Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा जनार्दनको अभावमा क्षति पुग्न नदिने रणनीति 

नेपाली कम्युनिस्ट पार्टी साबिक माओवादीले रुकुम पश्चिममा पालिका स्तरीय भेला सञ्चालन गरिरहेको छ । नेकपा एकीकृत समाजवादी लगायतका दलसँग भएको एकता राष्ट्रिय सम्मेलनको भाव सम्प्रेषण गर्ने उद्देश्यले पालिका स्तरमा भेला चलिरहेको नेकपा साबिक (माओवादी केन्द्र)का जिल्ला संयोजक गोविन्द रोकाले जानकारी दिनुभयो । 

तल्लो तहसम्म एकताको भाव सम्प्रेषण गर्ने नै उद्देश्य रहेको उहाँले बताउनुभयो । एकतामा असन्तुष्टि जनाउँदै जनार्दन शर्माले प्रगतिशील राष्ट्रिय अभियान घोषणा गरेपछि त्यस बारेमा समेत छलफल चलिरहेको बताइएको छ । हालसम्म जिल्लामा जनार्दनले नै नेतृत्व गरिरहेकामा उहाँले छुट्टै अभियान थालेपछि अब कसरी अघि बढ्ने भन्नेमा पनि छलफल चलिरहेको छलफलमा सहभागी नेताहरू बताउँछन् । 

जिल्लालाई एकताबद्ध बनाइ राख्ने र जुन विरासत छ त्यसलाई जोगाई राख्न नेताहरू लागि परेका छन् । बाँफिकोटबाट सुरु भएकामा आज चौरजहारीमा कार्यकर्ता भेटघाट तथा भेला भएको संयोजक रोकाले जानकारी दिनुभयो । भोली सानीभेरी, पर्सी त्रिवेणी र त्यसपछि मुसिकोटमा कार्यक्रम हुने उहाँको भनाई छ । 

जनार्दनले पार्टी छाडेको भन्दै प्रचण्डलाई साथ दिएका र अहिलेको एकताको पक्षमा रहेका नेताहरू जनता तथा कार्यकर्तालाई टाढा जान नदिने योजनामा छन् । अहिलेसम्मको कार्यक्रमबाट जिल्लामा खासै असर नपरेको नेताहरू बताउँछन् । प्रभाकरले छाडे पनि जिल्लामा उहाँको पक्षमा ठुलो शक्ति नरहेको प्रचण्ड पक्षका नेताहरूको दाबी छ । 

उता प्रभाकरको पहलमा बनेको प्रगतिशील राष्ट्रिय अभियानले पनि जिल्लामा भेटघाट, छलफल तथा भेलालाई जोड दिन थालेको छ । अभियानको जिल्लामा आफूले नेतृत्व गरेको घोषणा सहित गोरखबहादुर केसी सन्देशले सबै जिल्लावासीलाई अभियानमा गोलबद्ध हुन आह्वान गरिसक्नुभएको छ । 

यो अभियान पनि पालिका केन्द्रित भएको छ । अभियानले आज आठबिसकोट नगरपालिकामा भेला गरेको छ । प्रगतिशील अभियानले पनि जिल्ला व्यापी छलफल तथा भेटघाट गर्ने संयोजक केसीले बताउनुभयो ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०८२  १७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update