
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ खलङ्गाको पातुखोलामा एक महिला झुन्डिएको अवस्थामा मृत फेला परेकी छिन् । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार मुसिकोट नगरपालिका वडा नम्बर ९ चौखावाङ घर भई हाल पातुखोलामा कोठा भाडामा लिएर बस्दै आएकी ३३ बर्सिया हितकुमारी रोका ओलीले झुन्डिएर आत्महत्या गरेकी हुन् ।
गयराती श्रीमानसँग एउटै कोठामा सुतेकी उनी आफू सुत्ने कोठाको पङ्खाको सिलिङमा सलको पासो लगाई झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नवराज पोख्रेलले जानकारी दिनुभयो । हितकुमारीले आत्महत्या गरेको भन्ने जानकारी आइतबार बिहान प्रहरी चौकी पातुखोलामा जानकारी आएपछि घटनास्थलमा प्रहरी टोली परिचालन भएको थियो ।
घटनाको प्रकृति हेर्दा आत्महत्या गरेको देखिएको र घटनाको थप अनुसन्धान चलिरहेको डिएसपी पोख्रेलले बताउनुभयो । उनका श्रीमान अपांग रहेकाे तथा एक छाेरा र एक छाेरी रहेकाे जानकारी प्राप्त भएकाे प्रहरीले जनाएकाे छ ।