Kakhara सबैको खबर सम्पूर्ण खबर
सानीभेरी नदीको कटानले कुनाखेत बस्ती जोखिममा, मन्त्री रोकाद्वारा स्थलगत अनुगमन

सानीभेरी नदीले कटान गरेको रुकुम पश्चिमकाे बाँफिकोट गाउँपालिका–२ कुनाखेत क्षेत्रको कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री मिलन खड्का रोकाले स्थलगत अनुगमन गर्नुभएको छ ।

गत असोज १० र ११ गतेको वर्षापछि सानीभेरी नदीले कुनाखेत क्षेत्रमा तीव्र कटान गर्दा नदी आसपासको जमिन जोखिममा परेको स्थानीयवासीले बताएका छन् । नदी कटानका कारण कुनाखेत गाउँ नै जोखिममा परेको भन्दै स्थानीयले तत्काल आवश्यक संरक्षणका काम अघि बढाउन माग गरेका छन् ।

स्थानीयवासीले नदी किनारमा तटबन्ध निर्माणका लागि बजेट व्यवस्थापन गर्नुपर्ने, बस्ती नै जोखिममा रहेकाले दीर्घकालीन रूपमा उचित विकल्प खोजिनुपर्ने लगायतका माग मन्त्री रोकासमक्ष राखेका छन् ।

स्थलगत अनुगमनका क्रममा मन्त्री रोकाले नदी कटानका कारण बस्ती नै जोखिममा पर्ने अवस्था देखिएको बताउनुभयो । जोखिम न्यूनीकरणका लागि तत्कालीन तथा दीर्घकालीन दुवै उपायबारे सोच्नुपर्ने उहाँको भनाइ छ ।

“बस्ती नै जोखिममा पर्ने अवस्था देखिएको छ । यसको उचित विकल्प खोज्न आवश्यक छ,” मन्त्री रोकाले भन्नुभयो ।

उहाँले जोखिममा रहेको बस्तीको अवस्थालाई मन्त्रालयले गम्भीर रूपमा लिने बताउँदै आवश्यक बजेट व्यवस्थापनका लागि ध्यान दिने प्रतिबद्धता जनाउनुभयो ।

नदी कटान रोक्न तटबन्धलगायतका संरचना निर्माणसँगै बस्तीको दीर्घकालीन सुरक्षाका लागि आवश्यक विकल्प पहिचान गर्नुपर्ने स्थानीयवासीको माग छ ।

प्रकाशित मिति: बिहीबार, असोज १५, २०८३  १०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update