Kakhara सबैको खबर सम्पूर्ण खबर
कृत्रिम ताल बनाउन ६५ लाखमा बनेको नहर भत्काएर सडक बनाइँदै  
घट्टेखाेला हुँदै निर्माण हुन लागेकाे नयाँ सडक ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ र २ लाई जोड्ने झोलुङ्गे पुलमुनि रहेको पहाड कटान गर्न थालिएको छ । पुल मुनि कृत्रिम ताल बनाउने भन्दै सिँचाई नहर भत्काएर पहाड कटान गर्न थालिएको हो । पातुखाेला-पशुपति मावि रातामाटा सडक खण्ड अन्तर्गत पातुखाेलाबाट पुल मुनि हुँदै मुसिकोट २ को बरेली बजार जोड्ने सडकको विकल्पमा पहाड कटान गरेर सडक निर्माण गर्न लागिएको हो । सो सडकमा वर्षायाममा खोला आउने हुँदा आवतजावतमा समस्या हुने भएकाले पुरानो सडकलाई बन्द गरेर सहज र छोटो हुने भएकाले पहाड कटान गरेर नयाँ ट्र्याक खोल्न लागिएको मुसिकोट नगर प्रमुख महेन्द्र केसीले जानकारी दिनुभयो । साथै उक्त ठाउँमा ड्याम बाँधेर कृत्रिम ताल बनाउनका लागि पनि यो सडकको विकल्प खोजिएको बताइएको छ ।

नयाँ ट्र्याक खोलिरहेको ठाउँमा निर्माण गरिएको घट्टेखोला खालीगैरा सिँचाइ आयोजनाको नहर सडककै लागि भत्काएको छ । पहाड कटान गर्दा नहर भत्किए पनि कटानको काम सकिए लगतै सिँचाई नहर पनि निर्माण हुने नगर प्रमुख केसीले बताउनुभयो । कडा चट्टान भएकाले सडक जोडिन भने अर्को वर्ष लाग्ने उहाँको भनाई छ । यस आर्थिक वर्षको असार २० सम्म करिब ७० प्रतिशत पहाड कटानको काम सकिने अनुमान गरिएको छ । उहाँका अनुसार किसानलाई यो समयमा पानीको समस्या धेरै नहुने भएकाले पहाड कटानको काम सकिने बित्तिकै सिँचाई नहर निर्माण हुने छ ।

सडक स्टामेटमै नहर निर्माण पनि रहेकाले समस्या नहुने उहाँ बताउनुहुन्छ । सडक कटानको काम दुवै तिरबाट थालिएको छ । पहाड कटानको काम दुई निर्माण व्यवसायीहरूले गरिरहेका छन् । खोलाको मुहानतर्फ सङ्घीय आयोजना कार्यान्वयन इकाई सुर्खेत र पश्चिम गाउँतर्फको भागबाट पूर्वाधार विकास कार्यालय चौरजहारी रुकुम पश्चिम मार्फत काम भइरहेको छ । यसमा एकातर्फ ५० लाख र अर्कोतर्फ ७० लाख गरेर जम्मा १ करोड २० लाख बजेट रहेको नगर प्रमुख केसीले जानकारी दिनुभयो । यस वर्ष करिब सडक कटानको काम ७० प्रतिशत सकियो भने बाँकी ३० प्रतिशत अर्को वर्ष सम्पन्न गर्ने लक्ष राखिएको छ । 

खानेपानीको पाइप व्यवस्थापन गर्न साढे ५ लाख बजेट 
सडक निर्माण गर्दा नजिकै खोलामा रहेको खानेपानीको ट्याङ्की लगायत खानेपानीको पाइप लाइनमा क्षतिलाई व्यवस्थापन गर्न नगरपालिकाले साढे ५ लाख बजेट विनियोजन गरेको छ । यसबाट खानेपानी पाइपमा क्षति गरेमा पाइप खरिद र ट्याङ्कीमा क्षति पुर्‍याएको खण्डमा ट्याङ्की निर्माणको काम गरिने छ । सडक कटान गर्दा खानेपानीमा समस्या नहाेस भनेर नगरपालिकाले बजेट छुट्टाएको नगरपालिकाले बताएको छ । सिँचाई नहरको क्षति सम्बन्धमा भने स्टामेटमै सडक छेउमै नहर भएकाले पहाड कटान सकिए लगतै निर्माण गरिने नगर प्रमुख केसीले स्पष्ट पार्नुभयो । 

कृत्रिम ताल निर्माण गर्न डिपिआर 
सडक निर्माणको काम सम्पन्न भएपछि पहिलेको सडक बन्द गर्ने र खोलामा बाँध निर्माण गरी कृत्रिम ताल निर्माणको प्रक्रिया अगाडी बढाउने नगरपालिकाको योजना छ । उक्त स्थानमा कृत्रिम ताल बनाउन डिपिआरको काम भइरहेको नगर प्रमुख केसीले जानकारी दिनुभयो । कृत्रिम ताल बनाउनुको मुख्य उद्देश्य आन्तरिक तथा बाह्य पर्यटकलाई भित्राउने र जिल्लाको थप प्रचार प्रसार गर्नु रहेको छ । सडक निर्माणको काम सम्पन्न भए लगत्तै कृत्रिम ताल निर्माणको प्रक्रिया अगाडी बढाइने बताइएको छ । यसलाई धेरैले महत्त्वाकाङ्क्षी योजना मात्र भनेका छन् । यहाँ बाँध बाँधेर ताल बनाउन सम्भव नभएको तर नगरपालिकाले सस्तो लोकप्रियताका लागि अनुत्पादक योजनामा लगानी गर्न लागेको उनीहरूको भनाई छ । जोखिमका हिसाबले पनि यहाँ ताल बनाउन उपयुक्त नभएको र कुनै पनि हालतमा यो सम्भव नरहेको जानकारहरू बताउँछन् । तर नगरपालिकाले भने पर्यटन प्रवर्द्धनका लागि भन्दै ताल बनाइछाड्ने दाबी गरेको छ । माथि पुल र मुनि ताल भएपछि यसले मुसिकोटको सुन्दरता समेत बढाउने नगरपालिकाको दाबी छ । 

३० हेक्टर खेतीयोग्य जमिन बाँझो हुने चिन्ता 
आर्थिक वर्ष २००७६/०७७ देखि निर्माण सुरु भएको सिँचाई नहरको आयोजनाको काम सकिने बेलामा भत्काउन थालिएकाले किसानलाई समस्या हुने कृषि विकास कार्यालयका निमित्त प्रमुख मीनबहादुर केसीले बताउनुभयो । उहाँका अनुसार नहरको करिब ९५ प्रतिशत काम सकिएको थियो । अब वडा नम्बर २ रहेको करिब २५ देखि ३० हेक्टर खेतीयोग्य जमिन बाँझै हुने डर रहेको निमित्त प्रमुख केसीले जानकारी दिनुभयो । नहर बनाउन हालसम्म ६५ लाख रकम खर्च भएको छ । २०/३० वर्ष पहिले देखि सिँचाई कुलो बनाएर किसानले सिँचाई गर्ने गरे पनि पक्की नहर भने २०७६/०७७ सालबाट निर्माण गरेर सिँचाई गर्न थालिएको कृषि विकास कार्यालयले जनाएको छ । नहर बनाई नसक्दै भत्काउन थालेपछि किसानहरू चिन्तित छन् भने अर्को तिर राज्यको ६५ लाख रकम बालुवामा पानी भएको छ । 
 

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update