Kakhara सबैको खबर सम्पूर्ण खबर
सानीभेरी गाउँपालिकाको सातौँ राष्ट्रपति रनिङ शिल्ड सुरु
फाेटाे: नारायण ओली ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड सुरु भएको छ । प्रमुख अतिथि सानीभेरी गाउँपालिका अध्यक्ष विर्खबहादुर विष्टले मसाल बालेर शिल्डको उद्घाटन गर्नुभएको हो । वडा नम्बर ३ को बेलटापु खेल मैदानमा सुरु भएको शिल्ड कार्तिक २५ गतेसम्म जारी रहने छ । 

‎गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड व्यवस्थापन तथा निर्देशक समितिको कार्तिक २० गतेको निर्णय अनुसार आज देखि शिल्ड सुरु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक बुढाथोकीले जानकारी दिनुभयो । 

‎शिल्डमा पालिकाका माध्यमिक विद्यालयहरूको सहभागिता रहेको छ । शिल्डमा दौड, उफ्रने र फ्याँक्ने, भलिबल, तेक्वान्दो र एकल पुम्सेमा प्रतिस्पर्धा हुने छ । छात्र, छात्रा भलिबल, छात्र, छात्रा  १ सय मिटर, २ सय मिटर, ४ सय मिटर, ८ सय मिटर, १५ सय मिटर र ३ हजार दौड मिटर तथा विभिन्न दुरीको रिले दौडमा विद्यार्थीहरूले प्रतिस्पर्धा गर्ने छन् । 

‎त्यस्तै छात्र, छात्रा हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटफुट, तेक्वान्दो र एकल पुम्सेमा पनि प्रतिस्पर्धा गर्ने छन् । गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा अधिकृत तिलक केसीले सञ्चालन गरेको उद्घाटन कार्यक्रमको अध्यक्षयता सामाजिक विकास संयोजक शेरबहादुर खड्काले गर्नुभएको थियो । 

कार्यक्रममा गाउँपालिका अध्यक्ष विर्खबहादुर विष्टको प्रमुख र प्रमुख प्रशासकीय अधिकृत दीपक बुढाथोकीको विशेष तथा गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख भुपालसिंह विष्ट, वडाध्यक्षहरु, प्रअ, शिक्षक तथा विद्यार्थीहरूको पनि उपस्थिति रहेको थियो ।

यो शैक्षिक सत्रमा राष्ट्रपति रनिङ शिल्ड आयोजना गर्ने सानीभेरी जिल्लाको पहिलो स्थानीय तह बनेको छ । चौरजहारी नगरपालिकाले मङ्सिर ४ गतेदेखि शिल्ड गर्ने गरी मिति तोकिसकेको छ भने अन्य चार पालिकाले भने शिल्ड आयोजना गरिसकेका छैनन् ।

प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०८२  २०:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update