Kakhara सबैको खबर सम्पूर्ण खबर
महाधिवेशन प्रतिनिधि छनोटमा काँग्रेस बाँफिकोटको आपत्ति 

नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि छनोटमा बाँफिकोट गाउँपालिकालाई उपेक्षा गरिएको भन्दै नेपाली काँग्रेस बाँफिकोटले गम्भीर आपत्ति जनाएको छ । 

पार्टीका बाँफिकोट गाउँपालिका सभापति देवबहादुर कुसारीले केन्द्रीय महाधिवेशन अन्तर्गत जिल्लाबाट महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियामा बाँफिकोटलाई अन्याय गरिएको सामाजिक सञ्जाल फेसबुक मार्फत बताउनुभएको छ । 

लामो समय देखि पार्टी सङ्गठनमा योगदान गरेका नेता तथा विभिन्न आन्दोलन र पार्टीको काममा घाइते तथा सहिद परिवारका व्यक्तिलाई समेत अपमान गरिएको उहाँले बताउनुभयो । पार्टीले निर्देशन गरेका कलष्टरमा पनि अन्य व्यक्तिलाई सिफारिस गर्दै बाँफिकोटलाई अन्याय गरेको उहाँको आरोप छ । उ

उहाँले पार्टी भित्र आफन्तवाद हाबी भएको भन्दै यसप्रति गम्भीर चिन्ता समेत व्यक्त गर्नुभएको छ । नेपाली काँग्रेसको १५ औँ महाधिवेशन असोज १६ देखि १८ गतेसम्म काठमाडौँमा हुँदै छ । 

उक्त महाधिवेशनका लागि रुकुम पश्चिमबाट ३३ जना महाधिवेशन प्रतिनिधिहरू सर्वसम्मत चयन गरिएको छ । बाँफिकोट गाउँपालिकाबाट २ जना परेका छन् । आदिवासी जनजाति कलस्टरबाट जनककुमार बाँठामगर र खस आर्य कलस्टरबाट हर्कसिंह खत्री महाधिवेशन प्रतिनिधि चुनिनुभएको छ । 

जसमा खत्रीले सामाजिक सञ्जाल मार्फत महाधिवेशन प्रतिनिधि पद त्याग गरेको घोषणा गरिसक्नुभएको छ । 

प्रकाशित मिति: बुधबार, असोज १४, २०८३  १७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update