रुकुम पश्चिममा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । शनिवार बिहान १०ः२५ बजेको समयमा मुसिकोट ११ को लहुँबाट सिम्रुतु खोला तरेर स्याउलीबजार जाने क्रममा बगाउँदा मुसिकोट ११ स्याउलीबजारकी ५८ बर्सिया बेगमाया दमाइको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी झबिन्द्र परियारका अनुसार खोला तर्ने क्रममा बगाएर २०–२५ मिटर तल लिएकोमा स्थानीय र प्रहरीको सहयोगमा अचेत अवस्थामा उद्धार गरिएको थियो । उपचारका लागि ल्याउने तयारी गरिएकामा मृत्यु भएको प्रहरी निरीक्षक परियारले बताउनुभयो ।
घटनाको खबर पाएपछि प्रहरी चौकी सोलावाङका प्रहरी हवलदार दान बहादुर शाहीको कमान्डमा २ जनाको टोली, प्रहरी चौकी सिम्रुतबाट प्रहरी नायव निरीक्षक कृष्णबहादुर शाहको कमान्डमा ४ जना टोली खटिएको थियो । थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट हेमन्त गिरीको कमान्डमा ९ जनाको टोली पनि खटिएको थियो ।
घटनाको थप अनुसन्धान चलिरहेको प्रहरी निरीक्षक परियारले जानकारी दिनुभयो ।





