नेकपा माओवादी केन्द्र रुकुम पश्चिम मुसिकोट जनार्दन शर्मा प्रभाकरको पक्षमा खुलेको छ । नगर अध्यक्ष दलबहादुर खड्काले एक विज्ञप्ति जारी गर्दै पार्टी जनार्दनको पक्षमा रहेको जानकारी गराउनुभएको छ ।
पार्टी पदाधिकारीको बहुमत प्रचण्डको पार्टीमा नरही जनार्दनको साथमा रहेको बताइएको छ । पार्टीभित्र रहेका विभिन्न काण्डहरूको छानबिन, नेताहरूको सम्पत्ति सुद्धिकरण, आन्तरिक पार्टी रूपान्तरण, सुशासन प्रवर्द्धन, युवा सहभागिता, नियमित महाधिवेशन जस्ता अत्यावश्यक वर्तमान मनोविज्ञानमा आधारित विषयहरूलाई प्रवाह नगरी वर्षौँ असफल भएर डम्पीङ साइडमा थन्क्याइएका कतिपय पार्टी र नेताहरूसँग बृहत् वाम एकताका नाममा रचिएको नाटकलाई हामी स्वीकार गर्न तयार छैनौँ, विज्ञप्तिमा भनिएको छ ।
अध्यक्ष खड्काले प्रचण्डको एकतालाई थोत्रा बसका ड्राइभरसंगकाे साथको संज्ञा दिनुभएको छ । विज्ञप्तिमा भनिएको छ, `भ्रष्टाचारमा छानबिन भइरहेका, विगतमा देशलाई असफल राष्ट्र बनाउन योगदान गरेका थोत्रा बसका ड्राइभरहरू सँगको एकता र प्रचण्ड आफै पनि माओवादी विचार र दृष्टिकोणलाई पूर्ण रूपले विसर्जन गरी नाम मात्रको कम्युनिस्ट पार्टी निर्माणको नाटक नेपाली जनताको लागि एक दुखद क्षण प्रमाणित भएर जाने छ ।´
हाललाई प्रगतिशील राष्ट्रिय अभियानमा जोडिएर विकृति, अनियमितता र भ्रष्टाचारका विरुद्धमा आवाज बुलन्द गर्ने खड्काले बताउनुभएको छ । नगर समिति अध्यक्ष खड्काले पदाधिकारी बैठकबाट आफू सहित उपाध्यक्ष दीपक के.सी., उपाध्यक्ष चम्पा परियार, सचिव नारायण के.सी., सह-सचिव चन्द्रबहादुर के.सी. सहित सिङ्गो कमिटी यो नाटकीय एकता प्रक्रियामा नजाने निर्णय गरेको उहाँले बताउनुभयो ।
नगर उपाध्यक्ष धनबहादुर खड्का वसन्त प्रचण्डले गरेको एकताको पक्षमा खुल्नु भएको छ । कोषाध्यक्ष कमला पुन भने खुल्नु भएको छैन । साथै खड्काले नेकपा माओवादी केन्द्र सँग आबद्ध रहेका, सङ्गठित भएका सबै नेता कार्यकर्तालाई एकताको नाटकमा सहभागी नहुन समेत अपिल गर्नुभयो । यो पालिका जनार्दन शर्मा प्रभाकरको गृह पालिका हो । आठबिसकाेट नगर कमिटी अध्यक्ष मणिराज बटाला पनि जनार्दनको पक्षमा खुलिसक्नुभएको छ ।
नेकपा एकीकृत समाजवादी लगायतका दलसँग एकता गरेपछि असन्तुष्ट हुँदै जनार्दन शर्माले प्रगतिशील राष्ट्रिय अभियान घोषणा गर्नुभएको छ । यसको सबैभन्दा बढी तरङ्ग रुकुम पश्चिममा छ । नेताहरू प्रचण्ड र प्रभाकरका पक्ष विपक्षमा उभिएका छन् ।
यस्तो छ विज्ञप्ति
विषय : प्रेस विज्ञप्ति ।
