Kakhara सबैको खबर सम्पूर्ण खबर
छेराबगर मोटरेबल पुल: ६५ प्रतिशत काम सम्पन्न

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ३ र १३ लाई जोड्ने छेराबगरस्थित मुग्लुखोलामा मोटरेबल पुल निर्माणको काम तीव्र गतिमा अघि बढिरहेको छ । करिब ५ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको पुलको हालसम्म ६५ प्रतिशत काम सम्पन्न भएको छ ।

सपना सिस्ने खड्का जेभीले निर्माणको जिम्मा लिएको उक्त मोटरेबल पुल चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कार्य अघि बढाइएको छ ।

पुल निर्माण सम्पन्न भएपछि मध्य पहाडी लोक मार्ग र राप्ती राजमार्गलाई जोड्ने वैकल्पिक सडक मार्गका रूपमा यसले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । विशेष गरी वर्षायाममा मुग्लुखोलामा पानीको बहाव बढ्दा सवारीसाधन तथा स्थानीयवासीलाई आवतजावतमा हुने कठिनाइ पुल सञ्चालनमा आएपछि कम हुने विश्वास गरिएको छ ।

मोटरेबल पुल सञ्चालनमा आएपछि सवारीसाधनको आवागमन सहज हुनुका साथै स्थानीयवासीलाई दैनिक आवतजावतमा समेत सुविधा पुग्नेछ । यसले स्थानीय व्यापार, व्यवसाय तथा आर्थिक गतिविधि विस्तारमा समेत सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

पुल निर्माण सम्पन्न भएसँगै यस क्षेत्रको सडक सञ्जाल थप व्यवस्थित हुनुका साथै मध्य पहाडी र राप्ती राजमार्गबिचको वैकल्पिक सडक सम्पर्क थप सहज र प्रभावकारी बन्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज १३, २०८३  १७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update