मध्यपश्चिम विश्वविद्यालय मुसिकोट खलङ्गा बहुमुखी क्याम्पसका नव नियुक्त प्रमुख डम्बरबहादुर खड्काले पदभार ग्रहण गर्नुभएको छ । आज एक औपचारिक कार्यक्रमका बिच खड्काले आफ्नो पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गर्दै खड्काले क्याम्पसलाई आफ्नो कार्यकालमा थप स्थापित र व्यवस्थित बनाउन लागिपर्ने बताउनुभयो । शैक्षिक गुणस्तर बढाउने गरी समग्र क्याम्पसको व्यवस्थापनका लागि आफ्नो ध्यान केन्द्रित हुने उहाँको भनाई छ ।
हालसम्म आफूले विभिन्न तवरबाट क्याम्पसको समग्र विकासकै लागि काम गरेको बताउँदै उहाँले अब झन् नेतृत्व नै गर्ने अवसर आएकोले सबैलाई मिलाएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । निवर्तमान क्याम्पस प्रमुख बुद्धिप्रसाद गौतमसँग मिलेर उहाँले दिएको जिम्मेवारी कुशलतापूर्वक काम गरेको स्मरण गर्दै अब आफ्नो नेतृत्वमा समकक्षी उपप्राध्यापक तथा अन्य कर्मचारीबाट भरपुर सहयोग पाउने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो ।
निवर्तमान क्याम्पस प्रमुख गौतमको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख लुम्बिनी गौतमको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै उहाँले रुकुमको जेठो क्याम्पस मुसिकोट खलङ्गा बहुमुखी क्याम्पसलाई शैक्षिक रूपमा पनि नेतृत्वदायी स्थानमा उभ्याउन नयाँ क्याम्पस प्रमुख खड्का सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
साथै उहाँले सबैको हातेमालोमा मुसिकोट खलङ्गा बहुमुखी क्याम्पसलाई थप उचाइमा पुर्याउन र अहिले देखिएका समस्याहरूलाई हल गर्नुपर्नेमा उहाँले जाड दिनुभयो । कार्यक्रमका सहभागीहरूले बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए ।
त्यस्तै निवर्तमान क्याम्पस प्रमुख बुद्धिप्रसाद गौतमले नव नियुक्त क्याम्पस प्रमुख खड्कालाई बरबुझारथ समेत गर्नुभएको छ । क्याम्पसको नाममा विभिन्न बैङ्कमा अहिले चार करोड, ९३ लाख ५० हजार ५ सय ५६ रुपैयाँ रहेको कार्यक्रममा जानकारी गराइएको थियो । यसमा २ वटा अक्षयकोष समेत सामेल झन् ।
कार्यक्रममा राजनीतिक दल, पूर्व क्याम्पस प्रमुख, स्ववियुका पदाधिकारी, बैङ्क तथा वित्तीय संस्था, उद्योगी व्यापारी, पत्रकार, क्याम्पसका पूर्ण तथा आंशिक उपप्राध्यापक तथा कर्मचारी, विभिन्न विद्यालयका प्रअ, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन पूर्व क्याम्पस प्रमुख तथा उपप्राध्यापक मुकुन्दप्रसाद शर्माले गर्नुभएको थियो । यस्तै पूर्ण तथा आंशिक प्राध्यापक तथा कर्मचारीहरूलाई सम्मान समेत गरिएको थियो ।।





-1759842583.jpg)