Kakhara सबैको खबर सम्पूर्ण खबर
आठबिसकोटमा प्रहरीले बलपूर्वक एक व्यक्तिलाई नियन्त्रणमा लिएको घटना के हो ?
जनक सार्कीलाई नियन्त्रणमा लिदै गर्दाकाे भिडिओकाे स्क्रिन सट ।

अहिले सामाजिक सञ्जालमा एउटा भिडिओ तीव्र रूपमा फैलिरहेको छ । प्रहरी र केही व्यक्ति युवकलाई घोक्राएर लिन खोजिरहेका छन् । त्यतिकैमा ती युवक भुईँमा लड्छन् र त्यसपछि उनलाई प्रहरी र केही व्यक्तिले लतार्न सुरु गर्छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिन खोजेको जस्तो देखिन्छ । तर जान मानिरहेका छैनन् । प्रतिकारको क्रममा उनले अन्धाधुन्ध हात र खुट्टा चलाइरहेको देखिन्छ । र प्रहरीलाई लागेको पनि देखिन्छ । प्रहरीले पनि उनलाई लात्तीले हानिरहेको भिडिओमा देख्न सकिन्छ । यतिकैमा वरिपरि मानिसको ठुलो भिड लागिसकेको छ । यो दृश्य हो आठबसिकोट नगरपालिका वडा नम्बर ९ को राडी बजारको । 

भएको के थियो 
बुधवार बिहान १० बजेतिर आठबिसकोट नगरपालिका वडा नम्बर १४ का २२ वर्षीय जनक सार्की चेक बनाउन भन्दै राडीमा रहेको प्रभु बैङ्कमा छिर्छन् । चेकका लागि केही समय लाग्ने भन्दै बैङ्कका कर्मचारीले जानकारी गराउँछन् र केही समयपछि आउन भन्छन् । त्यसपछि जनक दिउँसोको १, २ बजेतिर बैङ्कमा प्रवेश गर्छन्, जति बेला उनी अत्यधिक मदिरा सेवन गरेर राम्ररी हिँड्न नसक्ने अवस्थामा हुन्छन् । त्यस क्रममा उनको बैङ्कका सुरक्षा गार्डसँग विवाद हुन्छ । अत्यधिक मदिरा सेवन गरेको र होहल्ला गर्दै बैङ्कमा प्रवेश गरेपछि सुरक्षा गार्डले रोक्न खोजेपछि विवाद सुरु भएको बताइएको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज पोख्रेलले असहज अवस्था बनेपछि बैङ्कले इलाका प्रहरी कार्यालय राडीमा खबर गरेको र त्यसपछि प्रहरी परिचालन गरिएको बताउनुभयो । बिक अत्यधिक मदिरा सेवन गरी होसमा नरहेको र उनलाई नियन्त्रणमा लिन प्रहरीलाई हम्मे हम्मे परेको डिएसपी पोख्रेलले बताउनुभयो । ‘अवस्था यति धेरै तनावग्रस्त बन्यो कि एक जना मदिराले मात्तिएर अन कन्ट्रोल बनेका व्यक्तिलाई नियन्त्रणमा लिन हम्मे हम्मे भयो, उनी यतिसम्म धुत थिए कि हाम्रै प्रहरी माथि नै हातपातमा उत्रिए, केहीको बर्दी नै च्यातिएको छ, केहीलाई सामान्य चाट नै लागेको छ, उहाँले भन्नुभयो ।’ 

अहिले विक इलाका प्रहरी कार्यालय राडीको नियन्त्रणमा छन् । घटनाका बारेमा छलफलका लागि आज बैङ्कका प्रमुख र सुरक्षा गार्डलाई बोलाइएको इलाका प्रहरी कार्यालय राडीका सई दीपक केसीले बताउनुभयो । 

सामाजिक सञ्जालमा यति बेला प्रहरीले नागरिक माथि दमन गरेको भन्दै प्रहरीको आलोचना भइरहेको छ । कतिले केही समय अघि उक्त बैङ्कका कर्मचारी नीरजविक्रम शाहले ठुलो रकम अपचलन गरेको विषयलाई समेत यो घटनासँग जोडेर बैङ्कको रेपुटेसनमा प्रश्न उठाइरहेका छन् । तर प्रहरीले भने विक माथि कुनै खालको दमन नगरेको जनाएको छ । इलाका प्रहरी कार्यालयका सई केसीले मदिराले मातेर थाहा पाउने अवस्थामा नरहेका विकलाई नियन्त्रणमा लिन अप्ठेरो भएको तर कुनै पनि खालको दमन वा कुटपिट नगरेको बताउनुभयो । जिल्ला प्रहरी प्रमुख पोख्रेलले पनि प्रहरी नागरिक र सार्वजनिक संरचनाको सुरक्षार्थ खटिएको भन्दै कुनै व्यक्तिलाई हानी पुर्‍याउने काम नभएको बताउनुभयो । नियन्त्रणमा लिने क्रममा उत्पन्न असहज परिस्थितिलाई टीकाटिप्पणी गर्नुको कुनै अर्थ नभएको उहाँको भनाई छ । 

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update