गर्नुपर्ने, भिसा पासपोर्टमा आएको समस्याहरू समाधान गर्नुपर्ने, कामदारको सधैँ हितका लागि सुरक्षा र समस्यामा परेका कामदारलाई उद्धार गर्नु पर्ने, महिला कामदारहरूलाई पनि सुरक्षा गर्नुपर्ने, उनीहरूको आधारभूत मानव अधिकारको संरक्षण गर्नु पर्ने, औपचारिक माध्यमबाट प्राप्त विप्रेषण आयलाई उत्पादनमूलक काममा आफ्नो देशमा लगाउनुपर्ने जस्ता विभिन्न चुनौतीहरू रहेका छन् । यसमा हुने सम्पूर्ण चुनौतीहरू सामना गरी समाधान गरी यसलाई नियमित प्रभावकारी विश्वसनीय र भरपर्दो गराउनु पर्दछ । विदेश पठाउने म्यानपावर कम्पनी पनि आधिकारिक छन् वा छैनन् भन्ने बारे बुझेर मात्र रोजगारीमा जान सकिन्छ । कतिपय म्यानपावर इजाजत प्राप्त भए पनि कारबाहीमा परेको वा इजाजत रोक्का भएका म्यानपावरबाट वैदेशिक रोजगार जानु हुँदैन। कुनै म्यानपावर खारेजीमा पनि परेका हुन सक्छन् । यस्ता सामान्य जानकारीहरू युवा युवतीमा हुन जरुरी छ । वैदेशिक रोजगारीमा जानेले आफ्नो पासपोर्टको मिति भिसा लागे नलागेको र श्रम स्वीकृति भए नभएको हेर्नु पर्दछ । पहिलेको श्रम स्वीकृति म्याद नाघेको वा नयाँ देशको कम्पनीमा वैदेशिक रोजगारमा पुनः जाँदा अनिवार्य नवीकरण गराउनु पर्दछ । नयाँ गन्तव्यको प्रवर्द्धन र पेसागत विविधीकरण, कामदारको हित हुने गरी सेवा शुल्क तथा प्रवर्द्धन खर्च तोक्ने, वैदेशिक रोजगार सम्बन्धी दीर्घकालीन नीति सञ्चालनमा ल्याउने, अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धी जनशक्ति निर्माण गर्ने, ठगी बेचबिखन वा असुरक्षित भए तुरुन्तै उजुरी गर्ने, न्यूनतम पारिश्रमिक तोक्ने, सिप तथा व्यावसायिक तालिमका अवसरहरूको विकास एवम् विस्तार गरेमा वैदेशिक रोजगार सुरक्षित रहने अनुमान गरिन्छ । नेपाललाई उन्नत स्तरसम्म पुर्‍याउनलाई वैदेशिक रोजगारीले महत्त्वपूर्ण भूमिका खेल्छ । विदेशमा कोही श्रमिक अलपत्र बन्धकमा राखेको खण्डमा सम्बन्धित निकायहरूमा पीडितको आफन्तले खबर गरी उद्धारका लागि नेपाल सरकारले यसमा गम्भीर ध्यान आकर्षण गराउन जरुरी छ। 

निष्कर्ष:
अन्तमा:
वैदेशिक रोजगारी हामी नेपालीको लागि देशको अर्थतन्त्रमा साथै परिवारजनमा मुख्य आधार बनेको छ । देशमा बेरोजगारीको समस्या लामो समय देखि रहेको छ । यद्यपि सरकारले नीति निर्माण गर्नुको साथै रोजगारीका लागि उचित सीपहरू प्राप्त गर्न सामूहिक प्रयास गर्न आवश्यक छ । देशलाई शान्ति र विकासको दिशामा पुर्‍याउन सुरक्षित वैदेशिक रोजगारको जरुरी छ । देशमा उच्च जनसङ्ख्या वृद्धिदर राजनीतिक अस्थिरता, शान्ति सुरक्षाको अभाव, उद्योग कलकारखानाको कमीले नेपाली विदेश जान बाध्य भएका छन् । हुँदा हुँदै पछिल्लो अवस्थामा आफ्नो ज्यानको बाजी राखी चोरी बाटो अमेरिका जाने प्रवृत्ति पनि निकै बढेको छ । रोजगार सिधा शिक्षासँग जोडिएको छ । यदि एक व्यक्ति रोजगार कमाउन चाहन्छ भने उ शिक्षित हुन आवश्यक छ । उ आफैले काम गर्ने क्षेत्रको ज्ञान हुनुपर्दछ । श्रम बजारमा आउने युवा शक्तिको अनुपातमा स्वदेशमा रोजगारीको अवसरहरू प्राप्त हुन नसकेको अवस्था छ । मुलुकको समृद्धिका लागि जोस, जाँगर र उत्साहले भरिएका युवाको ज्ञान र श्रम शक्तिलाई उपयोग गर्न जरुरी छ । वैदेशिक अर्थतन्त्रलाई सबल बनाउन स्वदेशमा विदेशी मुद्रा आर्जन गर्न दक्ष जनशक्ति उत्पादन गर्न जरुरी छ। विदेशमा जाने कामदारमा अनिवार्य रूपमा बिमा गराउनु पर्दछ । यदि विदेशमा जाने क्रममा ठगी परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्न सकिन्छ । सुरक्षित वैदेशिक रोजगारका लागि दीर्घकालीन नीति जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने सरोकारवाला निकाय सँग समन्वयमा वैदेशिक रोजगारलाई व्यवस्थित गर्न सकियो भने नेपाललाई वैदेशिक रोजगारबाटै आर्थिक सम्पन्न गराउन सकिन्छ ।

नामः सुरज ओली
कक्षा: १२
ठेगाना: सानीभेरी गाउँपालिका १० रुकुम (पश्चिम)
विद्यालयको नाम: शीतल माध्यमिक विद्यालय चौरजहारी २ रुकुम (पश्चिम)

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  ११:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update