Kakhara सबैको खबर सम्पूर्ण खबर
सरकारकाे निर्देशनमा भएकाे थियाे मेलगैरी हत्याकाण्ड: मानव अधिकार आयाेग

तत्कालीन नेकपा माओवादीले २०५२ साल फागुन १ गतेबाट देशभर सुरु गरेकाे जनयुद्धलाई नियन्त्रण गर्ने नाममा प्रहरी कारबाहीले धेरै जनाकाे हत्या भएकाे गुनासापछि मानवअधिकार आयाेगकले २०५२ फागुन अन्तिम देखि  चैत पहिलाे सातासम्म रुकुम पश्चिम र जाजरकाेटका विभिन्न ठाउँमा अनुगमन गरेकाे थियाे । उक्त टाेली जनयुद्ध सुरु भएपछि राज्यपक्षबाट भएकाे पहिलाे ठुलाे मेलगैरी हत्याकाण्डका बारेमा बुझ्न पनि पुगेकाे थियाे । उक्त हत्या काण्डलाई मानव अधिकार आयाेगले यसरी उल्लेख गरेकाे थियाे । 

फागुन १३ गते नरजीत माथिको हमलापछि १४ गते सो सम्बन्धी जाहेरी गर्न आएका नेपाली काँग्रेस समर्थक मानिसहरूले सो सम्बन्धी जाहेरी दिँदै नरजीतलाई ३०० जति माओवादीले घेराउ गरी उपचार गर्न ल्याउन नदिएको कुरा प्रहरी समक्ष राखे । त्यस अवस्थामा उद्योग सहायक मन्त्री गोपालजीजंग शाह पनि सदरमुकाममै भएकाले सहायक मन्त्री र प्रहरी नायब उपरीक्षकसित गाउँलेहरूले गोलीगठ्ठा सहितको प्रहरीबल माग गरे । (गोली हान्ने आदेश यसैबेला प्रहरीलाई प्र.ना.उ. को उपस्थितिमा सहायक मन्त्रीले दिएका थिए भन्ने एक जानकारी पनि टोलीले पाएको थियो ।) तर नरजीतमाथि हमला भएपछि गरेको भनिएको घेराउको कुनै पुष्टि टोलीले पाउन सकेन ।

यही जाहेरीका आधारमा तत्काल एउटा टोली घटनास्थलतर्फ गयो । फागुन १४ गते प्रहरीको टोली सर्वप्रथम गाउँमा पस्यो । गाउँमा स्थानीय ने.का. समर्थकहरूले जनमोर्चा समर्थकहरू सेतु जैसीका घरमा छन् भनी प्रहरीलाई सुराक दिएका थिए ।

यसपछि पीपल गाविस ३ नम्बर वडाका सेतु जैसीका घरमा प्रहरी गयो । उनलाई नरजीत काट्ने मानिस देखाइदिन कर ग¥यो । यसरी सेतुलाई बलजफती गर्दा पनि सेतुले सो जानकारी दिन सकेनन् । यसपछि उनलाई लेकको उनको घर देखाउनलाई प्रहरीले कुटपिट ग¥यो । कुटाइ खाएर बाध्य भई सेतु प्रहरीलाई घर देखाउन लेक मेलगैरी गए ।

फागुन १५ गतेको बिहान ५ बजे (उज्यालो नहुँदै) का समयमा यसरी प्रहरी मेलगैरी पुग्यो । मेलगैरीमा सेतुको घरमा त्यसबेला नरजीतको घटनामा प्रहरीले पक्राउ गर्न सक्ने डरले भागेका जनमोर्चा समर्थक सामान्य युवकहरू, केही माओवादी कार्यकर्ताहरू र सेतुकी श्रीमती गरी जम्मा १८ जना मानिसहरू थिए । सेतुकी श्रीमती सशीला जैसी भैँसीको रेखदेख गर्न लेक बसेकी थिइन । 

सो घरमा प्रहरी पुगेपछि प्रहरीले सबैभन्दा पहिले सिटी बजायो । सिटी बजेको सुनेपछि घरको पश्चिम दक्षिणमा रहेको झ्याल खोलेर युवकहरू भाग्ने प्रयास गरे । तर प्रहरीले झ्यालैमा तीन फायर गोली प्रहार गरेपछि घरभित्र खैलाबैला भयो । झ्यालमा हानेको गोली भागीराम केसीको हातमा र बुद्धि केसीको पीठ (कन्डो) मा लाग्यो । गोली लागेपछि उनीहरू ज्यानको माया मारेर झ्यालबाट हामफाले र पश्चिम तर्फ भागे । प्रहरीले उनीहरू भागेतिर फेरि गोली चलायो तर उनीहरूलाई गोली लागेन । उनीहरू तत्काल भागेर कहाँ गए प्रहरीले पत्तो लगाउन सकेन ।

