
रुकुम उद्योग वाणिज्य सङ्घ रुकुम पश्चिमले समाजवादी मोर्चा नेपालले पितिवाङ पुल निर्माण सुरु गर्न माग गर्दै थालेको दबाब कार्यक्रममा समर्थन जनाएको छ । अध्यक्ष पलबहादुर खड्का र महासचिव अनिल बुढाले आज एक विज्ञप्ति जारी गर्दै मोर्चाको आन्दोलनमा समर्थन रहेको बताउनुभएको हो ।
पुल निर्माण अलपत्र पर्दा उद्योग व्यवसायी सहित जिल्लावासीले सास्ती पाइरहेको भन्दै सङ्घले सम्बन्धित निकायलाई पुल निर्माणमा चासो दिन ध्यानाकर्षण समेत गराएको छ । लामो समयसम्म पनि पुल निर्माण हुन नसक्नुले सरोकारवाला निकायलाई गिज्याइरहेको सङ्घले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सुशासन र जनताका साझा एजेन्डामा सञ्चालन हुने वैधानिक सङ्घर्ष र मोर्चाको पहलकदमी प्रति रुकुमेली उद्योगी, व्यापारीको तर्फबाट ऐक्यबद्धता रहेको छ, विज्ञप्तिमा भनिएको छ ।
राप्ति लोक मार्ग अन्तरगत रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नं. ११ र १२ स्थित पितिवाङ्ग खोलामा २०७८ वैशाख ७ गतेसम्म पुल निर्माण गर्ने गरी संरक्षण निर्माण सेवा प्रालि चितवन र डिभिजन सडक कार्यालय चौरजहारीबिच २०७६ असार ८ गते कार्य सम्झौता भएको थियो ।
मूल्य अभिवृद्धि कर बाहेक ४ करोड १२ लाख ३९ हजार ३७५ निर्माण लागत रहेको उक्त पुल ४ वर्षदेखि अलपत्र अवस्थामा छोडिएको छ । पुल नबन्दा पैदल यात्रुहरू, यात्रुवाहक सवारी साधनहरू, उद्योगी व्यवसायीका मालवाहक गाडी, बिरामी बोकेका एम्बुलेन्सले सास्ती पाइरहेका छन् ।