Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुमकाे अभिभावक प्रभाकर नै हाे,  अभियानमा गोलबद्ध हुनुहाेस्ः संयाेजक केसी

गोरखबहादुर केसी ‘सन्देश’ जनार्दन शर्माको नेतृत्वमा रहेको प्रगतिशील राष्ट्रिय अभियानको रुकुम पश्चिमको संयोजक बन्नुभएको छ । केसीले जिल्लामा आफ्नो नेतृत्वमा अभियान चलाउने घोषणा गर्नुभएको हो । उहाँले जनार्दन शर्मा रुकुमको अभिभावक भएको र अबका दिनमा पनि राष्ट्रिय रूपमा प्रभाव राख्न सक्ने र जिल्लाको नेतृत्व प्रभाकरबाटै सम्भव रहेको भन्दै आफू अभियानमा सक्रिय भएको बताउनुभएको छ । 

यसैबिच उहाँले प्रगतिशील राष्ट्रिय अभियानमा गोलबद्ध हुन अपिल गर्नुभएको छ । आज एक प्रेस नोट जारी गर्दै उहाँले यो अभियान अन्तर्गत रुकुमका सम्पूर्ण शिक्षक, बुद्धिजीवी, व्यवसायी, जेन–जी युवा, विद्यार्थी एवं विभिन्न तह र तप्काका आम सर्वसाधारणलाई गोलबद्ध हुन आह्वान गर्नुभएको हो । 

साथै उहाँले अबको राजनीतिक भविष्य र जनताको समृद्धिको चाहना प्रगतिशील राष्ट्रिय अभियानले पूरा गर्ने दाबी पनि गर्नुभएको छ । यसअघिको माओवादी हालको नेपाली कम्युनिस्ट पार्टीले रुकुमेली तथा आम नेपाली जनताको भावना र हितको प्रतिनिधित्व गर्न नसक्ने स्पष्ट भइसकेको छ । त्यसैले पुराना दलहरूबाट संरक्षित भ्रष्टाचार, कुशासन र नीतिगत दिशाहीनताको विरोधमा हामीले ‘प्रगतिशील राष्ट्रिय अभियान, रुकुम’ सुरु गरेका छौँ, विज्ञप्तिमा भनिएको छ ।  

रुकुमका अभिभावक जनार्दन शर्मा प्रभाकर वैकल्पिक राजनीतिक शक्ति निर्माणको पक्रियामा अगाडी बढ्दा निरन्तर उहाँको साथ र समर्थनमा जुटेका रुकुमेली युवाहरूको भूमिका विशेष स्मरणीय रहेको र आगामी दिनहरूमा पनि युवाहरूले सक्रिय सहभागीताका साथ नेतृत्व लिने कुरामा समेत अभियान विश्वस्त रहेको बताइएको छ । 

संयोजक केसीले प्रचण्ड नेतृत्वको पार्टीलाई खटारा बसको संज्ञा दिनुभएको छ । ‘क.प्रचण्ड रेल छुट्यो भन्दै हुनुहुन्छ तर यसको अवस्था रेल होइन कि मानिसले चलाउन छोडेको जर्जर बस जस्तो भएर दोबाटोमा उभिएको छ, र पुराना असफल चालकहरूले यसलाई चलाउने तयारी गरिरहेका छन् । खटारा जस्तो यो बस अब चल्न सम्भव छैन । आसन्न निर्वाचन पछि यो कवाडमा जाने निश्चित प्राय छ,’ विज्ञप्तिमा केसीले भन्नुभएको छ ।

त्यस्तै यो यात्रा कठिन अवश्य रहेको तर परिस्थिति अत्यन्त अनुकूल बनेको पनि उल्लेख छ । ‘हालसालै विस्फोट भएको विद्रोही जनभावना नेतृत्वविहीन देखिँदै छ । र यसले नयाँ वैकल्पिक राजनीतिक शक्ति निर्माणको व्यग्र प्रतीक्षा गरिरहेको छ विज्ञप्तिमा भनिएको छ-जनताको परिवर्तनशील भावनाको नेतृत्व गर्न सक्ने सबल पार्टी निर्माणको लागि प्रगतिशील राष्ट्रिय अभियानमा सरिक हुन सबैमा हार्दिक अपिल गर्दछौँ ।’

नेकपा एकीकृत समाजवादी लगायतका दलहरूसँग नेकपा माओवादी केन्द्रले एकता गरेपछि माओवादी केन्द्रका प्रभावशाली नेता तथा तत्कालीन उपमहासचिव जनार्दन शर्मा प्रभाकरले एकता प्रक्रिया असन्तुष्टि जनाउँदै एकतामा नगई प्रगतिशील राष्ट्रिय अभियान घोषणा गर्नुभएको छ । जसको प्रभाव रुकुममा बढी परेको छ । अहिले एकता पछि बनेको नेकपा र अभियानले छुट्टा छुट्टै गतिविधि गरिरहेको छन् ।

Note-1762948342.jpg
 

प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०८२  १७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update