Kakhara सबैको खबर सम्पूर्ण खबर
सानीभेरी नदीको कटानले कुनाखेत बस्ती जोखिममा, मन्त्री रोकाद्वारा स्थलगत अनुगमन

रुकुम पश्चिम । सानीभेरी नदीले कटान गरेको बाँफिकोट गाउँपालिका–२ कुनाखेत क्षेत्रको कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री मिलन खड्का रोकाले स्थलगत अनुगमन गर्नुभएको छ ।

गत असोज १० र ११ गतेको वर्षापछि सानीभेरी नदीले कुनाखेत क्षेत्रमा तीव्र कटान गर्दा नदी आसपासको जमिन जोखिममा परेको स्थानीयवासीले बताएका छन् । नदी कटानका कारण कुनाखेत गाउँ नै जोखिममा परेको भन्दै स्थानीयले तत्काल आवश्यक संरक्षणका काम अघि बढाउन माग गरेका छन् ।

स्थानीयवासीले नदी किनारमा तटबन्ध निर्माणका लागि बजेट व्यवस्थापन गर्नुपर्ने, बस्ती नै जोखिममा रहेकाले दीर्घकालीन रूपमा उचित विकल्प खोजिनुपर्ने लगायतका माग मन्त्री रोकासमक्ष राखेका छन् ।

स्थलगत अनुगमनका क्रममा मन्त्री रोकाले नदी कटानका कारण बस्ती नै जोखिममा पर्ने अवस्था देखिएको बताउनुभयो । जोखिम न्यूनीकरणका लागि तत्कालीन तथा दीर्घकालीन दुवै उपायबारे सोच्नुपर्ने उहाँको भनाइ छ ।

“बस्ती नै जोखिममा पर्ने अवस्था देखिएको छ । यसको उचित विकल्प खोज्न आवश्यक छ,” मन्त्री रोकाले भन्नुभयो ।

उहाँले जोखिममा रहेको बस्तीको अवस्थालाई मन्त्रालयले गम्भीर रूपमा लिने बताउँदै आवश्यक बजेट व्यवस्थापनका लागि ध्यान दिने प्रतिबद्धता जनाउनुभयो ।

नदी कटान रोक्न तटबन्धलगायतका संरचना निर्माणसँगै बस्तीको दीर्घकालीन सुरक्षाका लागि आवश्यक विकल्प पहिचान गर्नुपर्ने स्थानीयवासीको माग छ ।

प्रकाशित मिति: बिहीबार, असोज १५, २०८३  १०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update