Kakhara सबैको खबर सम्पूर्ण खबर
देउराली माविमा कम्प्युटर ल्याब स्थापना, पुथा माविका विद्यार्थीलाई छात्रवृत्ति

पोखरास्थित कर्मफ्लाइट्स फाउन्डेसन, एडु टेक नेपाल र वार्मनेष्ट फाउन्डेसन नेदरल्यान्ड र पुथाउत्तरगंगा गाउँपालिकाको साझेदारीमा देउराली मावि हुकाम रुकुम पूर्वमा १४ लाख बराबरको कम्प्युटर ल्याब हस्तान्तरण गरिएको छ । सुविधा सम्पन्न विद्यालयका बालबालिकाहरूले जस्तै आफ्नै गाउँ ठाउँमा बसेर, यहीँको माटोमा हुर्केर पनि कम्प्युटर सम्बन्धी ज्ञान हासिल गरुन् भन्ने उद्देश्यले ल्याब हस्तान्तरण गरिएको हो । 

कर्मफ्लाइट्स फाउन्डेसनसँग मिलेर छनोटमा परेका दुर्गमका स्कुलहरूमा कम्प्युटर ल्याब हस्तान्तरण गर्न पाउँदा खुसी लागेको एडु टेक नेपाल एन्ड वार्मनेष्ट फाउन्डेसन नेदरल्यान्डका प्रमुख रमेश पौडेलले बताउनुभयो । यी कम्प्युटरको सहाराले बालबालिकालाई अझ जागरूक, लगनशील र मर्यादित बन्न उत्प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो । कम्प्युटरको प्रयोगमा जोड दिँदै उहाँले कम्प्युटरमा माकुराले जालो नलागाेस भनेर सचेत गराउनुभएको थियो । 

विगत आठ वर्ष देखि रुकुम पूर्व पुथाउत्तरगंगाका विभिन्न विद्यालयहरूमा शैक्षिक सामग्री प्रदान गरेर काम गर्दै आएको कर्मफ्लाइट्स फाउन्डेसनका कार्यक्रम निर्देशक प्रेमबहादुर कुँवरले आफू पनि विकटमा क्षेत्रमा पढेको र धुलो माटोमा हुर्केको हुँदा आफू जस्तै नानीबाबुहरूले दुःख नपाउन् र सहरका विद्यालय गई पढ्ने बाध्यतामा नपरून् भनेर कर्मफ्लाइट्सले विकट जिल्लाका विभिन्न विद्यालयमा काम गर्दै आएको बताउनुभयो । 

त्यस्तै पुथा मावि मैकोटमा अध्ययनरत १५ जना गरिब तथा जेहनदार विद्यार्थीलाई नियमित वार्षिक कार्यक्रम अन्तर्गत छात्रवृत्ति प्रदान गरिएको छ। वर्षभरिमा चाहिने शैक्षिक सामग्री विद्यार्थीलाई हस्तान्तरण गरिने यस कार्यक्रममा विगतमा ३२ जना विद्यार्थीलाई यो छात्रवृत्ति प्रदान गरिँदै आइएकोमा बाँकी विद्यार्थीले १२ कक्षा उत्तीर्ण गरेकोले छात्रवृत्ति पाउने विद्यार्थीको सङ्ख्या घटेको बताइएको छ । 

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १३:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update