Kakhara सबैको खबर सम्पूर्ण खबर
सामाजिक सुरक्षा कार्यक्रम लागु गर्ने रुकुम पश्चिमका पालिकाको प्रतिबद्धता 

रुकुम पश्चिमका स्थानीय तहहरूले सामाजिक सुरक्षा कार्यक्रम लागु गर्ने प्रतिबद्धता जनाएका छन् । आज जिल्ला समन्वय समितिको आयोजना र अखिल नेपाल ट्रेड युनियन महासंघ रुकुम पश्चिमको सह आयोजनामा जिल्ला सदरमुकाम मुसिकोटमा आयोजित रुकुम जिल्लामा रहेका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्ने सम्बन्धी स्थानीय तहसँगको अन्तरक्रिया कार्यक्रममा स्थानीय तहले यो कार्यक्रम लागु गर्ने प्रतिबद्धता जनाएका हुन् ।

आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसीले आफ्नो पालिकामा सामाजिक सुरक्षा कार्यक्रम सुरुवात गर्ने विषयमा सकारात्मक रहेको बताउनुभयो । कोष निर्माण गरेर अघि बढेको खण्डमा हजारौँ श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न सकिने उहाँको भनाई छ । सानीभेरी गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टले बर्सौँ काम गरेर रित्तो हात घर फर्किने अवस्थालाई अन्त्य गर्न यो कार्यक्रम प्रभावकारी हुने बताउनुभयो ।

सङ्गठित क्षेत्रमा कार्यरत श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा जोड्न सानीभेरी गाउँपालिका सकारात्मक रहेको तर यो कार्यक्रमका बारेमा थप छलफल आवश्यक रहेको बताउनुभयो । साथै उहाँले दुर्गममा यो कार्यक्रम अहिलेसम्म पनि लागु हुन नसक्नु लज्जाको विषय भएको बताउनुभयो ।

त्रिवेणी गाउँपालिका अध्यक्ष गणेशकुमार केसीले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि नीति कार्यक्रम र बजेट ल्याइसकेकोले यो कार्यक्रमलाई समेट्न नसकिने भए पनि यो कार्यक्रमलाई समेट्न गाउँपालिका इच्छुक रहेको बताउनुभयो । यो कार्यक्रम बारे सुन्दा आफूलाई धेरै नै खुसी लागेको र पालिकामा यो कार्यक्रम सुरु गरी छाड्ने पनि उहाँले बताउनुभयो ।

बाँफिकोट गाउँपालिका अध्यक्ष जनकुमार बाँठाले पालिका स्तरमा थप छलफल गरेर यो कार्यक्रम सञ्चालन गर्न सकिने बताउनुभयो । यो कार्यक्रम बारे थप स्पष्टता आवश्यक रहेको भन्दै उहाँले पालिकालाई यस सम्बन्धी प्राविधिक सहयोगको आवश्यकता रहेको बताउनुभयो ।

Samajik-Surakshya-1719058962.jpg
कार्यक्रममा उपस्थित कर्णाली प्रदेश सभा सदस्य कल्याणी खड्काले कोष बन्नु मात्र ठुलो कुरा नभएको भन्दै कार्यान्वयन महत्त्वपूर्ण रहेको बताउनुभयो । अहिले कोष सञ्चालन गर्ने र पछि निरन्तरता दिन नसक्ने हो भने अहिले नै यसमा ध्यान दिन उहाँको सुझाव थियो । कार्यक्रममा सहभागी सरोकारवालाहरूले टाठा बाठा श्रमिकले मात्र अहिलेसम्म यो कोषबाट लाभ लिइरहेको भन्दै दुर्गमका श्रमिक यो कार्यक्रमबाट वञ्चित हुनु दुर्भाग्य रहेकोले यो कार्यक्रमलाई तल तलसम्म लैजान सुझाव दिएका थिए ।

जिल्ला समन्वय समितिका प्रमुख लुम्बिनी गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सदस्य खड्काको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सामाजिक सुरक्षा कोषको महत्त्व, यसबाट श्रमिकले लिने लाभ, सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने तरिका, कस्ता श्रमिक सूचीकृत हुन पाउँछन् भन्ने लगायतका बारेमा सामाजिक सुरक्षा कोषका कार्यकारी उप निर्देशक श्रीकृष्ण अधिकारीले जानकारी गराउनुभएको थियो ।

कार्यक्रमको सञ्चालन अखिल नेपाल ट्रेड युनियन महासङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष धनबहादुर विकले गर्नुभएको थियो ।

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  १८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update