कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत रुकुम पश्चिममा पनि विभिन्न खेलकुदका छनोटको तयारी थालिएको छ । जिल्लाबाट प्रदेश स्तरीय छनोटमा सहभागी हुने खेलाडी छनोटको तयारी थालिएको हो ।
जसअन्तर्गत भलिबलको छनोट असोज १६ गतेबाट सुरु हुने भएको छ । जिल्ला भलिबल सङ्घले पुरुष तथा महिला तर्फको छनोट असोज १६ र १७ गते देखि सानीभेरी ३ को बेलटापु खेल मैदानमा सञ्चालन गर्ने जनाएको छ ।
महिला र पुरुष दुवै तर्फको छनोट १६ गतेबाट सुरु गर्न लागिएको जिल्ला भलिबल सङ्घका सचिव प्रकाश विकले जानकारी दिनुभयो । उक्त छनोटमा जिल्लाका सबै पालिकालाई खेलाडी उपलब्ध गराउन अनुरोध समेत गरेको छ ।
साथै सङ्घले जिल्लास्थित सम्पूर्ण खेलाडीहरूलाई पनि छनोटमा सहभागी हुन आग्रह गरेको छ । जिल्लाबाट छनोट भएका खेलाडीले कर्णाली प्रदेश छनोटमा सहभागिता जनाउन पाउने छन् ।
प्रदेश छनोटबाट दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता खेल्ने कर्णालीको टिम घोषणा गरिने छ । जिल्लास्थित अन्य सङ्घहरूले पनि केही दिनमै जिल्ला छनोट सुरु हुने जनाएका छन् ।






