Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोट ४ मा पहिराेले विद्युत आयाेजनामा क्षति, ६ सय घरधुरी विद्युत् सेवाबाट वञ्चित, सडक अवरुद्ध

लगातार परेको मुसलधारे वर्षाका कारण रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ४ सोलाबाङमा ठुलो पहिरो गएको छ । पहिरोले माछिमी सिँचाइ योजना र साँख खोला तेस्रो साना जलविद्युत आयोजनाको नहरमा गम्भीर क्षति पुर्‍याएको छ । जसका कारण क्षेत्रका करिब ६ सय घरधुरी विद्युत् सेवाबाट वञ्चित भएका छन् । आम सर्वसाधारण प्रभावित बनेका छन् भने साना व्यवसाय तथा उद्योगहरू ठप्प बन्न पुगेका छन् ।

साथै, पहिरोले सोलाबाङ–झुल्खेत सडक अवरुद्ध बनाएकाले यातायात आवतजावतमा समेत गम्भीर कठिनाइ सिर्जना भएको छ। यसै मार्गबाट नियमित रूपमा बाल कल्याण मा.बि. सोलाबाङ र सिस्ने बोर्डिङ स्कुलमा पढ्न आउने विद्यार्थीहरूलाई पनि विद्यालय पुग्न कठिन भएको छ।

स्थानीय जग्गाधनी युवराज खड्काका अनुसार पहिरोले पाक्न लागेको धानबाली, बोटबिरुवा र डाले घाँस समेत नष्ट भएको छ।

जलविद्युत आयोजनाका व्यवस्थापक दिनेश गिरीले भीषण वर्षा र कमजोर भूगोलका कारण पहिरो गएको बताउनुभयो । विद्युत् आपूर्ति र सडक यातायात यथाशीघ्र सुचारु गर्न सरोकारवाला निकायको तत्काल ध्यान जान आवश्यक रहेको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति: शनिबार, असोज १०, २०८३  ०९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update