नेपाली कम्युनिस्ट पार्टी साबिक नेकपा माओवादी केन्द्रका रुकुम पश्चिम मुसिकोट नगर समितिका उपाध्यक्ष धनबहादुर खड्का वसन्तले पार्टीको छाप र लेटर प्याड दुरुपयोग भएको बताउनुभएको छ । अध्यक्ष दलबहादुर खड्काले सिङ्गो नगर समिति जनार्दन पक्षमा रहेको विज्ञप्ति जारी गरेपछि खड्काले बैठक नै नगरी छाप र लेटर प्याड दुरुपयोग गरेको बताउनुभएको हो ।
अध्यक्ष खड्काको नाममा आज जारी गरिएको प्रेस विज्ञप्तिको सम्बन्धमा ध्यानाकर्षण भएको उपाध्यक्ष खड्काले बताउनुभएको छ ।
मुसिकोट नगर समिति अध्यक्षले पार्टीको लेटर प्याड र छापको दुरुपयोग गरी मुसिकोटको सिङ्गो नगर कमिटी पार्टी एकता प्रक्रियामा नगएको भनेर झुटको खेती गर्नुभएको छ । नगर समितिको बैठक नै नबसी अध्यक्षले मात्र सुटुक्क विज्ञप्ति लेखेर सिङ्गो नगर समितिको हवाला दिँदै पार्टीको नीति र निर्णयका विरुद्ध गरिएको गतिविधिको भ्रममा नपर्नुहुन सम्पूर्ण पार्टी पंक्ति र आम जनसमुदायमा हार्दिक अपिल गर्दछु, उपाध्यक्ष खड्काले बताउनुभएको छ ।
अहिलेको विषम परिस्थितिको सन्दर्भमा हामी नगर समितिको बैठक बसेर उक्त बैठकको निर्णय अनुसार आधिकारिक धारणा सार्वजनिक गर्ने उहाँले स्पष्ट पार्नुभएको छ ।
यो पनि पढ्नुहोस

साथै पार्टीको स्थापित विधि पद्धति विपरीत व्यक्तिगत रूपमा गरिएका कुनै पनि क्रियाकलापमा संलग्न नहुन समेत अध्यक्षसहित सम्बन्धित सबैलाई खड्काले अनुरोध गर्नुभएको छ । उपाध्यक्ष खड्का पार्टी एकताका पक्षमा हुनुहुन्छ ।






-1759842583.jpg)