बदलिएको परिस्थितिमा आन्तरिक पार्टीलाई रूपान्तरण गरी एकताबद्ध गराउनुपर्ने थियो । ४० औँ वर्ष सम्म पार्टीमा नेतृत्व परिवर्तन नहुने, २० औँ वर्ष सम्म एउटै व्यक्ति पार्टी र राज्य सत्तामा बसिरहने, विधिवत् अधिवेशन नगरी बहानाबाजीका अधिवेशनहरू गर्ने, राज्यसत्तामा गएकाले राज्य शक्तिको चरम दुरुपयोग गर्दा पनि नेतृत्वले कारबाही नगरी प्रोत्साहन गरिरहने जस्ता पार्टीमा गम्भीर समस्याहरू देखिएपछि उप महासचिव जनार्दन शर्मा प्रभाकरले केन्द्रीय समितिमा फरक मत पेस गरेको र नेकपा माओवादी केन्द्रलाई रूपान्तरण, पुन गठन र विधिसम्मत सञ्चालन गर्न प्रस्ताव गरेको कुरा विदितै छ । पछिल्लो बदलिएको परिस्थिति, युवा मनोभावना एवं जेन्जी आन्दोलनको मर्म अनुसार यो विषय अझ सशक्त भएको छ। राज्य शक्ति सञ्चालन गर्ने पार्टी र तिनका नेताहरू विलासितापूर्ण जीवनशैली, सङ्गठन भित्र विधिविपरित भएका गतिविधिहरू, राज्य शक्तिको चरम दुरुपयोग गर्दै भ्रष्टाचार, अनियमितताको विकास सँगै युवा मनोविज्ञान विरोधी गतिविधिको विकास भएपछि जेन्जी आन्दोलन उत्कर्षमा पुगेको विदितै छ । पार्टीभित्र रहेका विभिन्न काण्डहरूको छानबिन, नेताहरूको सम्पत्ति सुद्धिकरण, आन्तरिक पार्टी रूपान्तरण, सुशासन प्रवर्द्धन, युवा सहभागिता, नियमित महाधिवेशन जस्ता अत्यावश्यक वर्तमान मनोविज्ञानमा आधारित विषयहरूलाई प्रवाह नगरी वर्षाैं असफल भएर डम्पीङ साइडमा थन्क्याइएका कतिपय पार्टी र नेताहरूसँग बृहत् वाम एकताका नाममा रचिएको नाटकलाई हामी स्वीकार गर्न तयार छैनौँ । भ्रष्टाचारमा छानबिन भइरहेका, विगतमा देशलाई असफल राष्ट्र बनाउन योगदान गरेका थोत्रा बसका ड्राइभरहरू सँगको एकता र प्रचण्ड आफै पनि माओवादी विचार र दृष्टिकोणलाई पूर्ण रूपले विसर्जन गरी नाम मात्रको कम्युनिस्ट पार्टी निर्माणको नाटक नेपाली जनताको लागि एक दुखद क्षण प्रमाणित भएर जाने छ ।
आफू बसेको झुपडी नै आगो लगाएर अर्को बहुरङ्गी घरमा सरेपछि महान् जनयुद्ध, जनआन्दोलनलाई आत्मसाथ गरेर नयाँ विचार, नयाँ कार्यभार सहित युवाहरूको अपनत्व हुने गरी हामी नयाँ पार्टी निर्माण हुनुपर्छ भन्ने दृष्टिकोणमा छौँ । अब बन्ने पार्टीले राष्ट्रिय समृद्धिको ढोका खोल्ने छ, भ्रष्टाचार र अनियमितताका विरुद्ध धावा बोल्ने छ । हाललाई प्रगतिशील राष्ट्रिय अभियानमा जोडिएर विकृति, अनियमितता र भ्रष्टाचारका विरुद्धमा आवाज बुलन्द गर्ने छौँ । उपाध्यक्ष दीपक के.सी., उपाध्यक्ष चम्पा परियार, सचिव नारायण के.सी., सह-सचिवचन्द्र बहादुर के.सी. सहित आज बसेको हाम्रो पदाधिकारी बैठकको निर्णय अनुसार हाम्रो सिङ्गो कमिटी यो नाटकीय एकता प्रक्रियामा नजाने निर्णय गरेका छौ र नेकपा माओवादी केन्द्र सँग आबद्ध रहनु भएका, सङ्गठित हुनुभएका सम्पूर्ण कमरेडहरू सबैलाई यो एकताको नाटकमा सहभागी नहुन अपिल गर्दछौँ ।
दलबहादुर खडका
अध्यक्ष




-1759842583.jpg)