मध्य पहाडी लाेकमार्ग अन्तर्गत रुकुम पश्चिमको साँख देखि किटिनी सम्मको खण्ड मंसिर ७ गतेसम्म बन्द हुने भएको छ । यसअघि कार्तिक २ गते प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीको अध्यक्षतामा बसेको बैठकले कार्तिक १२ गते देखि ३० गतेसम्म बन्द गर्ने निर्णय गरेको थियो ।
स्तराेन्नतिकाे काम गर्नु पर्ने भयकोले छिटो काम सक्न सडक पूर्ण रूपमा बन्द गरेर काम गर्ने निर्णय भएको थियो । वर्षाका कारण काममा ढिलाइ भएपछि निर्माण कम्पनीको आग्रहमा समय थप गरिएको प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीले जानकारी दिनुभयो ।
उहाँको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले मंसिर १ गतेबाट ७ गतेसम्म समय थप गरेको हो । यो खण्ड अब अझै मंसिर ७ गतेसम्म पूर्ण रूपमा बन्द हुने छ । रुकुम पूर्वकाे सिस्ने ६ रानीकाेट देखि रुकुम पश्चिमको किटिनी खण्डमा पनि सडक बन्द गरेर काम भइरहेको छ । अहिले वैकल्पिक मार्ग प्रयोग भइरहेका छन् ।
रुकुम पश्चिमको मुसिकोट देखि रुकुम पूर्वके रुकुमकोटसम्मका लागि साना सवारी साधनले खलङ्गा–राउखेत–छिङ–नाथिगाड–धाउन्ने खण्ड प्रयोग गरिरहेका छन् । त्यस्तै ठुला सवारी साधनले खलङ्गा-छिनखेत-पिपल-पाेखरा खण्ड प्रयोग गरिरहेका छन् ।
रुकुम पश्चिम र पूर्वमा पर्ने मध्य पहाडी लोक मार्गको अधिकांश खण्ड कालोपत्रे भइसक्दा पनि रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ८ को किटिनी देखि रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ६ को किटिनीसम्मको खण्ड भने स्तरोन्नति हुन सकेको छैन ।
जसका कारण जोखिम माेलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । अन्य ठाउँमा डबल कटिङको काम समेत लगभग सकिएको अवस्थामा किटिनीको भिरमा कटानकै काम बाँकी रहेको थियो । चट्टानै चट्टान रहेको उक्त ठाउँमा कटिङको लागि जोखिम रहेको थियो । जसका कारण उक्त ठाउँमा साँघुरो बाटोमा उच्च जोखिम मोलेर सवारी साधन आउजाउ गरिरहेका थिए ।





-1759842583.jpg)