Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोटका करार शिक्षक आन्दोलित, लामो समय देखिकाे तलब दिन र तलब बढाउन माग 

रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा कार्यरत करार शिक्षक, कर्मचारीहरू आन्दोलित भएका छन् । लामो समय देखि तलब भत्ता पाउन बाँकी रहेकोले उक्त तलबको माग तथा नगर करार शिक्षक कर्मचारीहरूले प्राप्त गर्दै आएको तलब पोसाक भत्ता, महँगी तथा जीवनयापनका लागि अपर्याप्त भएकोले यथोचित वृद्धिको माग सहित नगरका करार शिक्षक, कर्मचारीहरू आन्दोलित भएका हुन् ।

उनीहरूले माग राख्दै बुधवार मुसिकोट नगरपालिका कार्यालयमा धर्ना दिएका छन् । नगरपालिकालाई ज्ञापन पत्र बुझाउँदै उनीहरूले नगरपालिका परिसरमा धर्ना दिएका हुन् । साथै सम्बोधनका लागि जिल्ला प्रशासन कार्यालयमा पनि ज्ञापन पत्र बुझाइएको मुसिकोट नगर करार शिक्षक समितिका अध्यक्ष खीमबहादुर ओलीले जानकारी दिनुभयो ।

आफूहरूले गत वर्षको फागुन १५ गतेदेखि असोजसम्मको पारिश्रमिक नपाएको उहाँले बताउनुभयो । हालसम्मको तलब भत्ता एक मुष्ठ उपलब्ध गराउन नगर करार शिक्षक समितिले माग गरेको छ । साथै करार कर्मचारीहरूले हाल प्राप्त गरिरहेको तलब भत्ता अहिलेका आवश्यकता अनुसार पर्याप्त नभएको भन्दै तलब भत्ता वृद्धिको माग पनि गरिएको अध्यक्ष ओलीले बताउनुभयो ।

आफ्ना माग पूरा नभए आज देखि चरणबद्ध आन्दोलनका कार्यक्रम गर्ने उहाँले बताउनुभयाे । आज मुसिकोट नगरपालिका कार्यालयमा घेराउ र धर्नाको कार्यक्रम रहेको उहाँको भनाई छ । भोलि १६ गते मुसिकोट नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्ने र यति गर्दा पनि माग पूरा नभए असोज १९ गते मुसिकोट नगरपालिकाका सम्पूर्ण सरकारी विद्यालयहरू र मुसिकोट नगरपालिकाको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गर्ने कार्यक्रम तय गरिएको उहाँले जानकारी गराउनुभयो । 

प्रकाशित मिति: बिहीबार, असोज १५, २०८३  ०८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update