Khatribandhu1708995532.jpg
प्रहरीबाट हत्या गरिएकाहरु ।

घरभित्र रहेका मानिसहरू अत्तालिइसकेका थिए । यसैबिच घरको धुरी उधारेर बुद्धि के.सी. र नरेन्द्र के.सी. त्यहाँबाट भागे । यस समयसम्ममा प्रहरीदलका १८ जना प्रहरीहरू सो ठाउँमा जम्मा भैसकेका थिए । अनि प्रहरी घरको मूल ढोका खोलेर भित्र पसे । भित्र पसेपछि उनीहरूले एक्कासि गोली चलाउन थाले । प्रहरीको गोली लागेर पीपल ६ का २४ वर्षीय पशुपति केसी, २५ वर्षीय लालबहादुर केसी र पीपल ३ का २५ वर्षीय दलबहादुर केसीको तत्काल घरभित्रै मृत्यु भयो । अन्य सबै मानिसहरू सन्त्रस्त भए । सोही अवस्थामा पीपल ६ का २५ वर्षीय कलबहादुर केसी, पीपल–३ का २५ वर्षीय मनबहादुर केसी, पीपल–६ का १५ वर्षीय खड्गबहादुर केसीलाई प्रहरीहरूले समाती घरबाहिर आँगनमा ल्याए । उनीहरूलाई प्रहरीहरूले लट्ठीले कठोर ढंगले पिटे । यसरी पिटाइ खानु परेपछि खड्गबहादुर भाग्न खोजे । प्रहरीको गोलीबाट उनी त्यही अवस्थामा मारिए ।

मानबहादुर केसी र कलबहादुर लाई मरणासन्न हुने गरी कुटपिट गर्दै गरेको अवस्थामा नरजीतका भतिजाले काका काट्ने यिनै हुन् भन्ने कुरा व्यक्त गरे । यसपछि प्रहरीले उनीहरूलाई पनि आँगनमै गोली प्रहार ग¥यो । गोली लागेर उनीहरू पनि मारिए ।

यो घटना हुँदा नेपाली काँग्रेस समर्थकहरू पनि घटनास्थलमा पुगेका थिए । उनीहरूको सङ्ख्या करिब ५० जना थियो भन्ने जानकारी पनि टोलीले पायो ।

यस घटनामा प्रहरीले गोली चलाउनु पूर्व, चेतावनी दिने, आत्मसमर्पण गर्न चेतावनी दिई लाठीचार्ज गर्ने, हवाई फायर गर्ने जस्ता कामहरू गरेन । घटनामा संलग्न प्रहरीका अनुसार माओवादी कार्यकर्ताहरूले प्रहरीमाथि भरुवा बन्दुकको एक गोली चलाएको थिए । तर गोली भने पड्किएन । सोबाहेक प्रहरीमाथि थप बलजफती गरेको कुनै तथ्य देखा परेन ।

गोली प्रहार गर्दा मृतकहरू सबैको टाउको अथवा छातीमा गोली लागेको थियो । छ जनामध्ये दुई जनाको चाहिँ खुट्टा र फिलामा समेत गोली लागेको थियो ।

MelGairi Hatya1708997216.jpg
मेलगैरी हत्या काण्ड भएकाे घर । हाल याे घरलाई संरक्षण गरेर राखिएकाे छ ।

महिला पुरुष गरी घरमा रहेका १८ जनामध्ये यसरी मारिएका ६ जना र भागेका चार जनाबाहेकका अन्य मानिसहरूलाई सो दिनभर सोही घर नजिकको घरमा राखियो । महिला र पुरुषलाई घाँसले छेकेर घरको भोङ (तल्लो तला) मा राखिएको थियो । दिउँसो भएपछि केही प्रहरी लाम रुङ्न बसे भने केही उनीहरूको पहरा गर्न थाले । पक्राउ परेका पुरुषहरू निदाएका थिए र यही बेला दुई जना प्रहरीले महिलाहरूलाई लुगा खोलेर नाङ्गो हुन लगाए । यसपछि तिनीहरूमध्ये तीन जनालाई उनीहरूले पशुवत् रूपमा दुर्व्यवहार गरे । त्यो कुरा प्रकाशमा ल्याएमा उनीहरूलाई मार्ने धम्की दिइयो ।

सोही दिन दिउँसोको उत्तरार्धमा लास र पक्राउ भएका मानिसहरूलाई पीपल जिपू स्कुलमा ल्याएर राखियो । बेलुकी त्यहाँबाट हिँडाएर सदरमुकाममा राती पुर्याइयाे । सदरमुकाम ल्याएपछि लास जाँच गर्न अस्पताल लगियो र पक्राउ परेका मानिसहरूलाई हिरासतमा लिइयो । पक्राउ परेका मध्येका महिलाहरूलाई १९ गते छाडियो । अन्य पुरुष व्यक्तिहरू यो टोली रुकुममा रहँदासम्म हिरासतमै थिए ।

मानव अधिकार आयाेगकाे यातना नामक किताबबाट‍‍‍‍‍........

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  ०६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update