Kakhara सबैको खबर सम्पूर्ण खबर
विद्यार्थी कुटने नर्सलाई तत्काल कारवाही गर्न अखिल क्रान्तिकारीको माग
अखिल क्रान्तिकारीले बुझाएको ध्यानाकर्षण पत्र हेर्दै नगर प्रमुख महेन्द्र केसी ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ छिङमा रहेको त्रिपुरा माध्यमिक विद्यालयमा कार्यरत विद्यार्थी कुट्ने विद्यालय नर्स शर्मिला खड्कालाई कारबाही गर्न ध्यानाकर्षण बनाएको छ । बिहीबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) मुसिकोटले विभिन्न तथ्य सहितको ध्यानाकर्षण पत्र मुसिकोट नगरपालिकालाई बुझाएको हो । बुधवार विद्यालयमै पुगी स्थलगत अध्ययन गर्दा विद्यार्थी कुटिएको तथ्य फेला परेपछि आज तथ्य सहित विद्यालयलाई कारबाही गर्न मुसिकोट नगर प्रमुख महेन्द्र केसीलाई ध्यानाकर्षण पत्र बुझाएको अखिल क्रान्तिकारीका मुसिकोट नगरपालिका इन्चार्ज दुर्गाप्रसाद विकले जानकारी दिनुभयो ।

उहाँका अनुसार सामाजिक सञ्जालमा नर्सले विद्यार्थीलाई कुटपिट गरेको खबर आएपछि बुधवार स्थलगत अध्ययन गर्दा प्रधानाध्यापकले गैर जिम्मेवार ढङ्गले नर्सलाई असम्बन्धित कामको जिम्मेवारी दिनु, जुत्ता र टाई नलगाएका कक्षा ३ देखि १० सम्मका विद्यार्थीहरूलाई छुट्टै लाइन लगाउनु, विद्यार्थीहरूलाई ड्रेस नलगाउनुको कारण नै नसोधी लट्ठी प्रहार गर्नु, घटना घटेको १ हप्ता पुगिसक्दा पनि विद्यार्थीहरूमा त्रास कायमै रहनु जस्ता तथ्य सहित ध्यानाकर्षण पत्र बुझाएको छ । यी तथ्य अध्ययन गर्दा अमानवीय ढङ्गले कारण नै नसोधी नर्स शर्मिला खड्काले विद्यार्थीहरूलाई कुटपिट गरेको देखिन्छ ध्यानाकर्षण  पत्रमा भनिएको छ ।

आधारभूत तहका विद्यार्थीहरूलाई कुट्नुको सट्टा अभिभावकलाई खबर गर्न पनि सकिन्थ्यो होला हामीहरूले विद्यार्थीहरूलाई ड्रेस नलगाउनुको कारण सोध्दा कत्तिको कारणवश, कोहीको खुट्टामा घाउ भएर, केहीले आर्थिक विपन्नताको कारणले नलगाएको देखियो । केही विद्यार्थी स्कुलले दिएको दबाब घरको आर्थिक अभाव सम्झेर हाम्रै अगाडि रोएको पनि देखियो अखिल क्रान्तिकारीका मुसिकोट इन्चार्ज विक र मुसिकोट नगर अध्यक्ष सुशान्त विश्वकर्माले बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

ती खुट्टामा भएको घाउमा नर्सले मलम लगाउनुको सट्टा लट्ठी लगाउन सरकारले खटाएको हो ? त्यो त पक्कै हैन होला नि भन्दै प्रश्न गरिएको छ । १ हप्ता बित्दा सम्म पनि ती नर्सलाई कुनै कारबाही नगरेको र बालबालिका त्रसित समेत भएका छन् । ती त्रसित बालबालिकाले कसरी आफ्नो स्वास्थ्य समस्या ती विद्यार्थी कुट्ने नर्सलाई भन्न सक्छन् ? ध्यानाकर्षण पत्रमा भनिएको छ ।

नर्सले २०७२ भाग ३ को धारा ३९ को उपधारा ७ को विरुद्ध कार्य गरेकोले कानुन अनुसार तत्काल कारबाही गर्न मुसिकोट नगरपालिकालाई ध्यानाकर्षण गरिएको छ । केही दिन अघि सामाजिक सञ्जालमा विद्यालय नर्सले विद्यार्थीलाई पोसाक नलगाएको निहुँमा विद्यार्थीलाई निलडाम हुने गरी कुटेको भन्ने समाचारहरू बाहिर आएका थिए । 

8a15f0a6-2c92-488c-a3ab-177b17e40dda-1718891681.jpeg
 

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  १९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update